कविता - नारी भएकै कारण



रीता प्रधान रूमाठ’
अमेरिका

सृष्टिको अर्को रूप
धर्ती हो
नारी प्रधान नारीलाई
यहां किन ठान्छ बोझ र भारी
प्रत्येक युगमा नारीले
भोग्दै आएको छ
अग्नीपरीक्षा, वनवास, चीरहरण
यौनदासी
र भू्रणहत्याको एउटा लामो श्रृङ्खला ।
किन लिइन्छ सीताकै सँधै अग्नीपरीक्षा
किन हुन्छ द्रौपदीको मात्र चीरहरण
किन चलाइन्छ नारीकै मात्र सतीप्रथा ।
प्रत्येक युगमा
प्रत्येक युद्धमा
नारीकै मात्र किन हुन्छ यौन शोषण
तेजाबको छप्काइ नारीकै अनुहारमा किन
किन हुन्छ नारीकै मात्र भ्रुण हत्या
किन दाँजिन्छ दाइजोसँग नारीको अस्तित्व
किन ठानिन्छ नारीलाई
भोग्या अबला र दासी
किन ? किन ? किन ?
कसले दिने हो यसको उत्तर
खोजिरहेको छ प्रत्येक युगले ।
म भन्छु
यसको उत्तर स्वयम नारी हो
दिनुपर्छ नारीले नै यसको उत्तर ।
सीता भएर
तर
अग्नीपरीक्षा दिएर होइन
द्रोपदी भएर
तर
चीरहरणलाई चुपचाप सहेर होइन ।

भत्काएर विभेदको पर्खाल
जगाएर आत्मविश्वास
उत्तर बन्नुपर्छ दुर्गा भएर
उत्तर बन्नुपर्छ चण्डी भएर
जसले खोलोस् युगको नयाँ ढोका
हातले छोइने खुल्ला आकास
लक्ष सम्म पुग्ने बाधाहीन नारी ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com