कविता -' आक्रोश नारीहरूको '

कविता -' आक्रोश नारीहरूको '

अचानक मेरो मानसपटमा
फ्लासब्याक हुन्छ दृश्यहरूको
आँखाअघाड़ि अचानक दृश्यहरू
लामेताँत लाग्दै जाँदा
क्रन्दन, चीत्कार, ‘बचाऊ-बचाऊ’-को ध्वनिले
म आत्तिन्छु, बिउँझन्छु घोर निन्द्राबाट
भीड़ जम्मा हुँदैजान्छ बिस्तारै
नारीहरू... ठेलाठेल, तैँ छाड़ र मै छाड़
चिच्याउँदै, ठेल्दै, घचेट्दै प्रथम आउनलाई मकहाँ।

म आत्तिएँ, झसङ्ग भएँ निन्द्राबाट
आफ्नो प्रण बिर्सिएकोमा
उनीहरू भन्दैथिए
‘मेरो पहिला, होइन मेरो पहिला मेरो मेरो
लेखिदिनुपर्छ वेदनाहरू लेखिदिनुपर्छ
अन्याय, अत्याचार, हत्या र जिउँदै जलाइएका कथाहरू’,
चिच्याउँछु म ‘शान्त होऊ’ भन्दै
र भन्छु, ‘एक-एकजना गर्दै
पालैपिच्छे वृतान्तमा भन,
लेखिदिन्छु तिमीहरू प्रत्येकका
आत्माहरूले शान्त नपाएका कारणहरू
सानी छोरी नभनी तिमी बलात्कृत भएका
आफ्नै मामा, काका र फूपाहरूबाट
नोकरीको बहानामा विदेश लैजाने
र कोठामा बेचिदिएका कथाहरू
राम्रो ज्वाइँ खोजी बिहे गरिदिने बहानामा
चालै नपाई बेचिएका तिम्रा कथाहरू
दहेजका भोकाहरूले तिमीहरूलाई जिउँदै जलाएका
शारीरिक र मानसिक यातनाहरू असङ्ख्यै
तिमीलाई सती बनाउने र बनाइएका कथाहरू
छोरा जन्माउन नसकेपछि सौता भित्र्याइएको
त्यसपछिको यातना,
अपमान भनौं के-के हो के-के
जम्मै-जम्मै सुनाइदिन्छु
लेखिदिन्छु
र सामाजिक बनाइदिन्छु।’

क्रन्दन गर्छन् उनीहरू भक्कानिँदै
एसिड छरिएपछि
विकृत भएका मुहारबाट
साउनको भेलझैँ बगेका आँसुहरू
बोली नफुटेका बालिकाहरू
मन दुखाउँदै रुँदै
अहो! कस्ता भयानक परिस्थिति र दृश्यहरू!
परबाट आरूषि, निरजा, आसिफा, निर्भया
न्यायको निम्ति बिन्ती गर्दैछन्
दिल्ली, मुम्बईमा मारिएका हाम्रा चेलीहरू
बलात्कारपछि नग्न अवस्थामा फ्याँकिएका छोरीहरू
‘न्याय न्याय’ भन्दै ‘ती अपराधीहरूलाई
फाँसीको सजाय देऊ,
समाजमा उदाङ्गो पारिदेऊ
तिनीहरूका पाप कर्महरू’ भन्दै
‘हामीले न्याय पाउनुपर्छ’ भन्ने मागमा
म आत्तिन्छु, उथुलपुथुल हुन्छु
कहाँबाट शुरू गर्ने, कसो गर्ने क्रममा
के म सक्षम हुँला यति धेरैलाई न्याय दिलाउन?
बन्द हुनुपर्छ... हो, अब यी सबै बन्द हुनुपर्छ
पुरुषवर्गमा सचेतना र सद्बुद्धि आउनैपर्छ
परिवर्तन आउनैपर्छ पुरुषका मनमा
आँखामा, भावनामा
सोचाइमा र कर्महरूमा।

देविका मंग्राती राई
खरसाङ्۔भारत

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com