पार्किन्सन रोगबारे जनचेतना बढाउने उदेश्यले मेची-महाकाली यात्रा सुरु

काँकडभिट्टा (झापा), ७ असार,

पार्किन्सन रोगको विषयमा जनचेतना बढाउने उद्देश्यले ‘गुफी’ नामले प्रख्यात नेपाली बाइक राइडर प्रमोद श्रेष्ठले सुदूरपूर्वी नाका काँकडभिट्टाबाट आज बिहान २४ घन्टे मेची–महाकाली बाइक यात्रा सुरु गरेका छन् ।  

बिहान ठीक ८ बजे काँकडभिट्टास्थित प्रवेशद्वारबाट श्रेष्ठले स्थानीयवासीले दिएको खादा र अबिर लगाएर यात्रा प्रारम्भ गरे । बाइकयात्री श्रेष्ठले अबिरल बाइक कुदाएर एक हजार २४ किमी दूरी २४ घन्टामा पार गरी भोलि बिहान ८ बजे महाकालीको गड्डाचौकी पुगेर यात्रा समापन गर्ने जानकारी दिए ।  

‘एमटुएम च्यालेन्ज’ नाम दिइएको यो यात्रामा श्रेष्ठले २२ वर्ष पुरानो आफ्नै रोयल एनफिल्ड मोटरसाइकल प्रयोग  गरेका छन् ।  यात्रामा पार्किन्सन रोगबाट ग्रसित भएर पनि यसको जनचेतना अभिवृद्धिमा अभियान सञ्चालन गरिरहेकी काठमाडौँकी ३० वर्षीया बनिता खनाल पनि छिन् ।

बूढेसकालमा लाग्ने भनिएको पार्किन्सन रोगको चेतनाको कमी भएको महसुुस गर्दै मेची–महाकाली बाइक यात्रामार्फत सबै नेपालीको ध्यान आकर्षित गर्न खोजिएको खनालले बताइन् ।  १९ वर्षको उमेरमा एकदिन लेख्न बस्दा हात नचलेपछि आफूलाई पहिलोपल्ट पार्किन्सनको असर थाहा भएको बनिताको भनाई छ । 

बनिताका अनुसार दिमागमा हुने डोपामिनको कमीले पार्किन्सन रोग लाग्छ । रोग लागेपछि शरीर काम्ने, जिउ धान्न नसक्ने, हिँड्न गाह्रो हुने, लेख्न गाह्रो हुने, प्यारालाइसिसजस्तो लक्षण देखापर्छ । यसको पूर्ण उपचार मेडिकल विज्ञानले पत्ता लगाइसकेको छैन । असर न्यूनीकरणका लागि औषधि सेवन तथा दिमागको शल्यक्रिया गरिने भएपनि हाल विश्वभरि पार्किन्सन चिन्ताको विषय बन्दै गएको छ । 

प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ, गायक अम्बर गुरुङ र मोहम्मद अली पनि यही रोगबाट पीडित थिए । राइडर प्रमोद श्रेष्ठले पार्किन्सन लागेकी बनिता खनालले फेसबुकमार्फत जनचेतना बढाइरहेको देखेपछि आफूले नै यस अभियानलाई सघाउन मेची–महाकाली बाइक यात्रा गर्न लागेको बताइन् । - रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com