महिनावारी, पूजासामग्री र सोचाइ

-लक्ष्मी बस्नेत

गत १७ जेठको राजधानी दैनिकमा एङ्कर समाचार छापियो महिला बस्ने पसलका पूजासामग्री अछुतो शीर्षकमा । एङ्कर समाचार पत्रिकाको महत्वपूर्ण  ठाउँ मान्ने गरिन्छ । बलराम प्यासीको बाइलाइनमा समाचार छापिएको थियो । पूजासामग्रीको पसलमा महिला बस्यो भने उनीहरू महिनावारी हुने भएकाले त्यहीबेला अछुतो भएको हुन सक्छ भनेर ग्राहकहरू जाँदैनन् भन्ने आशय थियो, त्यस समाचारको । केही महिनाअघि एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरलजस्तै भयो । ललितपुरको कुपण्डोलतिरको एउटा पूजा पसलले ‘महिनावारी भएका महिला नआउनुहोला अर्थात् सामग्री नछोइदिनुहोला’ भनेर लेखेरै टाँसेको थियो । त्यही तस्बिर सामाजिक सञ्जालहरूमा निकै सेयर र रि–ट्वीट भयो ।

हिजोआज यस्ता समाचारले मूलधारकै सञ्चारमाध्यममा प्राथमिकता पाउनु निकै गौरवको कुरा हो । जसले लुकाउनुपर्ने भनेर अहिलेसम्म भनिएको विषय बहसमा आउन थालेको छ । गत फागुनमा कान्तिपुर दैनिकको ‘कोसेली’ अंकमा ‘चुपचाप व्रिदोह’ शीर्षकको विनु सुवेदीको लेख छापिएको थियो । पहिलो महिनावारी अनुभूति, कठिन भोगाइ र पहिलो त्यस्तो बेला बार्नुपर्ने अवस्थाको कडा विद्रोह त्यसमा छर्लंग थियो ।

२८ मे अर्थात् दुई साताअघिको ‘महिनावारी स्वच्छता दिवस’ यो वर्ष निकै चर्चामा आयो । त्यस अवसर पारेर चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठलगायत पुरुषहरूले लगनखेल बसपार्कको सार्वजनिक शौचालयमा गएर सेनेटरी प्याड लगाएको र अनुभूति साटेकोदेखि अरू थुपै्र कार्यक्रमहरू भए । ‘महिनावारी भ्रम र वास्तविकता’, ‘महिनावारी: महिलाभन्दा धेरै बार्छन् पुरुष’, ‘प्याड किन्न छोरीलाई बुबाको एकहजार रुपैयाँ’, ‘सगरमाथाको चुचुरोतिर लाग्दा महिनावारी सुरु भयो कान्छीमाया तामाङलाई’ यी केही समाचार शीर्षकका उदाहरण हुन् ।

६ जेठमा तामाङ समुदायकी पहिलो महिला सगरमाथा आरोही कान्छीमाया तामाङले आफ्नो सफल आरोहणबारे आयोजित पत्रकार सम्मेलनमा बारम्बार भनिन् ‘कम्मर दुख्यो, खुट्टाको माथिल्लो भाग दुखेर फर्किन्छु’ भन्ने लागेको थियो । ‘सामान्यतयः हिमाल चढ्दा गाह्रो भइहाल्छ नि’ भन्ने धेरैको सामान्य बुझाइ भयो होला सायद । त्यसैले ‘किन दुख्यो त्यसरी रु’ भनेर उनलाई अरू कसैले प्रश्न सोधेनन् । मैले मेरो मनमा उब्जेको प्रश्नलाई राखिहालें, ‘तपाईंलाई महिनावारी भएको थियो कि ? ’ केही लजाएको जस्तो गरी तर हत्तारिएको शैलीमा उनले भनिन्, ‘हो नि’ † कम बोल्ने स्वभावकी उनले त्यत्तिमै जवाफ टुंग्याइन् । मैले अर्को प्रश्न थपें, ‘कहिले भएको थियो रु कति दिन भएको थियो रु’ कान्छीमायाबाट जवाफ आयो, ‘आधार शिविरबाट हिँडेपछि सुरु भएको हो । दोस्रो क्याम्पमा पुग्दासम्म माथि पुग्छु भन्ने लागेकै थिएन । कत्ति धेरै गाह्रो भएको थियो ।’

आयआर्जन नभएकी आमाले छोरीका लागि प्याड किन्ने पैसा तरकारी किन्नेबाट बचाएर दिनु नपरोस् । स्वयं छोरीले बुबास“ग ‘महिनावारी भएको छ, प्याड किन्न पैसा चाहियो’ भन्न सकून् । पहिलोपटक महिनावारी हुँदा  छोरी वा बहिनी कसैको घरमा गएको भए आफ्नै घरमा फर्काउनुपर्छ र सकेसम्म पठाउँदै नपठाउने वातावरण बनाउनुपर्छ ।

सगरमाथा आरोहणमा संलग्न उनीसँग टोलीका सदस्यहरू पुरुषै थिए । पत्रकार सम्मेलनमा पनि अधिकांश पुरुषहरू पत्रकारहरू नै थिए । कान्छीमाया तामाङलाई आफ्नो त्यस्तो अवस्था खुलस्त पार्न अप्ठेरो भइरहेको प्रस्टै बुझ्न सकिन्थ्यो । तर उनले फेरि भनिन्, ‘हामी महिलाहरूको समस्या नै त्यही हो तर हुन्छ भन्ने थाहा थियो, प्याडहरू बोकेको थिएँ ।’ तामाङ समुदायकी उनको घरमा महिनावारीको छोइछिटो हुँदैन । तर यसबारे खुलेर बोल्नुहुँदैन । यो भनेको लाजको विषय हो भन्ने चाहिँ मानसपटलमा गहिरोसँग छाप परेको छ । उनीसँग कुरा गरिरहँदा पनि उनले खुलेर कुरा गर्न निकै अप्ठ्यारो मानेकी थिइन् । त्यसैले आरोहण टोलीका गाइडलगायत पुरुष साथीसँग गाह्रो भयो मात्र भनिरहिन्, कारण खुलाइनन् । किन कि सानैदेखि सिकाइएको छ, ‘महिनावारी लाज हो ।’

उनीजस्ता धेरैलाई महिनावारी लुकाउने र कसैलाई भन्न नहुने कुरा हो भन्ने सिकाइएको छ । लाज र घृणाको विषय हो भनिएको छ । पहिलोपटक महिनावारी हुँदा कम्तीमा ७ देखि ११, १२ दिनसम्म दाजुभाइ, बुबादेखि घरसमेत हेर्न हुँदैन भन्ने हिन्दू अथवा भनौं क्षेत्री, ब्राह्मण र त्योसँग नजिक रहेर बसेको अरू जातजातिले जानेको कुरा हो । जुन अहिलेसम्म १० प्रतिशत पनि हट्न सकेको छैनभन्दा फरक पर्दैन । किनकि ठूलाठूला कार्यालयमा काम गर्नेदेखि लिएर पीएचडी वा मेडिकल डाक्टर अझ भनौं गाइनोकोलोजिस्टको प्रमाणपत्रधारीले पनि महिनावारीलाई चार–पाँच दिन छुन नहुने भन्ने रूपमै बुझेका छन् र आफू छुट्टै बस्छन् । छोरी, बुहारी, नातिनीहरूलाई पनि त्यही संस्कार सिकाउँछन् ।

‘मलाई टाउको दुखेको छ अथवा पखाला लागेर पेट दुखेको छ’ भनेजस्तै गरी ‘महिनावारी भएर पेट दुखेको वा गाह्रो भएको छ’ भनेर भनिहाल्ने अवस्था अझै बनेको छैन । त्यही भएर कान्छीमायाले गाह्रो भयो मात्र भनिरहिन् । तर अब उनका छोराछोरी पुस्ताले महिनावारी हँुदा भएको गाह्रोलाई खुट्टा दुख्यो वा टाउको दुख्यो भन्नु नपरोस् । त्यो पुस्ताले महिनावारी हुँदा गर्व गर्न सकून् । यो विषय यहाँ उठाइरहँदा पंक्तिकारले पनि महिनावारी हुँदा भएको गाह्रोलाई कान्छीमायाले जस्तै टाउको दुख्यो भन्नुपर्ने सामाजिक र पारिवारिक परिवेश जिउँदै छ । ‘तल्लो पेट दुखेको छ’ भनेर भन्न सकेको छैन । यसप्रतिको नकारात्मक धारणाकै कारण महिनावारी कहिलेसम्म हामी महिलाको समस्या भन्ने रु यो त महिला भएका कारण हुनुपर्ने प्राकृतिक कुरा हो निश्चित समयमा निश्चित उमेरसम्म भइरहन्छ र हुनु पनि पर्छ । तर यो बुझाइ कहिले सबैले ग्रहण गर्ने र व्यवहारमा उतार्ने रु अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेल र डा। अरुणा उपे्रती भन्छन्, ‘यसलाई अवसरका रूपमा लिऔं, गर्वको विषय बनाऔं ।’ घरकी छोरी पहिलोपटक महिनावारी हुँदा अहिलेसम्म मुख नहेर्ने बुबाहरूले ‘अब मेरी छोरी परिपक्व भइन्, उनलाई महिनावारी भएको छ’ भन्न सक्नुपर्छ । ‘महिनावारीको सरसफाइ र व्यवस्थापन कसरी गछ्र्यौ छोरी ?’ भनेर बुबा र घरका दाजुहरूले सोध्नुपर्छ । घरमा साबुन, स्याम्पु, सर्फ किनेर ल्याउँदा प्याड पनि अत्यावश्यक हो’ भनेर किनेर ल्याउने दिन आउनुपर्छ ।

आयआर्जन नभएकी आमाले छोरीका लागि प्याड किन्ने पैसा तरकारी किन्नेबाट बचाएर दिन नपरोस् । स्वयं छोरीले बुबासँग ‘महिनावारी भएको छ, प्याड किन्न पैसा चाहियो’ भन्न सकून् । पहिलोपटक महिनावारी हुँदा छोरी वा बहिनी कसैको घरमा गएको भए आफ्नै घरमा फर्काउनुपर्छ र सकेसम्म पठाउँदै नपठाउने वातावरण बनाउनुपर्छ । अन्तमा, हामी स्वयं महिलाहरूले पनि धर्म, संस्कृति र परम्परालाई सँधै जस्ताको तस्तै अघि बढाउने कि समयानुसार परिमार्जन गर्दै जाने ? यसतर्फ पनि सोचौं ।

स्रोतः राजधानी दैनिक

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com