कविता 'त्यो दिन '


कविता By, अम्बिका कार्की "अमु "

अनपाङ्ग भए कति
अनपत्य भएरै रोए कति
इन्द्रीयवध गराएर जिए कति
उत्प्रसव भए सरि
यो ब्रमाण्डमा बजारिदै
जिउँदै मरेको  त्यो दिन
चाहेर पनि उनले हृदयबाट
छुटाउन नसक्ने त्यो दिन
कालरात्री सरहका दिन

सोच त

एउटि आमाको कोख
उजाडिएको  त्यो दिन
ए आमा! तिमिलाई
भरपुर सुख दिनेछु
वर्षा लागेपछी
ओत बस्न धौ हुने
हाम्रो घरको छानोमा
जस्ता लगाई छाउनेछु
भनेर सेनामा भर्ती भएको
छोराले यस धर्तिमा
आफ्ना रगतले रंङ्याउँदै
यस भुमीमा पछारिएको त्यो दिन
कसरी भुल्छौ त्यो दिन

अनि

आफ्ना हजारौं सपना
तिलाञ्जली दिदै
आमा बा को कोमल काखबाट
उनको दुनियाँका रंगमञ्चमा
नाच्न आफ्नो सर्बस्व सुम्पिदै
आएकी ती प्राण प्यारीका
सपना, भाग्य चकनाचुर भएको दिन
सिन्दुरका रंङमा सजिएको सिउँदो
उजाडिएको त्यो दिन
उजाडिला बस्त्र पहिरिएको त्यो दिन

पहिले

जंगल पसेर नै
जंगली व्यवहार देखाउँदै
हरेक घरका छोरा छोरिलाई
डर,त्रास र प्रलोभन
देखाउँदै डोर्‍याउँदै हिडेका थिय
त्यति बेला सोचेनन्
यी चाहिन्छ भनेर
कसैलाई सुतेकै ठाउँमा दाउ छोपे
कुनैका गला घोटे
जिउँदै जलाएर मानबलाई
जय-जयकार मनाए त्यो दिन
कसरी बिर्सन्छौ त्यो दिन

अहिले

तिनै धुन्दुकारीहरु
झोली तेर्साउँदै तिम्रो दैलोमा
आइपुगेकाछन् आमा !
विजय सुनिश्चित छ भन्दै
तिमिलाई नै डाम्दैछन्
त्यतिबेला छोरो फिर्ता माग्नु
तिमिले छोरा बाट पाउने
हरेक सेवाहरु फिर्ता माग्नु
खाली सिउँदो अनि जिउँदो लास
भएर टुक्रा टुक्रा भएको मुटु
बोकेर हिडेकी चेलिले
मुटु जोडिने र घाउ ठिक हुने
मलम छ ती संङ भने माग्नु
नबिर्सनु त्यो दिन

अझ

बाबा संङ हरेक सपना, भविष्य
जोडेर अधुरा रहेका सन्तानले
भविष्यको ग्यारेण्टी माग्नु
जो जस्को आफन्तले
यो धर्ती भिजाएकाछन्
आ-आफ्नो तवरले माग्नु
छोरा कै काधँमा
जिम्मेवारी सुम्पिन रहर गुमेका
हरेक बाहरुले काधँ थाप्ने
सत्र हजार छोराहरु माग्नु
यदि दिन सक्छन् भने
तिनिहरुको झोली रित्तो नफर्काउनु
सक्दैनन् भने नभुल्नु त्यो दिन
नबिर्सनु त्यो दिन

अम्बिका कार्की "अमु "
सर्लाही हाल भरतपुर ,चितवन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com