कविता ' सोध्न मन छ मलाई '


कविता ' सोध्न मन छ मलाई '

म त्यही नै हुं गर्भैमा भ्रूणलाई
विज्ञानको प्रविधीद्वारा केलाउदै फ्याँकिने ।हो म त्यही हुँ।

               अनि

त्यही हुँ म गर्भ भित्रैबाट
सबैका मनमा खिन्नता भरिदिने ।
एक्काइसौं शताब्दीमा आइपुग्दा समेत
मलमूत्र खुवाँउदै म भित्रको
त्यो ढुकढुकी चल्ने वायुलाई
सौर्यमण्डलमा मिसाइने म त्यही हुँ।

                     हो

त्यही हुँ म ।
 विभिन्न युगको परिवर्तन संगै
ब्रह्मा,विष्णु ,महेश्वर र कृष्णकै
पाला देखि अस्मिता शोषिएकी
अनि मेरा कोमल भावनासंग
खेलवाड गर्दै कहिले मुम्बैको कोठी
कहिले पार्कहरूमा र कहिले धनाढ्यमा
दिन दहाडै मूल्य तोकिने म त्यही  हुँ ।
हो म त्यही हुँ र मेरो नाम नारी हो।

              सोध्न मन छ मलाई

विज्ञानको आविष्कारले समेत
निको नहुने रोगले मान्छे पलपलमा
मरिरहेका बेला तन्त्र मन्त्रमा
पछि लाग्ने यो समाजलाई सोध्न मन छ मलाई।
नारी पुरूषको विभेद तैले ल्याइस या विज्ञानले ?

                 बाँकी छ ।

अझै सोध्नु छ मलाई त्यो कानुनसंग
म हिजो पनि कठपुतली बने ।
आज पनि बाहिर निस्किन सकिन ।
बनेका ती कानुनका ठेली त मात्र
किताबी पाना भएछन् ।
उन्माद भएका माफियाको
रक्षक मात्र भएछन् ।
फेरि तँ आफै भनी दे
नारी पुरूष वीचको बिभेदको अन्त्य
कहिले हुन्छ?
म यो दोष कस्लाई दिउँ ?
तलाई कि सरकारलाई?

                   सायद

म विकसित मुलुकको नारी हुन
मेरो भाग्यमा थिएन।
म यही हिमालकी छोरी हुनाले त  बाध्य छु आफ्नै बिम्ब लिएर अधकल्चो निदाउन ।
हो बाध्य छु लाचार हुँदै यी दृश्य हेर्न ।
आज सोध्न मन भो मलाई तिमीसंग
यो दोष म कस्लाई थुपारूँ ?
जन्मभूमि या भाग्यलाई?

अम्बिका कार्की अमु
सर्लाही बागमती नपा
हाल चितवन भरतपुर

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com