म पाप गर्न तयार छु '

सिर्जना बस्नेत,

आज भन्दा दश वर्ष अगाडी मैले अन्जानमै ठिक गल्ती गरेछु । बढ्दो उमेरसँगै शारीरिक परिवर्तन देखिन थालेको थियो । शरीरमा आएको परिवर्तनले दिमागमा प्रश्नहरुको फ्याक्ट्री बनाएको हुन्थ्यो । अरु साथीहरु आमाको काखमा प्रश्नको पोका बिसाउँथे । तर मसँग त्यो न्यानो काख थिएन ।

बाल्यअवस्था पार गरेर किशोर अवस्थामा पुग्दा आफ्नै शरीर छुट्टै लाग्दै थियो । पहिला नाङ्गै कुलोमा पौडिने केटी पछ्यौरा बाँधेर नुहाउन थालेको थिएँ । म क्षेत्री समुदायको छोरी । मेरा सबै साथीहरु जनजाती थिए । धेरै जना साथीहरु महिलो चोटी महिनावारी भैसकेका थिए । उनीहरुलाई जस्तो सजिलो थिएन मेरो लागि ।

म पहिलो पटक महिनावारी हुँदा घर छाडेर अरुको घरमा बस्नु पर्ने कडा नियम थियो । जनजाती साथीहरु कहिले महिनावारी हुन्छन कसैलाई थाहा हुदैनथ्यो । क्षेत्री ब्राह्मण साथीहरु महिनावारी हुँदा सबैलाई थाहा हून्थ्यो । स्कुलमा पढ्न जान समेत बन्देज लगाइन्थ्यो । स्कुलको सर मिसहरुले समेत थाहा पाउँथे यो महिनावारी भएकी छ भनेर ।

जब म चौंध वर्षकी थिएँ । मेरो योनिबाट पनि रगत बग्यो । सुरुमा निक्कै आत्तिएँ । घरमा बुबा र हजुरआमा मात्र हुनुहुन्थ्यो । हजुरआमाले आँखा देख्न छाडिसक्नु भएको थियो । घरको भान्छादेखि कुल पुजाको थाली समेत मैले सम्हाल्नु पथ्र्यो । पहिलो पटक महिनावारी हुँदा खासै पेट पनि दुखेन । शरीरको पीडा भन्दा मनमा नमिठो घाउ बन्यो । म घर छाडेर अरुको घरमा हप्तौँसम्म बस्दा बुढी आँखा नदेख्ने हजुरआमालाई कसले खान देला भन्ने ?

ठेकेदार बुबा घरमा पनि किस्ता बन्दीमा मात्र आउनु हुन्थ्यो । नब्बे वर्षकी हजुआमालाई छाडेर महिनावारी बार्नुको के अर्थ भित्री मनबाट आवाज आयो । एकातिर बुढी हजुरआमालाई सेवा गरे धर्म हुने आशा थियो । अर्काे तिर महिनावारी नबारे पाप लाग्ने डर थियो । मनमा चलेको हुरीले दिमागमा पत्थर बनाएको थियो । म केही निर्णय गर्न सकेको थिइन । मैले सबै कुरा भन्दा मेरी हजुरमामाले मैले छोएको पानी समेत खानु हुन्न भन्ने मलाई थाहा थियो । नभनी खुवाउँदा मलाई कति पाप लाग्ला दुबिधा थियो ममा । मेरो आँखाबाट आँशु र योनिबाट रतग बगि नै रह्यो तर म केही निर्णय गर्न नसक्ने अचल भए ।

अन्तिममा म पाप ब्यरोर्न तयार भए । हजुरआमाको पुरानो फरियाको फेर च्यातेर कट्टु भित्र लगाए । मनमा जति प्रश्नको हुन्डरी चल्थ्यो त्यसको असर रगतमा देखा परे जस्तो लाग्थ्यो । त्यस बेला अब के होला भन्ने डर अनि जिज्ञासाको खात थियो मनमा । कसलाई सुनाउनु आफू महिनावारी भएको कुरा । मिल्ने साथीलाई सुनाए पछि मनमा खिल गढेर बसेको काँडा निकाले जस्तै भयो । उनले सबैलाई यस्तै हुन्छ आत्तिनु पर्दैन भनिन् ।

त्यो भन्दा ठुलो कुरा म अपराधी हैन भनेर मेरो समर्थन गरिन । त्यस दिन देखि मैले महिनै पिच्छे पाप गर्दै गए । पहिलो पटक महिनावारी हुँदा हजुरआमा र म मात्र थियौं । जब दोस्रो पटक फेरी म बिटुलो भए त्यस बेला बुबा पनि घरमै हुनुहुन्थ्यो । महिनावारी हुदाँ बुबाको मुख समेत हेर्नु हुदैन भनेको सनेको थिए । त्यो दिन म महिनावारी भए पछि पहिलो चोटी उँहासँग भेट भयो । त्यही बेला फेरी म दोस्रो पाप गर्न जाँदै थिए । आफैले पकाएको खाना बुबाले खाइरहदाँ मनमा एक किसिमको डर लाग्यो । ‘मैले पकाएको खाना खाँदा कतै मेरो बुबा मर्नु त हुन्न ?’ रातभरी डराएर रुँदा सिरानी भिजेछ । फेर्ने थाङ्नो नफेर्दा सुरुवाल भिजेछ । त्यस दिन देखी गरेको पाप महिनौँ हुदै वर्ष सम्म दोहोरिदै छ ।

नब्बे वर्षकी हजुआमालाई छाडेर महिनावारी बार्नुको के अर्थ भित्री मनबाट आवाज आयो । एकातिर बुढी हजुरआमालाई सेवा गरे धर्म हुने आशा थियो । अर्काे तिर महिनावारी नबारे पाप लाग्ने डर थियो । म केही निर्णय गर्न सकेको थिइन । अन्तिममा म पाप ब्यरोर्न तयार भए । हजुरआमाको पुरानो फरियाको फेर च्यातेर कट्टु भित्र लगाए । मनमा जति प्रश्नको हुन्डरी चल्थ्यो त्यसको असर रगतमा देखा परे जस्तो लाग्थ्यो ।

मेरो मनमा मैले पाप गरे भन्ने भ्रम हट्न महिनावारी भएको वर्षौ सम्म पनि सकेन । किन कि मलाई सिकाएको पाठ नै त्यही थियो । महिलाहरुमा हुने नियमित प्रत्रिलयालाई पाप ठानेर मानसिक यातना भोग्नुको अनुभव म सँग कैद भएर बसेको छ । वर्षौ पछि हजुरआमाले थाहाँ पाउँदा ‘पञ्चमी नुहाएर पाप कटा’ भन्नु भयो । मैले मुस्कुराउदै भने ‘त्यो दिन देखी पाप नगरेको भए प्रत्येक महिनाको चार दिन तपाई भोकै पर्नु हुन्थ्यो’ आमाले केही बोल्नु भएन । जब म पापको भ्रमबाट मुक्त भए त्यो पाप गरेर ठिक गरे जस्तो लाग्यो ।

म जस्ता कत्तिले महिनावारीलाई पाप ठानेका छन भन्ने कुरा पञ्चमी नुहाउन जाने दिदीबहिनीहरुको लर्काे हेर्दा थाहा हुन्छ । अहिले पनि महिनावारीको बारेमा खुलेर कुरा गर्न हिचकिचाइन्छ । किशोर अवस्थाका किशोरी छोरीलाई महिनावारी बार्न सिकाउने आमाले सरसफाईको बारे कत्ति भन्छिन । महिला भएको कारण हुने नियमित शारीरिक प्रक्रियालाई पापको उपनाम दिइन्छ । महिलाको त्यही पापको कारण सृष्टिको रचना भएको हो ।

अझै पनि प्रत्येक स्कुलमा प्राथमिक उपचारको औषधी बाकसमा प्याड छुटेको हुन्छ । स्कुलमा महिनावारी हुदाँ प्याड नभएकै कारण पढाई छाडेर घर जानु पर्ने विद्यार्थी र मिस दुबैले भोग्नु परेको समस्या हो । तर त्यो समस्यालाई समस्याको लिस्टमै राखिदैन । अहिले पनि महिनावारी हुँदा भान्छा कोठामा छिर्न बन्देज लगाइन्छ । खेतबारीको कठिन काम भने सँधै खुला हुन्छ । दिनभरी कार्यलयमा काम गरेर घर फर्केकी छोरीलाई पानी प्यास लाग्दा भान्छा कोठामा पस्न सक्दिन । किन कि पाप लाग्छ भन्ने भ्रमले जरा गाढेको छ ।

अहिले सामाजिक संजालमा निकै चर्चा भएको अक्षर कुमार अभिनीत फिल्म‘ प्याडम्यान’ प्रमोसनमा भारतीय कलाकारले हातहातमा प्याड बोकेको फोटो पोष्ट गरेको देखिन्छ । अनि म मेडिकलमा प्याड किन्न जाँदा पसलमा केटा मान्छे हुँदा किन्न नसकेर फर्केको दिन याद गर्दछु । व्यापारीले पनि पत्रिकामा पोको पारेर कसैले नदेख्ने गरी हतार हतार दिन्छ । सानी बहिनी प्याड किन्न जाँदा सानो स्वरले बोल्छे । यसैले प्रमाणित गर्दछ हामी कहाँ छौ भनेर ।

मेरी फुपुले अहिलेसम्म प्याड कसरी प्रयोग गर्ने भनेर जान्नु भएको छैन । म स्कुल पढ्दा सरले प्रजनन् स्वास्थ्य पढाउँदा लाजले सिर निहुराएर बस्थें । सर छिटो पाठ सक्न चाहन्थें । अझै पनि फोहोर टालोलाई पोको पारेर रगत बगेको योनीमा घुसारिन्छ । प्राथमिक उपचार सिकाउने कक्षामा प्याड प्रयोग गर्न छुटाइन्छ । भुकम्प पछिको राहतमा धेरै संघ संस्थाले प्याड समेत वितरण गरे । तर त्यसको प्रयोग गर्ने तरिका नसिकाउँदा श्रीमानलाई पसिना पुछ्ने रुमाल भन्दै गोजीमा थमाइदिएको उदाहरण देख्न पाइयो ।

मैले महिनावरी नबारेको कारण पाप नै गरेको रहेछु भने पनि मलाई त्यो पापमा सन्तुष्टि छ । पाप र धर्मको लेखा जोखा राख्ने ठेक्काको टेन्डर कसलाई परेको छ त्यो पनि मलाई थाहा छैन । लेख्दा सामान्य जस्तो लागे पछि महिनावारीको बेलामा हुने पीडा भन्दा सयौ गुणा मानसिक पीडाको शिकार हुन्छन महिलाहरु । छाउ गोठमा यति जनाको मृत्यु भयो भन्ने तथ्याङ्क धेरैसँग होला । तर म जस्तै धेरैले महिनावारीकै कारण मानसिक यातना भोग्नु परेको तथ्याङक सकैले आँकडा गर्न सकेको छैन ।_स्रोत-महिला खबर:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com