अम्बिका कार्कीका ५ मुक्तकहरू
१,
कोही बनाउदैछन् घर वालुवाबाट ।
कोही बढाउदैछन् डर पालुवाबाट।
न सुरक्षा छ न केही ग्यारेन्टी आशाका
निस्कन कठिन छ अधर्मी कुवाबाट ।
२,
झम्के साझँमा तिमी कुर्दै बस्नुको मज्जा बेग्लै ।
झम्के साझमै अंगालोमा कस्नुको मज्जा बेग्लै ।
लैला मज्नु , मुना मदन, चखेवा चखेवीका
कहानी तोड्न हामी कोठा पस्नुको मज्जा बेग्लै ।
३,
न्यायका निम्ति लड्नेहरू साना बने यहाँ ।
कुकृति फाल्न बढ्नेहरू साना बने यहाँ ।
बेइमानीले खायो देशै बाच्न मुश्किल भो
इमान्दारीमा गड्नेहरू साना बने यहाँ ।
४,
यहाँ बिश्वासमा गद्दार जन्मेकाछन् ।
यहाँ बिश्वासका हक्दार जन्मेकाछन् ।
जमाना भरोशाको भएन साथी हो
पिरतीको पनि ठेक्दार जन्मेकाछन् ।
५,
किन दुख्छ मुटु भन्थें तिमी दूर हुन रैछ
किन आँखा हल्ल्यो भन्थें तिमी सम्झी रुन रैछ।
टोलाएर एकान्तमा तिमीलाई खोज्दा तनले
कल्पनामै लोलाएछु सपनीमा छुन रैछ।
अम्बिका कार्की अमु
सर्लाही वाग्मती नपा
हाल भरतपुर चितवन