कविता -तिमी नै हौ
म चाहन्छु
तिमीलाई बुझ्न सकूँ
तिमी नै हौ भनेर ।
त्यसैले त
म अनुभूतिको रङ्ग हुन चाहन्छु
तिम्रो जीवनको चित्रमा पोतिएर
तिम्रै जीवनलाई अनुभूत गर्न चाहन्छु
के तिमी आफ्नो जीवन यात्रामा
मलाई बाटो बनाएर हिँड्न तयार छौ ?
मेरा रहर र इच्छाहरु अनुमोदन गरेर तिमीमा
म बिलाएको छु चियामा चिनी बिलाए जस्तै
र त मेरो जुनकिरी निदाउँछ तिम्रै सपनामा
मेरो घामकिरी ब्युँझन्छ तिम्रै बिपनामा
अनि यही दैनिकीलाई मैले स्वीकार गरेको छु
मेरो स्वर्णिम जीवन तिमी नै हौ भनेर ।
जब म उचाल्छु जीवनका रङ्गिन पाइलाहरू
तब मेरा पाइलालाई टेक्ने ठाउँ दिने तिमी नै हौ
तिम्रो नाकको फुली जस्तै प्रेमिल सम्झना बोकेर
हिँडिरहेका मेरा रहरका उर्वशीहरूलाई
हिड्ने बाटो दिने पनि तिमी नै हौ
कदाचित् नछुटोस् हाम्रो योसाथ भनि
मसँग मन्दिर जाने पनि तिमी नै हौ ।
हुनत तिमीसँग पनि छन्
आशाको आशिर्वादले बाँचिरहेका
केही थान मखमली सपनाहरू
तर ती सबै सबैलाई थाँती राखेर
आफुलाई भन्दा बढी मलाई मायाँ गर्ने
यो संसारमा यदि कोही छ भने
त्यो तिमी नै हौ ।
मलाई आधाबाट पूरा मान्छे बनाउने
मेरो अर्धाङ्गिनी पनि तिमी नै हौ
मलाई कसैको श्रीमान् बनाउने
कसैको बाबा बनाउने
कसैको अविभावक बनाउने
मेरो निर्माता पनि तिमी नै हौ ।
आजकल
म एउटा पृथक परिभाषाको खोजिमा छु
जसमा म भन्न सकूँ कि
मेरो घाम जून उदाउने आकाश
मेरो जीवन मृत्यु अटाउने धर्ती
मेरो सपना बिपना फुलाउने आँगन
र मेरो दुःख सुख सजाउने घर
सबै सबै तिमी नै हौ
भगवान कसम
मेरो सबै तिमी नै हौ ।
सुरेन्द्र लिम्बू परदेशी