मानव बेचविखन : तथ्याङ्कमा घट्यो, समस्या घटेन

सिन्धुपाल्चोक भदौ ३,

सिन्धुपाल्चोक महिला हिंसा र मानव बेचविखनबाट महिला अत्यन्त प्रभावित भनिएर चिनिएको जिल्ला हो । पछिल्ला तीन वर्षमा भने यो अवस्थामा उल्लेख्य कमी आएको तथ्याङ्कले देखाउँछ ।

तर, कतिपय यस क्षेत्रका अभियन्ताले घटना दर्तामा मात्र कमी आएको तथ्याङ्क अनुरुप वेचविखन र हिंसाका घटनामा कमी नआएको आवाज उठाउँदै आएका छन् । जिल्लामा महिला माथि भएको हिंसाका घटना प्रहरी कार्यालयमा घटना दर्ता भएपछि मात्र बाहिर आउने गर्छ । तसर्थ तथ्याङ्कमा वेचविखनमा कमी आएको देखिएको हो ।

जिल्लाको एक दशकको तथ्याङ्कले २८ वटा वेचविखनको घटना उजुरीमा आएको देखाउँछ । यि सबै दर्ता भएको मुद्दा फैसला समेत भयो । जिल्लाका तत्कालिन न्यायाधीश अनन्तराज डुम्रेको इजलासले मानव वेचविखनमा दोषी ठहरिएका बजिरसिंह तामाङलाई १ सय ७० वर्ष जेल सजाय र ९लाख रुपैयाँ क्षतिपुर्तिको फैसला समेत गर्नुभएको थियो । त्यसयता भने तथ्याङ्कमा बेचविखनका घटना कमी भएको देखिएको हो ।

जिल्लामा वेचविखनको घटना विक्रम संवत २००० सालदेखि नै दर्ता भएको रेकर्ड छ । जिल्ला अदालतको मुद्दाको मिसिल अनुसार प्रतिवादी कुसुमकुमारीलाई ‘आइमाई’ बेचेको अभियोग लगाइएको थियो । सो मुद्दा वि. सं २००० कै भदौ महिनामा फैसला भएको उल्लेख छ । तर सजाय के भयो भन्ने उल्लेख गरिएको मिसिल भने बुझिने छैन ।

बेचविखनको इतिहास लामो भए पनि २०५० देखि २०६० सालको दशकमा बढी मुद्दा दर्ता भएका छन् । २०६० को आसपास फैसला बढी भएको छ । तर, ०७२ सालमा यो मुद्दा दर्ता शून्यमा रहेको छ । दश वर्षको जिल्ला अदालतको तथ्याङ्क हेर्दा आर्थिक वर्ष ०६४÷०६५ मा १ मुद्दा दाखिला गरिएको छ । यसको दुई वर्षमा ५ मुद्दा थपिएका छन् । आर्थिक वर्ष ०७०÷०७१ मा ७ मुद्दा फैसला भयो भने बाँकी २ मुद्दा ०७१÷०७२ मा फैसला भएको छ । यसपछि कुनैपनि वेचविखनको मुद्दा दर्तामा छैनन् ।

तथ्याङ्कले वेचविखन शून्य बताए पनि जिल्लामा यसको अवशेष बाँकी रहेको हिला अधिकारकर्मीको आवाज छ । मानव वेचविखनको घटना शून्य देखिए पनि स्वरुप र शैली परिवर्तन भएको कतिपयको बुझाई छ । पहिले भारतका विभिन्न स्थानमा नेपाली महिलाहरु बेचिन पुग्थे भने अहिले वैदेशिक रोजगारीको नाममा बेचिने गरेको अधिकारकर्मीहरुको तर्क छ ।

नागरिकहरुमा चेतनाको स्तर वृद्धि हुनु र नाकाहरुमा कडा सुरक्षा जाँच हुनाले पनि घटनामा कमी आएको मान्न सकिन्छ । नेपालका सीमा नाकाबाट सिन्धुचेलीहरु फर्काईएका थुप्रै समाचार आउने गरेका छन् । तर, ती चेलीहरु सीमानाबाट फर्किएपछि कहाँ र कसरी बसेका छन् त्यसको जानकारी कमै मात्र हुन्छ । ललाईफकाई सीमा पार गराउन खोज्नेको पहिचान समेत भएको पाईदैन ।

वैदेशिक रोजगारीका क्रममा हुने ठगी, एउटा काम भनी अर्को काममा पठाउने, तेस्रो मुलुक पु¥याउने लगायतका समस्याले पछिल्लो समय जिल्लालाई थप गाँजेको छ । पहिले नेपाली चेलीहरु भारतमा बेचिन्थे भने अहिने विभिन्न खाडी मुलुकमा विभिन्न समस्या भोग्न बाध्य बनाईएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविद्र केसीका अनुसार कतिपय पीडितहरुले स्वदेश फिर्ता भै सकेपछि उजुरी गर्छन् । कतिपय पीडितहरुको विदेश पठाउने एजेन्ट आफन्त भएकै कारण न उजुरी गर्छन् न त क्षतिपुर्तिको दावी नै गर्छन् ।

गरिवी, अशिक्षा, चेतना स्तर कम हुनु नै वेचविखनको प्रमुख कारण हो । यो सँगै सामाजिक विभेद, कुरीति, बेरोजगारी पनि यसका कारण हुन् । वैदेशिक रोजगारीको नाममा नेपाली महिलाहरु यौन व्यवसाय, यौन शोषण, जोखिमपुर्ण घरेलु श्रम, कम ज्यालामा काम गर्नुपर्ने अवस्थामा रहेको तथ्याङ्क सुरक्षित आप्रवासन परियोजनाको छ । तर, यस्ता समस्या भोगेका महिलाहरुको यकिन तथ्याङ्क पाउन मुस्किल छ ।

केही वर्षयता सिन्धुपाल्चोकमा बेचविखनको घटनामा कमी आएको भने पक्कै हो । तर समस्या निराकरण भएको भने छैन । जरो गाडेर बसेको हाम्रो समाजको विकृतीलाई उखेलेर फाल्नु हामी सबैको जिम्मेवारी हो । पहिलो त समाजमा रहेका कुरीति र कुसंस्कारलाई अन्त्य गरिनु जरुरी छ ।

मानव बेचविखन रोक्न ऐन, नियम, कानुन प्रर्याप्त छन् । यसको पूर्ण जानकारी र सहज न्यायिक प्रणाली बनार्ई पीडितलाई सामाजिक कलंकको रुपमा नलिई सहज न्याय दिने अर्को विकल्प हो । अब स्थानीय तहहरु स्थापित भइसकेका छन् । यहाँका जननिर्वाचित जनप्रतिनिधिले पनि यसको दीर्घकालिन समाधानको लागि रणनीति तय गर्नु जरुरी छ ।_source-mahila khabar;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com