गर्मीका कारण महोत्तरीमा ठेउला र दादुरा रोगको प्रकोप

गौशाला बैशाख २१,

महोत्तरी जिल्लाका विभिन्न गाउँ–ठाउँमा चर्को घामसँगै असहनीय गर्मीको कारण ठेउला र दादुरा रोगको प्रकोप सुरु भएको छ । 

जिल्लामा बदलिँदो मौसमले ल्याएको हावाहुरी र प्रचण्ड घामका कारण हावापानी दूषित भई विभिन्न नगरपालिका तथा गाउँपालिकामा ठेउला र दादुराका रोगी फेला पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । 

ठेउला र दादुरा रोग विशेषगरी स–साना बालबालिकामा देखापरेका छन् भने युवायुवती, वयस्क तथा बूढापाका समेतमा यस रोगका लक्षण देखापरेको जिल्ला अस्पताल जलेश्वरका वरिष्ठ मेडिकल अधिकृत द्वारिकाप्रसाद साहले बताए। 

सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पताल तथा जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकास्थित स्वास्थ्य र उपस्वास्थ्य चौकीमा अहिले ठेउला र दादुराका रोगी आउने क्रम बढेको डा साहले बताए। जिल्लाका तीन नगरपालिका – जलेश्वर, गौशाला, बर्दिबाससहित गाउँपालिका लोहारपट्टी, भङ्गहा, सम्सी, सोनमा, मटिहानी, महोत्तरी, एकडारा, औरही, बलवा, रामगोपालपुर, मनरालगायत जिल्लाका १२ वटै गाउँपालिका विभिन्न गाउँठाउँमा ठेउला र दादुरा रोगको प्रकोप देखिएको चिकित्सक बताउँछन् । 

महोत्तरीका धेरैजसो गाउँठाउँमा ठेउला र दादुरालाई देवीको रुप भनेर यसको इलाज उपचार गराउँदैनन् भने यो रोग रहुन्जेल घरका मानिसले तेल नखाने, नलगाउने र तेलमा भुटेका खानेकुरा नखाने चलन रहेको छ । 

ठेउला र दादुरा लागेका बालबालिका तथा अन्य व्यक्तिलाई कतै कतै त देवीदेवता मानेर दैनिक धूप, आरती र पूजाआजासमेत गर्ने गरेको देखिन्छ । सरसफाइको अभावमा विशेषगरी गरिब परिवारमा हुने ठेउला र दादुरा रोगले महोत्तरीमा प्रत्येक वर्षझँै यस वर्ष पनि गरिब दलित बस्तीका हरेक घरपरिवारलाई बिस्तारै छुँदै गइरहेको चिकित्सकको भनाइ छ । 

जिल्लाको ग्रामीण बस्तीमा प्रायः जसो ठेउला र दादुरा रोगका रोगीलाई उपचार गराउने चलन छैन भने एक हप्तापछि आफैँ निको हुने विश्वास गरिन्छ । तर सरुवा रोग हुनाले एकपछि अर्को व्यक्तिमा सर्दै गइरहेको देखिएको जिल्ला अस्पताल जलेश्वरका स्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताए। रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com