कविता - रेलको झ्यालबाट

 
कविता - ' रेलको झ्यालबाट '

आँखा अझै उत्साहित र सन्दीप्त हूँदै थिए
सेताम्मे हिमालको फेदमा हरिया पहाड र
पहाडका फेदमा लटरम्मै फुलेका
पहेँला अन्नका बाला र तोरीकाफूलहरु
सौन्दर्य' र सम्पदाले भरिएका तराइका फाँटहरु
साना-साना घरहरु भएका ति सुन्दर बस्तीहरु
वसन्तको शितलहवाको तिव्र झोंकाले
अनुहारको डिलमा शान्त बसिरहेका
रेशमी सुनौला केशहरु
पटक-पटकको सैतानी स्पर्शले उडाउँदा पनि
मनमोहक दृश्यको आकर्षणलाई
बिथोल्न सकिरहेको थिएनन्

दरबारमा,
राजाका शाही रात्रीभोजमा वा
सिंहदरबारका भव्यभवनमा,
प्रधानमन्त्रीका तानाशाही गूढार्थ निगरानी र खोजीमा
क्याप्टेन र कमान्डरका कर्कश आवाजहरु
अप्रत्यक्ष अदृश्य आहृवान गरिदैथिए
बल्झाइएका क्रान्तिको रातो झन्डा
फहराउने लाखौं हातहरुलाई

गेस्टहाऊसका निजी कक्षमा
मेरा मथिंगल हरदम व्यस्त रहन्थे
पटक-पटक दोहोरी रहने एकै दृश्यमा
जहाँ,
लहराउंदै थिए
स्वतन्त्रताका राष्ट्रीय ध्वजा
सूर्यको पहिलो लाली संगै
मुस्कुराउंदै गरेका उहिले देखि चाहेर पनि नसकेका
सम्राटका प्रफुल्लित मुस्कानहरु
आस्था र विश्वासले कसिंदैथिए
सदभावका सांझमा बगान घुम्दै,
थकान मार्दै र
नृत्यको नागबेली पाइलामा
कसेर समाएका न्यानो
स्पर्शी दुइ हातहरु

महराजको कोटमा
सिउरिएको रातो गुलाबको गाढा रंगझैं
मेरा यत्नशील पाइलाहरु निरन्तर
अगाडि बढिरहेका थिए
तोपको सांकेतिक आवाजले
कर्फ्यू र सन्नाटामा डुबेका शहरका गल्लीहरु
कमान्डर चिफका मार्चपास गर्ने पदचापहरु
द्वारमा भएका द्वारपालहरु वा
अंधकारमा भएका अंगरक्षकहरुका नजरलाई
छिचोल्दै कहिले घोर्किको संरक्षणमा
त कहिले आफ्नै समय-तालिकाको परिवर्तनमा
कुटनितीका बहुरुपहरुलाई पन्छ्याउंदै थिए र
शत्रुलाई पत्र संचारको संदेशलाई
निःसन्देह गराउने सांकेतिक शब्दहरुको
योजना बनाउँदै थिए

आज पनि,
शिमलाका चिसौनी हिउँद होस् वा
बेलायतका बेमौसमी बर्खाझरी
देह रुझेको हुन्छ तर ,
आँखाका तरेली रसाईरहेका हुन्छन्
देखेरै फहराईरहेका स्वतन्त्रताका ध्वजा
जस्मा मुसकाईरहेका छन्
प्रिय बादशाहका मुस्कानहरु।।।।।

डा नाज सिंह
दिल्ली, भारत

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com