बाटोमै जुम्ल्याहा बच्चा जन्माएकी सुर्माको ब्यथा

बाजुरा जेठ १५,

प्रेम बिक: रगतले लत्पतिएको साडी, बाँकीको कुनाकानीले बच्चा पुछिरहेकी थिइन् सुर्मा धामी ।  बाटोमै सुत्केरी भएकी उनी आकुल ब्याकुल थिइन् र ओठ सुकेका उत्तीसका पात जस्तै भएका थिए, एकदम पहेंलो र सुख्खा । कालो निलो अनुहार, पसिनै–पसिना भएका कृष्ण धामी सम्हालिरहेका थिए, बाटोमै सुत्केरी भएकी श्रीमती  । झुत्रो झोला पीठ्यूबाट बिसाउन पाएका थिएनन् । 

बिचबाटोम यस्तो विजोग देखेपछि घर वा स्वास्थ्यचौकी जानुको साटो बाटोमा सुत्केरी हुनुको  यथार्थ जान्न खोजियो । सुत्केरी सुर्माका श्रीमान् कृष्णले भने, ‘म अपाङ्ग छु । त्यसैले स्वास्थ्यचौकी लैजान दुईजना गाउँले दाजुभाइ पनि सँगै आएका थिए । उनलाई ब्यथाले बेस्सरी च्याप्यो । सुडेनी खोज्न पठाएको फर्केका छैनन् । यी सुत्केरी भइहालिन् ।’

तीन दिनअघि सुर्माले आफूलाई सञ्चो नभएको बताएपछि घरमै औषधिमूलो गर्न थाले कृष्ण ।  सुर्मालाई साह्रो हुँदै गयो । धेरै पेट दुख्न, सेतो पानी र रगत बग्न थालेपछि उनले दुईजना गाउँले जुटाएर स्वास्थ्यचौकी लैजान खोजेछन् । 

उकालो भीरको बाटो, उनलाई बोक्ने साधन नभएपछि विस्तारै हिँडन् थालिनछन् । बिहान ६ बजे हिँडेका उनीहरु ६ घण्टापछि बर्कु स्वास्थ्य चौकी पुगे । उनले भने, ‘स्वास्थ्य चौकी पुगेपछि अनमी सरिता चौधरीले चेक जाँच गरिन् । खाशै व्यथा नलागेको बताइन् ।’

त्यहाँकी अनमीले सुत्केरी हुने महिना साउनमा रहेको बताउँदै त्यति आत्तिनु नपर्ने बताइन् । तर, सुर्माको अवस्था गम्भीर भएकाले  प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी जाने सुर गरे । मान्छे जुटाउँदा केही समय लाग्यो । त्यसपछि बाटोमै सुत्केरी भइन् सुर्मा ।  

अनमी सरिता चौधरीका अनुसार सुर्मा स्वास्थ्यचौकी पुगेका समयमा पाठेघरको मुख पनि खुलेको थिएन । उनले भनिन्, ‘व्यथा नलागेकाले सुत्केरी गराउन नसकिने र थप उपचारका लागि कोल्टी लैजाउ भनेकी थिएँ ।’

४० वर्षकी सुर्मा धामीले हिँड्दा हिड्दै बाउनीको ओरालोको चौबाटामा पहिलो बच्चा पाइन् । त्यसकाे ५ घण्टापछि बल्ल भयो अर्को बच्चा । एउटाबच्चा जन्मिनेवित्तिकै बित्यो ।  भिरको बाटो । अँध्यारो रातमा उनीहरुले सहारा केही पाएनन् र बच्चा जोगाउन सकेनन् । अर्काे बच्चा कपडा पोको पारेर दोस्रो दिनमात्रै बर्कु स्वास्थ्य चौकी पुग्यो यो दम्पति। बर्कु स्वास्थ्यचौकीमा आमा र बच्चाको उपचार भइरहेको छ अहिले ।_स्वास्थ्य कबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com