८० बर्षीय हजुरआमाको समाज सेवा

काठमाडौं असार १५,

वर्षले ८० टेकिन्, लमजुङ बेसिशहर नगरपालिका ६ चनौटेकी गुणपति राउत । यो बुढेसकालमा उनको अहिले गाउँभरी चर्चा छ । गाउँमा खानेपानीको हाहाकार भएको बेला गुणपतिले गाउँलेलाई राहत दिएकी छन् ।
उनले झण्डै ९ लाख रुपैया बराबरको ३ आना जग्गा दान गरिन् । अहिले त्यही जग्गामा खानेपानी ट्याङ्की निर्माण भएको छ । खानेपानीबाट झण्डै ३ सय घरधुरी लाभान्वित भएका छन् । खानेपानीको उद्घाटन गर्दै उनले ‘सबैलाई धर्म होस्, जय जय होस् ’भन्दै गुणगान गाइन् । पानीको हाहाकार भएको बेला गाउँमा खानेपानीको लागि सहयोग गर्ने गुणपतिलाई सबैले धन्यवाद समेत दिए । उनले आफ्नो स्वर्गिय श्रीमान् धनबहादुरको सम्झनामा गाउँलेलाई सहयोग गरेका हुन् ।

गुणपति चार छोराहरुको साथमा बस्दै आएकी छिन् । बुढेसकालमा समाजसेवा गर्न पाउँदा उनी निकै खुसी छिन् । गाउँमा खानेपानीको लागि सहयोग गरेको भन्दै गाउँलेले उनलाई दोसल्ला र सम्मानपत्र ओढाए ।

उनी भन्छिन् –‘सबैलाई सहयोग गर्न पाउँ, सबै खुसी रहुँन यहि चाहन्छु ।’ उनी गाउँका सबैलाई भलो हुने काम गर्न सल्लाह दिन्छिन् ।

आठ दशक काटिसकेकी गुणपतिको दिनचर्या नातीनातिनी सँग भुल्दैमा जान्छ । यसभन्दा पहिले पनि गुणपतिले अन्य क्षेत्रमा समेत सहयोग गर्दै आएकी छिन् ।

उनले गाउँमा कालिका मन्दिर लगायत अन्य क्षेत्रमा समेत सहयोग गरेको स्थानीय कृष्ण आलेले बताए । गाउँमा खानेपानीको मर्मत संभार गर्दागर्दै काम नलाग्ने भएको थियो । बृद्धाको सहयोगले खानेपानीको निर्माण सगैँ अहिले सहज भएको उनको भनाई छ ।_महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com