छोरी गर्भबाटै तिरस्कृत..

काठमाडौं चैत्र -२

‘छोरीको जन्म हारेको कर्म’, ‘छोरी मरी ठूलो घर परी’, ‘छोरी जन्मे फर्सी छोरा जन्मे खसी’ यी सबै उखानले नेपाली समाजमा नारीलाई कसरी हेरिएको छ भनेर चित्रित गर्छ। यसले सदियौंदेखि हाम्रो समाजमा पितृसत्तात्मक सोच अझै कायमै छ भन्ने देखाउँछ। तर, समयको परिवर्तनसँगै नारी कमजोर पात्र हुन्, निर्णय गर्ने क्षमता हुँदैन, उनीहरुलाई दबाउनुपर्छ भन्ने सोचबाट भने नेपाल विस्तारै बामे सर्दैछ। 

महिला केवल घरायसी कार्यमा मात्र सीमित हुनुपर्छ, भन्ने सोच विस्तारै बदलिँदै छ। नेपालमा राष्ट्रपति, प्रधानान्यायाधीश, डाक्टर, पाइलट, स्वास्थ्यकर्मी, इन्जिनियरदेखि लिएर प्रशासनिक क्षेत्रमा महिलाले आफ्नो कार्यकुशलता देखाइसकेका छन्। यसलाई उदाहरणको रुपमा लिन सकिन्छ।

यति हुँदाहुँदै पनि हाम्रो देशमा सबै मानिसमा यस्तो चेतना आइसकेको छैन। महिलाले पनि केही गर्न सक्छन्। उनीहरु हरेक क्षेत्रमा अब्बल छन् भन्ने सोच विकास भइसकेको छैन। छोरीलाई गर्भबाट नै तिरस्कार गर्ने, बच्चा जन्माउनेको स्वास्थ्यको ख्याल गर्नुभन्दा छोरा नजन्माएकोमा अपहेलना र मानसिक तनाव सिर्जना गर्ने नारी जमात नै ठूलो छ यहाँ।  लैंगिक असमानता बोलीमा कम भए पनि व्यवहारमा छर्लंग छ।

सहर–बजारमा शिक्षित आमाबुबाबाट यो असमानता कम होला, तर ग्रामीण भेगमा अझ पनि यसले जरा गाडेको छ। महिनावारी हुँदा स्वास्थ्यकर खानाका साथै आराम दिनुको साटो छोइछिटो गर्ने र छाउपडी जस्ता कुसंस्कार कायम नै छन्। त्यति मात्रै होइन, दाइजोको निहुँमा महिलालाई जिउँदै जलाउने कुरीति अझै पनि व्याप्त छ।  

अझै पनि हाम्रो समाजमा छोरीलाई पढाउनु पर्दैन, अर्काको घरमा जाने जात भन्दै हेप्ने प्रवृत्ति देखिन्छ। हामी महिला सशक्तीकरणको कुरा गर्छौं तर काम र व्यवहारमा महिलालाई पीडा दिने गर्छौं।  

नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक देश भए पनि प्रायः समुदायमा अझै पनि पुरुष नै निर्णयकर्ताको रुपमा हावी रहेका छन्। छिटो विवाह, कम शिक्षा अनि स्वास्थ्य सेवाको अवसर नपाउनाले महिला स्वास्थ्यमा दीर्घकालीन समस्या खडा भएको छ। 

दक्षिण एसियामा नै स्वास्थ्य स्थितिमा नेपाली महिलाको स्थिति कमजोर छ। मातृशिशु मृत्युदर चाहेअनुरुप कम भइसकेको छैन। साथै पाठेघर खस्ने, पाठेघरको मुखको क्यान्सर जस्ता प्रजनन् स्वास्थ्यमा प्रतिकूल असर परिरहेका छन्। 

महिलाले गर्ने अधिकांश कार्यको आर्थिक मूल्यांकन गरिँदैन। न्यून महिला मात्र प्रोफेसनल कार्यमा संलग्न छन्। उच्च तहमा कार्य गर्ने थोरै छन् र उनीहरुका आवाजलाई खासै वास्ता  गरिंदैन। जति धेरै पढे–लेखेकी महिला भए पनि घरपरिवारमै समय व्यतित गर्न बाध्य छन् उनीहरु। पुरुष र महिला बराबरी हुन नदिनु तथा महिला–पुरुषको असमानता कायम रहनुमा अन्धविश्वास र अशिक्षा अनि रुढिवादी सोच नै कारक तत्व हुन्। 

अतः महिलाका लागि बलियो कानुन, सहज अनि उच्च शिक्षा, अवसर, महिला स्वास्थ्य समस्याका समाधानका लागि निःशुल्क स्वास्थ्य सेवा, जनचेतना, दाइजो तथा छाउपडी प्रथाको अन्त्य अनि राजनीतिक अवसर सहज भए महिला विकासमा टेवा पुग्ने थियो।

विश्व अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा हामी हाम्रा कुरीति तथा कुसंस्कारहरुको अन्त्य गरेर महिला र पुरुषबीच समानताको वातावरण सिर्जना गराऔँ, महिला हिंसा, यौन हिंसा विरुद्धका कानुन लागू गरियोस्। त्यसपछि मात्र शिक्षित नारी, शिक्षित परिवार अनि विकसित देश बन्नेछ। सम्पूर्णलाई अन्तर्राष्ट्रिय नारी दिवशको शुभकामना।

(बगाले यति स्वास्थ्य विज्ञान प्रतिष्ठानकी लेक्चरर हुन्) - साभार-स्वास्थ्य खबर:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com