कविता -कोभिड
बढ्दो कोभिडले समस्त जगका मान्छे निकै त्रस्त छन्
सारा बाध्य भएर थप्प घरमा ढोका थुनी बस्दछ्न्
मान्छे नित्य लुकेर भित्र यसरी चल्ला र दैनन्दिनी?
``यो सन्त्रास हटेर जान्छ कहिले भन्दे न हे चाँदनी।´´१
राजारङ्क समाजभित्र जति छन् संकष्टमा छन् सबै
भन्छ्न् यो विकराल दु:स्थिति जिती बाँचिन्छ होला र खै
बन्दैछन् विचरा निरीह सब ती निर्धा हऊन् या धनी
``यो सन्त्रास हटेर जान्छ कहिले भन्दे न हे चाँदनी।´´२
निद्रा भोक हराउँदै छ सबको भन्छन् समस्या पर्यो
अर्थोपार्जनतर्फको सिलसिला झन् शून्यमा पो झर्यो
मान्छेको मन शान्त छैन अब झन् के के हुने हो भनी
``यो सन्त्रास हटेर जान्छ कहिले भन्दे न हे चाँदनी।´´३
आफ्नो जीवन धान्न मानिसहरू अभ्यस्त बन्थे जब
गर्थे उद्यम गर्वसाथ सबले चल्थ्यो गुजारा तब
सारा ती व्यवसाय बन्द हुनुले मान्छे भए निर्धनी
``यो सन्त्रास हटेर जान्छ कहिले भन्दे न हे चाँदनी।´´४
बाला बृद्ध जवान छन् जति यहाँ सारा पछार्दै गयो
दोस्रो कोभिड नाम धारण गरी झन् शक्तिशाली भयो
बर्षौबर्ष भयो उपाय गतिलो निस्केन केही पनि
``यो सन्त्रास हटेर जान्छ कहिले भन्दे न हे चाँदनी।´´५
गङ्गा आचार्य सापकोटा ,बागलुङ
हाल काठमाडौँ