यात्रा संस्मरण - बेलायतमा मेरा शनिवार आइतवार

जानु काम्बाङ् लिम्बू,
बेलायत

उहिले नेपालमा छँदा हरेक हप्ता शनिबारे बजार गइन्थ्यो, सौदापात गरिन्थ्यो । अहिले बेलायतमा हरेक शनिबार
सङ्घसंस्था र ‘पार्टी फङ्सन’ धाउनुमा ठिक्क छ । थाहा छैन, मानिसलाई वास्तविक आवश्यकता के हो र कुन हो ?
लाग्छ, व्यक्ति र समाज परिपूरक हुन् मानिसको ।

गत शनिबार मात्र गायक तथा सङ्गीतकार भाइ बीसी राईको एकल स्वर, सङ्गीत अनि वरिष्ठ साहित्यकार, गजलकार
दुबसु क्षेत्रीज्यूको एकल गजल एल्बम ‘निर्मम यादहरू’ को विमोचनमा केन्ट पुगेकी थिएँ । आफन्त र सर्जकसँग त्यहाँ भेट
हुन पाउँदा कम रमाइलो भएन ।

चार दिन लगातार काम गरेर बल्ल छुट्टी मिलेको छ आज । शरीरलाई आराम चाहिए पनि मनलाई साहित्यको उधुमै
तिर्खा छ । ‘’नेपाली प्रतिभा प्रतिष्ठान बेलायत’’ को वार्षिक कार्यक्रम आज जसरी पनि सरीक हुनु छ । रमाइलो वर्खा याम जानै लागिसक्यो । हिउँद महिनामा धेरै पानी पर्छ बेलायतमा । दिनको तीन बजे नै घाम डुब्छ ।

जाडो त टुप्पी ठाडो हुने गरीकै हुन्छ । अनि त रमाइलोका लागि वर्खा यामलाई नै कुर्नपर्छ । जब वर्खा लाग्छ अनि मात्र मज्जाले घामको अनुहार देख्न पाइन्छ । रातको १० बजेसम्म घाम लाग्छ । तब सुरू हुन्छन् विभिन्न कार्यक्रम । व्यस्तता र दौडधुपले कुनै शनिबार, आइतबार खाली रहने होइन । हरेक सप्ताहान्त भ्याइ नभ्याइ ! राति बाहिर सिमसिम झरी परे पनि घरभित्र हल्का गर्मी नै थियो । त्यै भएर होला उस्तो निन्द्रै परेन । उज्यालो हुने बेला एक झमट निदाउने कोशिस त गरेकै हो तर सकिनँ । बरु उठेर नुहाएँ पो ।

‘तँ त दुरुस्तै मावली बोजु जस्तो छस् हौ ।’’ ऐनाअघि उभिंदा आमाको भनाइ झल्याँस्स भयो । अनि चाउरिंदो निधारका
रेखा, आँखाका डिल र गालामा युगले बिर्सिसकेको मावली बोजुको अनुहार खोज्न थालें । अचानक बाहिरबाट ढोकाभित्र
केही चिज खसालिएको आवाज सुनें । गाजल र मस्काराले सजाउँदै गरेका आँखा तल झ्यालतिर हुत्याएँ । पहेंलो र
सुन्तले रङ मिश्रित सेफ्टी ज्याकेट पहिरेको अधबैंसे हुुलाकी म्याराथन धावक झैं दौडी रहेको थियो । एउटा जोगी झोला
छड्के भिरेको त्यो गोरा हुलाकी हातमा बोकेको एक अँगालोजति चिट्ठीपत्र छिनभरमै बाँडी सकेर अर्को रोडतिर
हाम्फाल्यो । म भने अझै मस्कारा समातेर अनुहारमा कुची चलाई रहन्छु ।

‘मेकअप’मै छोरी मान्छेले आधा जिन्दगी खर्चिने भनाइ साँचो हो कि जस्तो पनि लाग्छ । मैले पनि आज सिंगारिन निकै
समय लगाएछु । बिहानको १० ः १५ बजे घरबाट रोडमा निस्कँदानिस्कँदै बसले छाडेर गई त हाल्यो । बसको ‘टाइम
टेबल’ ख्याल नगर्दा म यसरी नै सधैं सास्तीको भोक्ता हुँदै आएकी छु ।

ढिलो भैसकेकै छ । अक्सफोर्ड कसम स्टेडियमबाट आउने बस भेटिन्छन् कि ! माथिल्लो स्टप छाडी तल्लो स्टप दौडिन्छु ।
नभन्दै बस नम्बर ‘फोर बि’ आयो, त्यसैमा चढें । शनिबार, आइतबार अक्सफोर्डबाट हाइवे कमवे जाने पब्लिक बस चल्दैन । अक्सफोर्ड सिटी सेन्टर पुगेर रेल स्टेसन जान एक नम्बर बस चढ्छु । स्टेसनमा पुगेर १४ पौण्डको टिकट लिन्छु । टिकट काउन्टरको स्टाफलाई हाइवेकमबे पुग्ने ‘रूट इम्फर्मेसन’ पनि प्रिन्ट गर्न लगाएर बोक्छु ।

‘इम्फर्मेसन लिस्ट’मा डाईरेक्ट ट्रेन लन्डन मार्लिबोनी जाने र प्लाटफ़र्म दुई मा छुट्ने समय ११ ः १० लेखिएको थियो
। मसँग टाइम २० मिनेट थियो । कफी शपमा एउटा स्यान्डविच र एक कप कालो कफी किन्छु जहाँ काम गर्ने एकजना
नेपाली युवा रहेछन् । मज्जाले खाजा तातो बनाउन लगाएर प्लेट फर्ममा पुग्दा ट्रेन लागिरहेको थियो । मान्छे फाटफुट्ट
मात्र थिए । प्रायः सिट खाली जस्तै थियो । एउटा राम्रो खाने टेबल भएको सिट रोजेर बस्छु अनि अघि तताउन
लगाएको खाजा खान थाल्छु ।

केहीछिनमै ट्रेन हिंड्छ । कस्तो टाइम टेबल ११ः १० भन्दा एक सेकेण्ड पनि तलमाथि छैन । जति—जति अक्सफोर्ड
छाड्दै गयो उति—उति रमाइला ठाउँ आउन थाल्छन्— अक्सफोर्ड पार्क वे, अक्सफोर्ड नर्थ क्रमैसँग समर टाउन शपिङ
सेन्टर आदि । मेरो पुरानो नाता छ यो अक्सफोर्ड नर्थसँग । जहिल्यै कहाँ पर्छ, कति टाढा छ भनेर सोचिरहने मलाई आज
उज्यालोमा देख्न पाउँदा धन्य लाग्छ ।

सम्भवतः दुई वर्षअघि होला, वातावरणविद् विजय हितानज्यूको निम्तो स्वीकार्दै ‘’केन्ट कलम’’ र ‘’विश्व नेपाली
साहित्य महासङ्घ’’ आसफोर्डकेन्ट शाखाले संयुक्त रूपमा आयोजना गरेको एउटा साहित्यिक कार्यक्रममा भाग लिन
पुगेकी थिएँ म । कार्यक्रम निक्कै रमाइलो र उपलब्धिमूलक रह्यो । त्यतिखेर कार्यक्रमपछि प्रबन्ध गरिएको डिनरमा
सहभागी हुनैपर्ने नियम पालना गर्दा टाढाको पाहुना मलाई फर्कन निकै ढिला र झञ्झट पनि भएको थियो ।

त्यतिखेरकै घटना हो । आसफोर्ड केन्टबाट रेलमा म लण्डनको सेन्ट पानक्रसमम्म आएकी थिएँ। त्यहाँबाट ट्युब रेल चढेर
लन्डन प्याडिङ्गटनसम्म अनि त्यहाँबाट अक्सफोर्ड जान न्यू क्यासल जाने रेल समाएँ । त्यहाँबाट हिंडेको रेल एकैपल्ट
स्लो, रिडिङ अनि अक्सफोर्ड आउँथ्यो । झोलामा हितानज्यूको कथासङ्ग्रह कथा 'थकित पृथ्बी' थियो, पल्टाएर ‘सङ्घाई स्ट्रिटका दुई आँखा’ कथा पढ्दै थिएँ । कथाले जया राई दिदीको कथा ‘ब्रेकर स्ट्रिटका दुई आँखा’का पात्रलाई
सङ्घाई स्ट्रिटको एउटा रेस्टुरेण्टमा अचानक भेट गराउँदो रहेछ, रोचक थियो । तर दुःखको कुरा पढ्दापढ्दै कुन बेला
फुस्स निदाएछु । आँखा उघ्रिंदा ढोका बन्द गरी रेल अक्सफोर्डबाट हिंड्दै थियो । म त त्यही ओर्लनुपर्ने । घडी हेर्दा रातको
११ बजेको छ । लाऽऽऽ अब म कहाँ पुग्छु, अर्को स्टप कहाँ हो, केही थाहा थिएन । अत्तालिएर हरियोनिलो भैगएँ । धन्न,
टिकट चेक गर्दै एउटा स्टाफ आइपुग्यो ।

‘म अक्सफोर्ड स्टपमै ओर्लनुपर्ने हो तर निदाएछु, अब म के गरौं ?’ मैले अत्तालिँदै भन्दा उसले, ‘अर्को स्टप जहाँ आउँछ
तेंही झरेर ट्याक्सीमा जा... यति राति रेल पाउन सम्भव छैन ।’ भन्यो ।

अर्को स्टप आयो, म त्यही ओर्लिएँ । सुनसान जङ्गल, वरपर गाउँबस्ती घर केही थिएनन् । चुक पोखे जस्तै अँध्यारो ।
बाहिर निस्कने बाटो खोज्दै निस्किएँ । निक्कै पर पुगेपछि एउटा कारहरूको डिलर रहेछ । आँगनभरि नयाँ—नयाँ कार
थिए । ट्याक्सी खोजें तर पाइनँ । ट्याक्सीको फोन नम्बर पनि थिएन । जाडोले लगलग काँप्दै कारहरूको बिचमा बसेर
विजयजीलाई फोन गरें, फोन उठेन । एकछिनपछि कल ब्याक गर्नुभयो । सबै इतिवृत्तान्त बताएपछि भन्नुभयो, ‘त्यहाँ
स्टेसन छेउछाउको स्ट्रीट्को नाम भन ।’ आवाज निक्कै चर्को थियो तर सहनै प¥यो । धेरै खोजें तर त्यहाँ कतै साइनबोर्ड
देखिन । त्यही बेला जताततै तान्द्राङतुन्द्रुङ साइनबोर्ड नेपालमा झुन्ड्याउनुको महत्व सम्झेकी थिएँ। डराउँदैडराउँदै
सानो स्वरमा अक्सफोर्ड नर्थ रेल स्टेसन छेउमा भएको बताएथें ।

कुर्दाकुर्दै रातको १२ बज्यो । भोक, तिर्खा, डर र त्रास सबैसबै मेरो टाउकोमाथि नाचिरहेका थिए । रोडदेखि पारिपट्टिका
जङ्गलमा स्याल दौडेको प्रस्ट देखिन्थ्यो तर, मलाई जङ्गली जनावरभन्दा मान्छेसँग डर थियो । किनकि बेलायतमा
पनि लुटपाट र बलात्कारका घटना हुने गर्छन् बेलाबखत । घरबारबिहीन र ड्रग एडिक्ट भेटिन्छन् जो काम नगरी
दिनभरि सुत्छन्, सरकारी भत्ता थाप्दै खान्छन्, अनि राति बाहिर निस्कन्छन् ।

बल्ल १२ ः ३० तिर इन्टरनेटबाट सर्च गर्दै विजयजी आइपुग्नु भयो । तर त्यही आइपुगेर पनि फोनमा धेरै खोजाखोज
गर्नुप¥यो । बल्लतल्ल बुढोलाई भेट्दा खुट्टा नै समातेर ढोगौं लागेको थियो । जिन्दगीमा मैले विजयजीको यो गुणलाई
कहिल्यै बिर्संदिन होला । आज त्यै रात भुलिएको एकलास गाउँ अक्सफोर्ड नर्थमाथि दिउँसै रेल चढेर दौडिरहेकी छु ।
ठाउँ कत्ति रमाइलो छ, डरलाग्दो त रातमा मात्र देखिएको रहेछ ।

११ः४० तिर हाईवे-कमवे स्टेसनमा ओर्लिन्छु । बाहिर ट्याक्सी लाइन लागेका छन् । एउटा ट्याक्सी चढेर लाग्छु
उकालैउकालो । बाटोभरि आँखै लोभ्याउने रमाइला दृश्य हेर्दै कतिबेला पुगेछु थाहै भएन । एक्कासि ट्याक्सीले ब्रेक
लाउँदा होस खुल्यो । मैले त अघि नै १२ पौण्डको यात्रा गरिसकेछु । मिटरमा उठेको पैसा तिरेर आर्मी क्याम्पभित्रको
हल प्रवेश गर्छु ।

मान्छे भेला भैसकेछन् । मात्र केही अतिथि आउन बाँकी । ठिक मध्यान्हको १२ ः ३० मा कार्यक्रम सुरू हुन्छ ।
कार्यक्रमको अध्यक्षता संस्थाको उपाध्यक्ष श्री टंक वनेमज्यूले गर्नुभयो । प्रमुखअतिथि वरिष्ठ पत्रकार खगेन्द्र नेपाली,
विशेष अतिथिमा बेलायतमा स्थापित विभिन्न सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, नेपालबाट बेलायत
यात्रामा रहनु भएका साहित्यकार मदन राई लामाखुलेज्यू, त्यसैगरी पत्रकार महासङ्घ बेलायतका अध्यक्ष श्री नरेश
खपाङ्गीज्यू, जनजाति महासङ्घ बेलायतका अध्यक्ष श्री जंग सुनुवारज्यू, कवि तथा मुक्तककार नेपाल मुक्तक प्रतिष्ठान
बेलायतका सल्लाहकार डाक्टर रुपक श्रेष्ठज्यू लगायत साहित्यकार कवि भगवान चाम्लिङज्यू, मेजर भुवानी पन्धाकज्यू
त्यसैगरी अन्य थुप्रै महिला दिदीबहिनी, साथै साहित्यकार, कवि, गीतकार र गजलकारको बाक्लो उपस्थिति छ ।
मञ्च प्रदान गरे बापत ‘’प्रतिभा प्रतिष्ठान बेलायत’’लाई धन्यवाद ज्ञापन गर्दै कवि श्री गणेश राईज्यू ‘’युद्ध साहित्य र
सिद्धान्त’’को बारेमा एक कार्यपत्र पनि प्रस्तुत गर्नुहुन्छ ।‘’नेपाली प्रतिभा प्रतिष्ठान बेलायत’’ ले हरेक वर्ष यसरी
एकजना स्रष्टालाई मञ्च प्रदान गरी साहित्य अनुरागीका लागि एक बलियो इतिहास रच्दै गरेको अनुभव हुन्छ । हरेक
वर्षको कार्यक्रममा म जान रुचाउँछु । अरुको सृजना सुन्न मलाई असाध्यै रमाइलो लाग्छ । यस पालि स्रष्टा दाजु गणेश
राईज्यूको कविताले धुरुधुरु नै रुवायो । मेरो छेउमा बसेकी भावनाजी आँखा पुछिरहनु भएको छ । अर्कोपट्टि गजलकार
मित्र सेमन्त राईज्यू बलैले आफूलाई सम्हाल्दै हुनुहुन्छ । बिचमा बसेकी म पनि आफूलाई सम्हाल्ने प्रयास गर्दैछु तर
असफल हुन्छु । उठेर ट्वाइलेटतिर सुइत्त छिर्छु । मन हल्का बनाएर मात्र फर्कन्छु ।

जब कविता समाप्त भएको सङ्केत हुन्छ, सुनसान माहोल थप्पडीको गडगडाहटमा रुपान्तरण हुन्छ । कविता सुन्दै गर्दा
कवितालाई सुहाउने धुनका साथमा लडाइँका दृश्य, बन्दुक र बम पड्केका आवाज गुञ्जिन्थ्यो, भित्तामा झुण्ड्याइएको
सेतो पर्दामा कविताले भनेका सबै चित्र हेर्न पाइन्थ्यो ।

म आफै एक सैनिकको छोरी । दोस्रो विश्वयुद्ध लड्ने लडाकुको नातिनी । तर, यति भएर पनि मलाई खुकुरी, बम, गोला,
बारुद, बन्दूक र सङ्गीनलाई बिम्ब बनाएर पनि यति मिठो र सुन्दर कविता लेख्न सकिन्छ भन्ने आज बल्ल थाहा भयो ।
जे होस् कार्यक्रम निक्कै रोचक भयो । यसरी युद्ध साहित्यलाई नजिकबाट बुझ्ने मौका पाएकोमा युद्धकवि, उपन्यासकार
तथा सिद्धान्तकार दाजु गणेश राईज्यूप्रति बडो श्रद्धा जाग्यो । शिर उचो भयो ।

साँझको ४ बजेतिर कार्यक्रम सकियो । खाजा अग्र्यानिक नेपाली थियो— सेलरोटी, चिउरा, तरकारी र अचारको मिठो
सङ्गम । खानपिनपछि केन्ट जाने मित्र सेमन्तजीले स्टेसनसम्म पुर्याई दिनुभयो । ओहोरदोहोरको टिकट बिहानै लिएकी
थिएँ । तर, हाइवेकमबे रेलमा पहिलोपल्ट आएकोले कुन प्लेटफर्मबाट चढ्ने थाहा छैन । सोधपुछका लागि काउन्टरअघि
लाइन लाग्छु, दुई जनापछि पालो आयो ।

काउन्टरको मानिसले अगाडिको प्लेटफर्मको रेल देखाउँदै दौडी हाल्नुस् भन्छ । झोला उचालेर दौडिन्छु । तर, प्लाटफर्ममा पुग्दा नपुग्दै रेल गुडी गयो । सारै नमज्जा लाग्यो । छेउमै बेन्ची थियो, थुचुक्कै बसेर इन्फर्मेसन बोर्डमा हेर्दा अर्को रेल ४५ मिनेटपछि मात्र आउने देखाएको थियो । बाहिर जाडो लागेकोले भित्र वेटिङ रुममा जान्छु । अब भित्रको इम्फर्मेसन बोर्डतिर पनि धयान दिंदै कवि तथा यात्राकार केदार सङ्केतजीको यात्रासंस्मरण ‘बुद्ध ल्याण्ड टु स्विजरल्याण्ड’ भित्रको ‘केफालोनियामा ओलिभ टिप्दा’ शीर्षकको यात्रासंस्मरण पढ्न थाल्छु । रमाइलो छ । यात्राकार आफू एक्लै मात्र नभएर परिवारसँग पनि यात्रा गर्नु हुँदो रहेछ । तेस्को, सेन्सबरी, आस्डा जस्ता बेलायतका ठूल्ठुला सुपरमार्केटमा किनेर खाइने हरियो ओलिभ कहाँबाट आउँछ होला जस्तो लाग्थ्यो, यै यात्रासंस्मरणबाट थाहा भयो, ग्रिसबाट आउँदो रहेछ ।

इन्फर्मेसन बोर्डबाट ४५ मिनेटपछिको रेलको टाइम टेबल हरायो । दौडेर फेरि सोधपुछ डेस्कमा पुगें । तर, त्यो मात्र
होइन त्योभन्दा पछिको अर्को रेल पनि रद्द भएछ । मानिलिऊँ, आज अक्सफोर्ड जाने रेल नै छैन । अरू उपाय के छ ?
काउन्टरमा सोध्दा बेन्बुरी जाने रेलमा गएर हाडेन्हामबाट अक्सफोर्डको रेल चढ्ने सुझाउ हुन्छ । काउन्टरको स्टाफलाई

धन्यवाद पनि नभनी तुफान दौडिन्छु । प्लेट फर्म २ मा रेल लागिरहेको हुन्छ । छेउमा उभेर झन्डा हल्लाउने मान्छेलाई
सोधेर फुत्त छिर्छु अनि लामो सास तानेर सिटमा थ्याच्चै बस्छु । केही छिनमा रेल हिंड्यो । अघि कार्यक्रममा उपलब्ध किताब झोलाभरि थिए तर रेल कुर्दाकुर्दा दिलोदिमाग थाकिसकेकोले पढ्ने जाँगर चल्दैन । दुई स्टपपछि बल्ल म हाडेन्हाम पग्छु । ओर्लेर सोधपुछ गर्दा त्यही प्लेट फर्ममा अक्सफोर्डको रेल आउने जानकारी हुन्छ । एकलास जङ्गल बिचमा छ स्टप । ओत लाग्ने ठाउँ पनि छैन । उभ्दैउभ्दै पानीले चुट्यो, मसँग छाता थिएन । बुबालाई बेस्सरी सम्झन्छु, ‘बर्षायाममा छाता, हिउँदमा जुत्ता नबिर्सनू । अनिकालमा बिऊ र हुलमुलमा जिउ जोगाउनू ।’ बुबा भन्नुहुन्थ्यो । मैले पनि त झोलामा छाता फ्यास्स हालेर हिंडेको भए किन हुन्थ्यो यो दुःख ? त्यहाँबाट अक्सफोर्ड पार्क-वे र समर टाउन, यी दुई स्टपपछि अक्सफोर्ड आउँछ ।

ओर्लिएर ब्लेकबर्लिज जाने पाँच नम्बर बस चढी सिटि सेन्टर पुगेर तीन नम्बर बस लिन्छु । घर पुग्दा साँझको ८ ः ३० बजिसकेको हुन्छ । यस्ता साहित्यिक कार्यक्रम र अग्रज साहित्यकारका विचार, सिद्धान्त र अनेक चिनेजानेका स्रष्टासँगको भेटघाटले साँच्चै नै ऊर्जा थपिंदो रहेछ । सुत्ने बेला मनमा एक किसिमको सन्तुष्टि हुन्छ, मस्तिष्कमा कुनै तङ्खवज्ञान मिले झैं हुन्छ । हिजोआज एक्लै बसेर आफ्नो विचार लेख्नु भन्दा अरूको सुनेर पढेर लेख्दा धेरै सुधार भएको महसुस हुन्छ ।

मान्छेले चाहेको जस्तो कुनै पनि कुरा नपुग्दो रहेछ । यसरी शनिबार आइतबार समाज सेवा गर्न र साहित्यिक
कार्यक्रममा धाउन कार कहिले किन्ने ? ड्राइभिङ पास गर्ने कहिले ? रेल र बसमा उफ्रिपाफ्री दौडधुप गर्नुपर्ने मैले आफ्नै
कारबाट सररर...गुडेर आफ्नो जिन्दगीको समय बचाउने कहिले ? आजकल शनिबार आइतबार आयो कि यस्तै कुराले
पिरोल्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com