कविता- ईश्वरको अदालत

कविता- ईश्वरको अदालत

हे ईश्वर!
तिम्रो अदालतमा अव नारीहरुले न्याय पाऊन्
मान्छेको अदालत त सौदागरहरुले
इमानको बाजारमा बेची सकेका रहेछन्
र अदालतमा भएका कानून पनि
बेइमानहरुसंगै बसाइँ सरिसकेछन्
अब छैनन् यहां सत्यलाई बुझ्ने मन
र निर्दोषलाई सुन्ने कानहरु
छ त केवल अदालतको अगाडी आंखामा आडम्बरको पट्टी बांधिएकी
र हातमा न्यायको कालो तराजु समाएर
चुपचाप ठिंग उभिएकि गांधारी
जसले चुंई सम्म गर्दिन सुनेर बलातकारित बालिकाहरुका
प्रतिरोधी चीत्कारहरु
मलाई त सन्देह छ,
कहिं गन्धारीको आवाजलाई पनि कसैले खरीदबिक्री गरिसकेका त छैनन्
वा पुरुषार्थी समाजका विभेदले बांधिएका छन् नि:शब्द ओंठहरु
आंखामा बांधिएको पट्टीझैं
हे प्रभु,
हत्यालाई आत्महत्याको नाम दिएर बलात्कारीहरुलाई समाजमा इज्जत र छुट दिने मान्छेको अदालतमा
न्याय नपाएर म तिम्रो अदालत मा आएकी हुं
निर्मलादेखि सम्झनासम्मका चित्कारहरु समेटिएका फाइल पेस गर्दै
ईश्वरको न्यायालयको खठघाराबाट ईश्वरसित न्यायको फैसला पर्खिरहेछु
र मागिरहेछु जीवन्त न्यायको
एउटा नयां र सग्लो रुप !

हे ईश्वर महोदय,
अब, तिम्रो अदालतमा नारीको छुट्टै इजलास होस्
नारीकानुनको पृथक् व्यवस्थापन गरियोस्,
नारीले आफ्नो अपराधीलाई आफैले सजायको फरमान जारी गर्न पाउने शालीन प्रावधान होस्,
जहां,
नैतिकताको डन्डा देखाउँदै
'अर्डर अर्डर' गर्ने कोही न्यायाधीश नहोस्
गीतामा हात राख्न लगाएर झुटा कसम खुवाउने
कोही वकिल नहोस्
र पैसाको आडमा खरीदबिक्री भएर
सृजना गरिएका झुटा प्रमाणहरु
कठघरामा उभिएर कथिएका कुनै काल्पनिक कथा सुनाउने गवाही नहोस्
न त समाजका लाटा र बहिराहरुको उपस्थिति नै होस्,
न भन्ने कोही होस्, न त सुन्ने नै कोही
होस् त केवल सिकार
र सिकारीको उपस्थिति!

हे विधाता,
अब ब्रह्मालाई पनि स्विकार्य होस्
कुकर्मगर्ने उनका सबै दोषी संतानहरुकालागी
मृत्यु दण्ड अपरिहार्य होस्
ईश्वरको अदालतमा पिडित नारीहरुले
आफ्नो अदालत आफै बनाउन पाऊन
शिकारीको सजाय सिकार आफैंले
निर्धारित गर्न पाऊन
बलात्कारी लाई बन्दुकले हैन
मसिनगंजले सोझै ठोक्न पाऊन
एक चोटी वा दुई चोटी मात्र हैन,
पटक पटक तब सम्म ठोकिरहुन जब सम्म
उस्को सरीरमा सांस चलेको होस्,
जब सम्मन ऊ चिच्चयाहटमा छटपटाई रहेको होस्,
ठिक त्यसरी नै जसरी उसले बलत्कार गर्दा पिडाको चिच्याहटमा छटपटिएका थिए अबोध वालीका
र नारीका नारीत्वहरु
मात्र एउटालाई वा दुईटालाई हैन
जब पांच दशवटालाई नै यसरी नै ठोकिन्छ नी
तब समाजमा संडेका दुर्गन्ध कुपोषण,
अपांग सोंचहरुको अन्त्य हुनेछन्
र धुनेछन बलात्कारी कै रगतले बलत्कारका
कुरुप धब्बाहरुलाई
र समाजबाट बलत्कारीहरुको पतन हुनेछन्
अनी त्यस पछि मात्र देशका छोरीहरु...
निरभिक्क भई बांच्न सक्नेछन,
निरभिक्क भई हांस्न सक्ने छन।।।

नाज सिंह
सिराहा, नेपाल
मस्को, रसिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com