काठमाडौँ बैशाख १९,
काठमाडौँ महानगरपालिका–३५, तीनकुनेमा सोमबार स्त्रीरोगसम्बन्धी बृहद् स्वास्थ्य शिविरको आयोजना गरियो।
स्थानीय एकीकृत उपभोक्ता समिति र सामुदायिक विकास समितिको संयुक्त पहलमा आयोजना गरिएको उक्त शिविर ट्रिटन कलेजको हातामा सञ्चालन गरिएको थियो।
उक्त शिविरबाट एकसय ५० भन्दा बढी महिला लाभान्वित भएका थिए। शिविरमा खासगरी पाठेघर, क्यान्सर, प्रसूतिलगायत बिरामीको विस्तृतरुपमा परीक्षण गरी निःशुल्क औषधिसमेत वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष मदन शिवाकोटीले जानकारी दिए।
शिविरमा काठमाडौँ मोडल अस्पतालबाट खटिएको विशेषज्ञसहितको टोलीले सेवा पुर्याएको थियो। शिविरमा क्यान्सरको मेमोग्राम, रगत, इसिजी, दिसापिसाब परीक्षणको समेत व्यवस्था गरिएको थियो। रासस: