गजल By, कोमल भट्ट
फूल जस्तो जिन्दगानी,गाली भएकोछ
उपेक्षा र दिल्लगीको,ताली भएको छ
छैन कुनै वाहवाही,छैन कुनै चासो
रछानमा मिर्किएको,थाली भएकोछ
दुर्दशाको खाडलमा,धकेलियो आफैँ
हेर्दाहेर्दै दुर्गन्धको,नाली भएकोछ
न त सक्यो फुल्न सधैं,न भो हराभरा
खडेरीले सताएको,डाली भएकोछ
कति थुन्नु कति टाल्नु पर्छ प्वाल मात्रै
जताततै चुहिएको आली भएकोछ
निरन्तरै निसासियो शीत ताप झेल्दा
जर्जर भै भत्किएको पाली भएकोछ
शिथिल भो रातोदिनै मैदानमा खट्दा
खिया लागी भाँच्चिएको फाली भएकोछ
डसेकाछन् बाढी,पैह्रो,घाम पानी मिल्दै
असिनाले निखारेको,बाली भएकोछ
पोखिएर गए सारा पसिनाका कथा
परिचय 'महत्वहीन माली' भएकोछ
यन्त्रणाले पेल्दापेल्दै हृदय भो धुजा
चारैतिर च्यातिएको जाली भएकोछ
बेचैनीले ग्रस्त पार्दा लुकेको छ कान्ति
मुहारमा विषादको लाली भएकोछ
तितरबितर भए सबै समर्थक र साथी
परिस्थिति,बेतुकको र्याली भएकोछ
सकिएन बुझ्न कैले नियतिको खेला
सुखशान्ति रित्तिएर खाली भएकोछ
-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.२१-पुरानो नैकाप
काठमाडौँ
हाल:- न्युयोर्क