कविता : दुश्मन समय

कविता : दुश्मन समय

समस्याको पहाड
आँखै अगाडी
उभिएपछी घरदेशमा
अभावका जङ्घार तर्दै
परदेशिनु बाध्यता थियो
आफ्नाहरु सोच्छ्न्
पैसाको बोट छ परदेशमा
अस्तिका दुश्मनहरु साथी बने
पैसा टिपेर बिटो पठाउँदा
फेरि हिजोका आफन्तहरु पराई बने
आज पैसाको रुख नाङ्गो हुँदा ।

समयले आफ्नैहरुलाई दुश्मन बनायो
ठान्छन् विदेशमा पैसा फल्ने रुख छ
पैसाको अोछ्यानमा
पैसाकै सिरानी लाएर सुतेकोछु
पैसामै टेकेर हिंडेकोछु
खै, समय खराब थियो
या म
यहाँसम्म आईपुग्नुमा
र आफ्नै पौरखले गरिखानुमा ।

उता बस्नेलाई थाहै छैन,
बिदेशमा पैसाको बोट रोप्न
कति थोपा रगत,पसिना र श्रम सिन्चेर
फसल बटुल्नुपर्छ
किन आज एकाएक
आफ्नैहरु दुश्मन भए ?
सायद पैसा दुश्मन भयो
या समय नै उल्टो बग्यो ?

मेरो प्रगतिमा हाँस्नेहरु
किन अनायास आँशु बगाउन थाले ?
अाज सबैभन्दा निकटस्थ
मेरा आफन्तहरु नै
किन घनघोर पराई बन्दैछन् ?
मेरो भलो चिताउनेहरु
किन धारे हात लाउन उद्दत छन् ?
ए समय !
दुश्मन लागेर मलाई
केही हुदैन
मात्र तिमी मेरो साथ नछोड।

कि समय नै पो दुश्मन बन्दैछ ?
हठात् सोच्छु,
मान्छेहरु दुश्मन भए त
म अझै अघि बढ्नेछु
थप शिखर चढ्नेछु
प्रिय समय !
मलाई साथ देऊ कृपया,
समय चाहिँ किमार्थ
मेरो दुश्मन नबनोस् ।

सिन्धु पौडेल
चितवन-भरतपुर
हाल-ईजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com