धर्म संस्कृतिको नाममा महिला विभेद

रीता साह
काठमाडौं । केही दिन अघि मात्र जितिया व्रत सम्पन्न भएको छ । जितिया व्रत मधेशमा बढी चलन चल्तीको व्रत हो । विशेष गरी महिलाहरुले आफनो सन्तानको दीर्घायु र पितृको मोक्षको लागि यो व्रत लिन्छन् । छोरा प्राप्तीको कामना सहित पनि कतिपय महिलाले यो व्रत लिने गर्छन् ।

जितियाको व्रत कठोर र कठिन हुने गर्छ । जितियामा मुल व्रतको अघिल्लो दिन व्रतालु महिला नजिकको पोखरी वा तलाउमा नुहाएर खली र तेल सहितको सामाग्रीको पूजा गरेर पितृलाई सम्झने गर्छन् । त्यसपछि व्रतालु महिलाले त्यसै रात दहि च्युरा प्रसादीको रुपमा चढाउने गर्छन् । त्यही दही च्युरा प्रसादीको रुपमा खाएको भरमा दोस्रो दिन व्रत बस्ने चलन छ ।

यो व्रतमा पानी पनि खानु हुँदैन भन्छन् । व्रतको भोली पल्ट प्रायःविहानै पारन लाग्दछ । पारन लागेपछि मात्र जितिया व्रत पुरा भएको मानिन्छ । कहिले काहिँ वेलुका मात्र पारन लाग्ने हुन्छ । पारन लागेपछि मात्र व्रतालु महिलाले सामान्य खानाखाने चलन छ । पारन लाग्ने समय पण्डितले पात्रो हेरेर तय गर्छन् । यदि वेलुका पारन लाग्यो भने व्रतालुुले बेलुकासम्मै भोकै बस्नु पर्नेहुन्छ । त्यसकारण जितियालाई कठोर व्रत मानिन्छ ।

मैथिल भाषाको एउटा उखानले पनि यसको कठोरता पुष्टि गर्छन् ‘जितिया पावैन बड भारी, धियापुता क ठइक सुताबै अपना खाइभइर थारी ।’ यस उखानको तात्पर्य यो हो कि जितिया व्रत कठोर हुने भएकोले व्रतालु महिलाहरुले आफ्ना बालबच्चाहरुलाई फकाएर सुताई सकेपछि आफु टन्नै खाने गर्छन् रे । यसलाई हास्यब्यगंको रुपमा पनि लिने गरिन्छ ।

जितियाको व्रतको कारण महिलाहरुले धेरै सास्ती भोग्ने गर्छन । व्रतको दिन कतिपय महिलाहरु बेहोस हुने, बिरामी पर्ने गर्छन् । कहिलेकाँही ब्रतालु महिलाको मृत्यु पनि हुने गरेको सुनिन्छ ।

दुईबर्ष अघि सप्तरीमा यस्तै एउटा घटना भएको थियो । दुई दिनको जितिया व्रत लागेको बेलामा खाना नखाएकी एक व्रतालु महिलाको मृत्यू भएको थियो ।

यसैबर्ष जितियाको दिन मेरो छिमेकीले म कहाँ दही, च्युराको प्रसाद लिएर आइन् । उनले मलाई जितिया किन नगरेको ? यो व्रत बस्दा कसरी परिवारको भलो हुन्छ भन्दै लामो लेक्चर दिईन् । मैले उनको कुरा सुनी मात्र रहेँ, केही नबोली हाँसी मात्रै रहेँ ।

एकछिन पछि मैले सोधें, तपाईँलाई व्रत बस्दा स्वास्थ्यमा समस्या हुँदैन ? ब्रत बसेको बेला तपाईको घरको काम कसले गरिदिन्छ ?

लामो सुस्केरा लिँदै भनिन्– कसले गर्नु, म आफैँ गर्छु । मेरो श्रीमान् र छोराले त आफैँले लिएर एक गिलास पानी समेत खाँदैनन् । अरु त के गर्नु ? व्रत बसेको दिन पनि सबै काम सकि नसकि मैले नै गर्नु पर्छ । श्रीमान्लाई सहयोग गर्नभन्दा उहाँले भन्नुहुन्छ, के मलाई मौगियाहा (जोइटिगे्रँ) बनाउने ? त्यसपछि म चुप लाग्छु र सकीनसकी सबै काम आफैँ गर्छु ।

मधेसी समाजमा मौगियाहा शब्दको प्रयोग लोग्ने मानिसलाई गिज्याउनको लागि प्रयोग गरिन्छ । मौगियाहा त्यस्तो पुरुषलाई भनिन्छ जो आफ्नो श्रीमतीलाई भान्सामा सघाउने, लुगाधुनेमा सघाउने गर्छन् ।

महिलाले गर्ने काम कुनै पुरुषले गर्छन् भने त्यस्तोलाई मौगियाहा भन्ने चलन छ । मेरो छिमेकीको श्रीमान् पढेलेखेको सरकारी जागिरे हुनुहुन्छ । शहरमा बस्ने एक शिक्षित व्यक्तिको सोच यस्तो संकुचित हुन्छ भने गाउँको अशिक्षितहरुको सोच कस्तो होला ? जुन श्रीमतीले उहाँकै लामो आयु र सुस्वास्थ्यको लागि व्रत बस्छिन् । उसैलाई काममा सघाउनु आफुलाई मौगियाहा ठान्ने सोच अझै पनि विद्यमान छ ।

यो मौगियाहा भन्ने शब्दले पुरुषत्वलाई इगिंत गर्छ । गाउँ घरतिर यदि कसैलाई मौगियाहा भनियो भने उसले हिनताबोध महशुस गर्छन् । अर्थात् आईमाईले गर्ने काम तल्लो स्तरको हुन्छ र यस्तो कार्य पुरुषले गर्नै हुँदैन भन्ने सोचाई छ । यस्तो प्रवृति र सोच कहाँबाट आएको होला ? यसबारे छलफल, बहस र विश्लेषण हुनु आवश्यक छ ।

त्यसतै म सानो छँदाको दिनहरु सम्झन्छु । गाउँको एकजना काकीले हप्ताको तीन वटासम्म व्रत बस्नु हुन्थ्यो । उहाँको भनाई थियो, भगवान्को साधनाजति धेरै गर्न सक्यो त्यति धेरै सन्तानको प्रगति हुन्छन् रे । तर लामो समयपछि गत वर्ष गाउँ जाँदा ती काकीसँग भेटदा थाहा भयो, काकीका सन्तानहरुको प्रगति भएको थिएन । उल्टै निरन्तरको व्रतले उहाँको स्वास्थ्य अवस्था निकै नै कमजोर भईसकेको थियो ।

मैले उँहालाई यति कमजोर किन देखिनु भएको सोध्दा उहाँले धेरै व्रत बसेकोले अहिले ग्यााँस्ट्रिकको गम्भीर समस्या देखिएको भन्नुभयो । जुन श्रीमान् र छोराको प्रगतिको लागि व्रत बसेर स्वास्थ बिग्रियो तिनै छोराहरुले वेवास्ता गरेको काकीको गुनासो थियो ।

माथीका यीदुई घटनाहरु उदाहरण मात्रै हुन् । अझै पनि मधेशका गाउँघरमा व्रत र पुजा पाठको नाममा धेरै महिलाको स्वास्थ अवस्था विग्रेको देख्न सकिन्छ । कतिपयले धर्ममा विश्वास गरेर व्रत लिन्छन् भने कतिपयले देखासिकी गरेर । व्रतलिने र पुजापाठमा सामेल नहुँदा अरु महिलाबाट हेपिने डरले पनि यस्ता धार्मिक कार्यमा संलग्न हुने गर्छन् । साथै यस्ता कार्यहरुलाई गाउँका पुरोहित तथा पण्डितहरुले पनि महिलाहरुलाई उक्साउने गर्दछ । जसले गर्दा उनीहरुको रोजी रोटी चलिराखोस् । वास्तवमा यदि व्रत र पुजापाठको कारणले प्रगति र उन्नति हुने हो भने यी दायित्व महिलाको मात्रै हो कि पुरुषको पनि हो ?

यदि पुरुषको पनि हो भने पुरुषहरु त्यतिव्रत बसेको सुनिदैन । अधिकांश व्रतहरु महिलाको लागि नै चलन चलाएको देखिन्छ । जस्तै तीज राम्रो पति पाउन र पतिको सुस्वास्थ्यको लागि, ऋीपच्मी महिनावारीको पाप पखाल्न, जितिया छोराको दिर्घायुको लागि आदि । महिलाहरुको सुस्वास्थ, दीर्घायु र प्रगति नचाहिने रहेछ । अर्थात आफनो स्वास्थ बिगारेर भगवान्लाई रिझाउने जिम्मा महिलाकै काँधमा राखिएको देखिन्छ । यस्तो किन भएको होला ?

हाम्रो समाज पितृसत्तात्मक संरचनामा आधारित समाज हो । जहाँ महिलाले गर्ने कार्यको छिनोफानो समाजले नै तय गर्छन् र त्यस्तो कार्य महिलाले सकि नसकि गर्नुपर्ने बाध्यता हुन्छ । पितृसत्तालाई पक्षपोषण गर्नको लागी धर्म र संस्कृतिको आड पनि लिने गरिन्छ । धर्म र संस्कृतिको आडमा महिला माथी नियन्त्रण कायम गरिन्छ । धर्मले महिलालाई पतिको सेवा गर्न, उसको सुस्वास्थ्यको कामना गर्ने दायित्व महिला माथी नै थोपरिएको हुन्छ । जस्को पक्षपोषण महिला स्वयंले नजानिदो तरिकाले गरिआएका छन् । वर्षौँदेखि धर्म र संस्कृतिको नाममा विद्यमान रहेको कुरिती हटाउने आँट हतपती कसैले गर्दैनन् ।

किनभने यसलाई स्वर्ग नर्क, पूण्य पाप, मोक्ष प्राप्तीजस्ता अन्घविश्वाससँग जोडेर हेर्ने गरिन्छ । यसले गर्दा कसैले पनि पापको भारी बोक्न चाहँदैन । यदि कसैले यस्तो कुरितीहरुको बिरोध गर्छ भने त्यस्तालाई कुसंस्कारी भन्दै नराम्रो दृष्टिकोणले हेर्ने चलन छ । जुन महिलाजति पुजा पाठ र व्रत बस्ने गर्छन् त्यसलाई त्यति धेरै संस्कारी मानिन्छ । अर्थात् पितृसत्तालाई जसले जति भरथेग गर्छ त्यसको समाजमा त्यति धेरै मान प्रतिष्ठा हुन्छ । अझै पनि समाजमा रहेका यस्ता कुरितीहरुलाई चुनौती दिने आँट धेरैले गर्दैनन् । तर पछिल्लो समयमा केही महिला अधिकारकर्मी तथा नयाँ पुस्ताले यस्ता धार्मिक परम्परालाई तोड्दै आइरहेको छ । तर यस्तो जमात शहरमा मात्र छन् । गाउँमा अझै पनि धार्मिक पाखण्डहरुकै बिगबिगी छन् ।

व्रत बस्नु वा निराहार हुनु नराम्रो होइन् तर व्रतको नाममा महिला स्वास्थ्यलाई हानी पुर्याउनु कदापि राम्रो होइन् । आजकल मधेसको गाउँ घरमा धर्मको नाममा धेरै धार्मिक दलालहरुले ठग्ने गर्छन् । नयाँ नयाँ धर्मको प्रचार प्रसार गर्ने, पुजा लगाउने र दान दक्षिणाको नाममा पैसा कमाउने धन्धा नै बनाएको छ । गाऊँघरका सोझा साझा महिलाहरुलाई धर्मको नाममा ठग्ने काम बढेको छ ।_स्रोत-महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com