कविता - ' आउ मलाइ बलात्कार गर ' प्रियंका पराजुली


कविता - ' आउ मलाइ बलात्कार गर '

आजकाल मलाई सबै सबैसँग डर लाग्छ !
मेरी प्यारी छोरी भन्दै गालामा थप्थपाउने बाबासँग,
भाग्यमानी भएस भन्दै आशीर्वाद दिने हजुरबासँग,
सानी नानी चकलेट खाउ भनेर चकलेटको कागज निकाल्दै दिने छिमेकी पसले अंकलसँग,
राम्रो पढ्दैछौ भनेर धाप मार्ने गुरुहरुसँग,
बाइकमा घुमाउने मामासँग,
सबै सबैसँग डर लाग्छ,
जब त्यो स्नेह र अपनत्वकै काखमा लुटपुटिरहएको बेला एकाबिहानै आउने पत्रिकाको हेडलाईनहरुमा ,
हर साँझ हेर्ने टेलिभिजनका समाचार र ब्रेकिङ न्युजहरुमा ठूला अक्षरमा देखिन्छन् :
- बाबुद्वारा छोरी बलात्कृत !
गुरुद्वारा आफ्नै छात्राको जबर्जस्ती करणी !
- काकाको मिलेमतोमा नाबालिकाको सामुहिक  बलात्कार पछि हत्या !
- सात वर्षिया बालिकाको बलात्कार !

मलाई अचेल आफ्नै घरको गल्लीसँग डर लाग्छ ,
आफु पढ्ने स्कुलको कोठासँग डर लाग्छ ,
भीडसँग डर लाग्छ ,
एकान्तसँग डर लाग्छ,
मन्दिर जाँदा डर लाग्छ,
बजार जाँदा डर लाग्छ,
कोलाहलसँग डर लाग्छ,
शुन्यतासँग डर लाग्छ,
रातमा पनि डर लाग्छ ,
दिनमा झनै डर लाग्छ ,
मानौं ती हरेक कोठामा,गल्लीमा ,भीडमा,एकान्तमा ,मन्दिरमा ,बजारमा जताततै हिंस्रक शिकारीहरु मलाई हेदै अट्टहाँस गरेर बोलाइरहेका छन् -- आइज !मेरो शिकार ,म तँलाई नै पर्खिरहेको थिएँ !!

साँच्चै भन्नुपर्दा मलाई आजकाल आफैंदेखि डर लाग्छ !
आफ्नो शरीरमा वृद्धि हुँदै गएका शारीरिक अवयबहरुसँग,
सुलुत्त परेको नाकसँग,
चम्किला आँखासँग,
लरक्क परेको कपालसँग,
छिनेको कम्मरसँग,
मानौं यी सबै मलाई डस्न,सिध्याउन,मेरो अस्मिता लुट्न,मेरो अस्तित्व मेटाउन मैले नै हुर्काएका विष वृक्ष हुन् !

त्यसो त म नजन्मदैँ देखि डरमा थिएँ !
कतै बाबा आमाले गर्भ परिक्षण गरेर छोरी रहिछे भनेर गर्भपतन गराएर फालिदिए  भनें .....!
त्यहाँबाट शुरु भएको मेरो डरको शृङ्खला आज पर्यन्त उस्तै छ ,
परम्पराको डर
स्वतन्त्रताको सर
सामाजिक बन्धनको डर
म निमेष निमेषमा डरको जिन्दगी बाँचिरहेको छु
अझ भनौं म बाँच्नकै लागि डराइ रहेछु !

तर,........ तर अब यो त्रासको बचाईबाट म मुक्ति चाहन्छु र मुक्ति दिलाउन एउटा शंखघोष गर्छु !
ए यौन पिपासुहरु ,
ए नरभंक्षीहरु,
ए वासनका रोगीहरु,
ए दुष्ट दानवहरु ,
आउ ! सब आउ ! गल्ली गल्लीबाट आउ ! चिहाएर,
मौका छोपेर,
लुकेर,
फकाएर,
जबर्जस्ती गरेर हैन
खुलेआम आउ र मलाई भोग गर !
तिम्रो अतृप्त प्यास मेटाउ,
तिम्रो वासना पुरा गर !
मलाई चिथोर ,कोपर, निचोर ,टोक जे मन लाग्छ गर ,
जसरी मन लाग्छ गर र अन्त्यमा आफ्नो पुरुषत्व विजयी भएकोमा सन्तुष्ट हुँदै मलाई हत्या गरेर त्यतै कतै फालिदेउ !!
तर .............
तर यो शृङ्खलाको अन्त्य यहीँ होस् !!
यो कथाको पटाक्षप यहीँ होस् !

यसपछि मैले माथी आकाशबाट हेर्दा
फेरि मेरा दिदी बहिनी ,आमा,हजुरमा कोही पनि बलात्कृत भएको देख्न नपरोस् !
सधैं डर र त्रासमा बाँचेको म नारी अस्मिताको रक्षाको लागि आज पहिलो र अन्तिम पटक निडर भएर भन्छु -ए पुरुष आउ तिमी मलाई  खुलेआम भोग गर ! सदा सदाको लागि पुग्ने गरि !!!
त्यसपछि मैले जस्तै कुनै नारीले डराउन नपरोस्
बाबाको स्नेहसँग
हजुरको आशीर्वादसँग
अंकलको मायासँग
गुरुहरुको आशीर्वचनसँग
आफ्नै घरको गल्लीसँग
आफ्नै स्कुलको कोठासँग !!!

प्रियंका पराजुली
काँडाघारी, काठमाडौं 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com