कविता “भान्सा तयार भयो”
इन्जिनियर राकेश कार्की
लस एन्जेलस
”भान्सा तयार भयो”
आमाले बोलाउनु भयो
बुवा तल झर्नुभयो
दाजुभाइ दिदीबैनी
वरिपरि ६ वटा पिरा
चुल्होमा आमा बस्नुभएको पिरा
पिराको छेउमा
उमेर अनुसार
सानो देखि ठूलो अम्खोरा
आमा पस्कनुहुन्थ्यो
हामी खान्थ्यौ
आमाको माया ।
एक हप्तापछि
”भान्सा तयार भयो”
आमाले बोलाउनु भयो
भान्सा कोठा भित्र
सधैँ झैँ आमा चुल्होमा
दाजुभाइ दिदीबैनी र म
वरिपरि पिरामा बसेको
बुवाको ठाउँ खाली थियो
पिरा ओछ्याइएको थिएन
सानी बैनीले सोधी
“बुवा कहिले आउने आमा?”
सानो भाइले भन्यो
“आमा, म बुवासंगै बसेर खाने“
दाजु, दिदी र मैले पनि
बुवा भान्सा गर्ने
तर अहिले खाली त्यो ठाउँ
हेरिरह्यौँ
बुवालाई सम्झेर
सारीको सप्काले आमाले
आँखा सुटुक्क पुछ्नु भयो
वाध्यताको बिछोडले
मन रोएर
बुवा कमाउन जानु भएको थियो
पर धेरै पर
कतारमा
भान्साको कुनोमा
बुवाको ठूलो पिरा
ठड्याएर राखेको थियो