आठ बर्षमा पाँचसय महिला हिँसाका घटना

रुजु खतिवडा,

पाँचथर । जिल्लामा सञ्चालन गरिएको जिल्ला सेवा केन्द्रले पाँच सय भन्दा बढी हिंसा पीडित महिलालाई आश्रय दिइएको छ । घरेलु हिंसाबाट प्रभावित महिलाहरुका लागि अल्पकालिन आश्रय सहितको जिल्ला सेवा केन्द्रले आठ वर्षको अवधिमा पाँचथरमा ५ सय ५९ जना हिंसा पीडित महिलाले आश्रय लिएको बताएको छ ।

केन्द्रको तथ्याङक अनुसार आर्थिक वर्ष २०७४ को असोजसम्म कुटपिटका एक सय ७२, गाली गलौज २४, यौजजन्य दुव्र्यवहार ६६, आर्थिक हिंसाका १०, जवरजस्ती करणी उद्योग र घरेलु हिंसाका २ सय ८६ र अन्य १६ गरी ५ सय ५९ जना महिलाहरुका घटनाहरु दर्ता भएको सेवा केन्द्रकी प्रमुख यमुना लामिछानेले बताइन् ।

जसअन्तर्गत प्रहरीबाट ६०, स्वास्थ्य संस्थाहरुबाट २५, स्थानीय निकायहरुबाट ३७, सेवा केन्द्र र उपकेन्द्रमा ४ सय र अन्य विभिन्न संघ संस्थाहरुबाट रिफर भएका ३७ मुद्धाहरु केन्द्रमा दर्ता भएको केन्द्र प्रमुख लामिछानेको भनाई छ ।

नेपाल सरकारको सहयोग, महिला तथा बालबालिका कार्यालयको अग्रसरतामा पाँचथर जिल्लामा लव्रेकुटी महिला सहकारी संस्थाले घरेलु हिंसावाट प्रभावित महिलाहरुका लागि अल्पकालिन आश्रय सहितको जिल्ला सेवा केन्द्र र अन्य ७ वटा स्थानमा उपकेन्द्रहरु स्थापना गरेको छ ।

केन्द्र तथा उपकेन्द्रले हिंसा पीडित महिलाहरुको क्षेत्रमा कार्य गर्दै आएको महिला विकास कार्यालयका प्रमुख निर्मला दाहालले बताइन् ।

उनले जिल्लामा घरेलु हिंसाका घटनाको तथ्यांक चिन्ताजनक भएको भन्दै यसको न्युनिकरणमा सबै सरोकारवालाहरुको ध्यान जानुपर्ने बताइन् ।_महिलाखाबर:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com