एकल महिला: राहत न अनुदान

        ध्रुव लम्साल
पहुँच र प्रभावको अभावमा धादिङका एकल र वृद्ध महिलाले दुई वर्ष पुग्न लाग्दा पनि भूकम्पपीडितको परिचयपत्र पाएका छैनन् । परिचयपत्रको अभावमा राहत न अनुदानको अवस्थामा छन् उनीहरू ।

धादिङ । सलाङ छापगाउँ–२ की खड्गकुमारी योगी ६१ वर्षकी भइन् । १५ वर्षअघि गाडीको ठक्करले श्रीमान्को मृत्यु भएपछि एकल जीवन बिताउँदै आएकी खड्गकुमारीले जसोतसो ढुङ्गामाटोको एकतले घरमा जीवन बिताउँदै आएकी थिइन् । त्यही घर पनि विनाशकारी भूकम्पले भत्काइदियो ।

भूकम्पपछि गाउँलेसँगै टहरोमा बस्दै आएकी खड्गकुमारीले राहतस्वरूप तीन पाता जस्ता र एकबोरा चामल, पाँच प्याकेट चाउचाउ र एउटा त्रिपाल पाइन् ।
भूकम्प गएको केही दिनमै प्राविधिक टोली गाउँमा आए । तर, उनको आँगनमा कोही पनि आइपुगेन । ‘मेरो पनि कसैले नाम टिपाइदियो होला भन्ठानेँ । के गर्नु म बूढी भनेर होला नि, कोही पनि आएनन्,’ खड्गकुमारीले दुखेसो पोखिन् ।

केही दिनपछि अर्को खबर आयो, ‘अब भूकम्पपीडितले १५ हजार पाउने भए ।’ खड्गकुमारी पनि दिनभर पन्ध्र हजार लिन लाइन बसिन् । साँझतिर पैसा बाँड्न आउने मान्छेले भने, ‘तपार्इंको कार्ड छैन । पैसा पाउनुहुन्न ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला संयोजक स्थानीय लालबहादुर मगरसँग खड्गकुमारीले गुनासो गरेपछि उनले पनि जिल्लामा कुरा गर्ने बताएका थिए ।
नभन्दै पर्सिपल्ट लालबहादुर जिल्ला सदरमुकाम धादिङबेसी पुगे, खड्गकुमारीजस्तै नाम छुटेका अरू चारजनाको नाम लिएर । जिल्लामा नाम टिपाए र गर्नुपर्ने ठाउँमा सहीछाप पनि गरे । भदौ, असोज हुँदै पुस लाग्यो । फेरि गाउँमा अर्को खबर आयो, ‘न्यानो कपडाका लागि राज्यले अरू १० हजार दिने भयो ।’

खड्गकुमारी फेरि लाइनमा बसिन् । तर, पैसा बाँड्नेहरूले त्यही जवाफ दिए, ‘तपाईंको नाम रहेनछ, पाउनुहुन्न ।’ खड्गकुमारी भन्छिन्, ‘विधवाको हारेको कर्म भन्थे बाबु ? हो रहेछ ।’ पहिलो किस्ताको १५ र दोस्रो किस्ताको १० हजार नपाएकी खड्गकुमारीको कार्ड पाउने आस अझै बाँकी छ । खड्गकुमारी मात्रै होइन, धादिङमा त्यस्ता धेरै महिला छन् जसको भूकम्पले घर भत्कायो । पहँुच नपुगेको कारण कार्ड बनेन र आसैआसमा दुई वर्ष बित्नै लागिसक्यो ।

नलाङ पात्लेकी लीलाकुमारी श्रेष्ठ पनि उमेरले ८३ वर्ष लागिन् । जीवनमा पहिलोपटक भूकम्पको मार खेपेकी लीलाकुमारी पनि एकल महिला हुन् । ‘श्रीमान् बितेकै २८ वर्ष भयो, बालबच्चा त हुर्काएँ, बुढेसकालमा रुझेर मरिने भयो,’ चैत महिनामा परेको पानीले रुज्दै गरेकी उनले भनिन् । त्यसो त लीलाकुमारी गएको वर्षामा पनि रातभरि रुझेरै बसेको बताउँछिन् । ‘टहरोमा ठूलो पानी पर्दा सप्पै भल भित्रै पस्छ,’ अस्थायी टहरो देखाउँदै उनले भनिन् ।

धादिङको नलाङ, सलाङ, खरी, मैदी, मुरलीभञ्ज्याङ ज्यामरुङलगायतका गाविसमा भूकम्पपीडित कार्डबाट वञ्चित हुनेहरूमा धेरैजसो एकल र वृद्ध महिला छन् । छोराबुहारीले राम्रो व्यवहार नगरेर छुट्टै बसेका र एकल महिलालाई भूकम्पपछि सरकारले दिने कुनै पनि राहत दिइएको छैन ।

प्राविधिक टोली प्रत्येक घरमा नपुग्ने, घरमा पुग्दा पनि कामको सिलसिलामा ती घरबाहिर हुँदा नाम छुट्ने र आफ्नो नाममा जग्गा नहुनेहरूले राहत कार्डबाट वञ्चित हुनुपरेको छ ।

प्रमुख जिल्ला अधिकारीे उमेशकुमार ढकालले एकल र वृद्ध महिला भूकम्पपीडित कार्डबाट वञ्चित हुनुपरेको स्वीकार गरे । कार्ड बन्न छुटेकाहरूको उजुरी आउने क्रम जारी रहेकाले पीडितहरूलाई सहायता दिइने उनको भनाइ छ ।

छुटेकाहरूको नाम समावेश पछि भए पनि १५ र १० हजार दिन भने नसकिने ढकालले बताए । ढकालले भने, ‘१५ र १० हजार त अब दिन सकिँदैन, अनुदानस्वरूप तीन लाखको भने प्रक्रिया अघि बढाउँदै छौँ । तर, कार्ड बन्नका लागि मापदण्डचाहिँ पुग्नुपर्छ ।’

मुरलीभञ्ज्याङ–८ की चश्मे सर्कीको घर सदरमुकाम धादिङबेसीबाट १३ किलोमिटर माथि छ । सडकबाट हिँडेर जाँदा पाँचै मिनेटमा पुग्न सकिन्छ । उमेरले ७२ वर्ष पार गरेकी सर्कीले पनि भूकम्पपीडितको कार्ड कस्तो हुन्छ देख्नसम्म पाएकी छैनन् । उनले भनिन्, ‘श्रीमान् केही पनि गर्न सक्नुहुन्न, मलाई केही थाहा भएन । मलाई कसैले सोधेन ।’ ‘अरूका घरमा त नौला मान्छेहरू आए, चोटाकोठा हेरे, हाम्रो घरमा कोही आएन,’ उनले भनिन् ।

घरमुनिको पाटोमा राहतमा आएको जस्तापाताले अस्थायी टहरो बनाएकी सार्कीले पोहोरको वर्षा त काटिन्, यसपालि कसरी वर्षा काट्ने हो भन्ने चिन्ता उनलाई छ ।
भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङका अनुसार धादिङमा ७० हजार ८ सय ४५ घरधुरी भूकम्पपीडितको सूचीमा परेका छन् । डिभिजन कार्यालय प्रमुख दिलीप भण्डारीका अनुसार ६० प्रतिशतले पहिलो किस्तास्वरूप ५० हजार रकम लगिसकेका छन् ।

सरकारले एकल, वृद्ध र अपाङ्गता भएकाहरूलाई पहिलो प्राथमिकतामा पार्ने बताए पनि धादिङका एकल महिलाले त्यसको अनुभूति गर्न पाएका छैनन् । प्रमुख जिल्ला अधिकारी ढकाल भन्छन्, ‘एकल महिलालाई प्राथमिकतामा पार्ने नीति त हो, तर त्यसका लागि पनि अध्ययन गर्न केही महिना लाग्छ ।’

कुम्पुर गाविसकी सेती सर्कीको काखमा ८ महिनाको छोरा छ । भूकम्पले घर भत्काएपछि अस्थायी टहरो बनाएर कमाउन भन्दै श्रीमान् कोलकाता गए । डेढ वर्ष भयो फर्केका छैनन् । उनको पनि हालत उस्तै छ । उनी भन्छिन्, ‘जाडो सकियो, हाम्ले जाडो महिनामा पाउने बाक्लो लुगा अनि पैसा केही पनि पाएकै छैनौँ ।”

धादिङमा राहतवाट वञ्चित एकल महिलाको सङ्ख्या धेरै रहेको महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालकी महासचिव राधिका सापकोटा बताउँछिन् । अधिकारकर्मी सापकोटाले भनिन्, ‘कतिपयको नामै छुटेको छ, जसले अनुदान सम्झौता गरेका छन्, तिनले पनि समयमै घर बनाउने सम्भावना कम छ ।’

अनुदान सम्झौता भए पनि घर बनाउनका लागि काठ, ढुङ्गा, इँटा, सिमेन्ट, रडलगायतका सामग्री जम्मा पार्नुपर्ने हुन्छ । एकल वृद्ध महिलाले यस्ता सामग्री सहजै जुटाउन नसक्ने राधिकाको भनाइ छ । प्रजिअ ढकालसमेत पुरुषहरूको तुलनामा महिलालाई घर निर्माणका सामग्री जुटाउन गाह्रो भइरहेको बताउँछन् ।
(संचारिका फिचर सेवा) _ महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com