न्युयोर्कको नारी दिवस कार्यक्रम र एनआरएनको वेथिति

सच्ची मैनाली
पेन्सिलभेनिया अमेरिका चैत्र २९,

आम नेपाली आप्रवासीको साझा संस्था भन्ने विगुल फुक्ने एनआरएन युएसए नेपालको दुर्गन्धित राजनीतिबाट अछुतो छैन भन्ने अब कसैले प्रमाणित गर्नुपर्ने आवश्यकता छैन ।

यसो हेर्दा धनीहरुको क्लब मात्रै लाग्ने एनआरएन युएसएले आजसम्ममा आप्रबासीकोलागि आफ्नो क्रियाकलाप मार्फत एनआरएनलाई साझा संस्था प्रमाणित गर्न सकेको भए आज यसका टाउकेहरूले सदस्य बनिदिनकालागि भिख माग्दै हिँड्नु पर्ने थिएन  ।

चुनावका क्रममा गरिने भाषण र घोषणापत्र सुनेर पूर्णरूपमा थाकिसकेका अनि कान पाकिसकेका हामी नेपालीलाई अब  ठुलाठुला कुरा अनि बाचाको होइन साँचो परिवर्तनको खाँचो छ। सक्नुहुन्छ भने  एनआरएनलाई  पहिला त मात्रै  दुर्गन्धित राजनीतिबाट अछुतो राखेर  देखाइदिनुहोस् तपाईँको त्यही पहल मात्रैले पनि इतिहास रच्नेछ ।

आज हाम्रो देश निकै बिरामी अवस्थामा छ अब पनि सही  उपचार नपाए छिट्टै देशलाई पक्षघात हुँने निश्चित छ । अपाङ्ग कानुन र पक्षघातको स्थितिमा पुग्न लागेको देश देख्दा आज हामी रुन पनि सकेका छैनौ  ।

अब हामीलाई पाङ्दुरे नेता चाहिंदैन न देशमा , न एनआरएनमा , न कुनै संस्थामा। हामीलाई नेता होइन मात्र सेवकको खाँचो  छ । देशमा भएको कुरिति, कुप्रथा, भ्रष्टाचारको नाङ्गो नाँच देखी, भोगी सक्यौं हामीले ।  एनआरएन युएसएले पनि आम नेपाली आप्रबासीको साझा संस्था हो भनेर  झुक्क्याउने प्रयास गल्तीले पनि नगरोस अब । हामी अंधो अनि बहिरो छैनौँ  ।

यो आप्रबासीको साझा संस्था होइन । यहाँ भित्र गुटबन्दी अनि फोहोरी राजनीतिले जरो गाडीसकेको छ । व्यक्ति हाबी भएको  यो  संस्थामा आम नेपालीको समस्या अनि साझा उद्धेश्यकोलागि  काम गर्ने  भनेका औंलामा गन्न मिल्ने व्यक्तिहरू मात्रै छन् र यो संस्थालाई आजसम्म बचाएका पनि तिनैले हुन् ।

नाताबाद कृपाबाद अनि फरियाबादकै सेरोफेरोमा घुमिरहेको एनआरएन युएसए बिरामी अवस्थामा छ र यसलाई सक्दो छिटो उचित उपचारको खाँचो  छ  । सही उपचार नगरे एनआरएनलाई पनि पक्षाघात नहोला भन्न सकिन्न । गुट र फुटको राजनीति नेपाली समाजमा व्याप्त एउटा ठुलो समस्या हो। जे गरे पनि हुन्छ भन्ने सोच एउटा घातक प्रवृत्ति हो । यस्तै घातक प्रवृत्ति मौलाइसकेको छ एनआरएन अमेरिकाभित्र पनि ।

अरू को त के कुरा महिला सम्बन्धी हुने महिला सशक्तिकरण कार्यक्रममा  पनि एनआरएन भित्र भागवन्डा हुन्छ । यो किन र केका लागि ? एनआरएन यदि सबैको साझा संस्था हो भने त्यहाँ भित्र एउटा महिलालाई सम्मान गर्दा अर्को महिलाले विरोध गर्ने किन ?  महिलाले महिलाकैलागि गरेको  कार्यक्रम बहिस्कार गर्ने किन ? यो संस्था  सबैको साझा हो भने त्यहाँ गुट अनि गुट भित्र फुट किन देख्नु पर्थ्यो ? नाताबाद कृपाबाद अनि फरियाबादकै सेरोफेरोमा एनआरएन युएसए चलेको प्रष्ट देखियो अनि भोगियो पनि । 

सन्दर्भ १०७ औँ अन्तर्राष्ट्रिय नारी दिवस २०१७ को उपलक्षमा न्युयोर्कमा मार्च १९, २०१७ आइतबारका दिन परिवर्तनका लागि साहसी बनौं ( Be Bold For Change) भन्ने अभियान अन्तरगत आयोजक एनआरएन एनसिसि अफ युएसए महिला समन्वय समितिको  संयोजकत्वमा  अमेरिकामा सक्रिय विभिन्न दसवटा संघसंस्थाहरुले संयुक्तरूपमा आयोजना गरिएको कार्यक्रमको हो  ।

सबैभन्दा पहिले त अमेरिकाको व्यस्त दिनचर्याको बाबजुद समय निकालेर त्यो पनि महिला सशक्तिकरणको कार्यक्रम गरिनु आफैमा महत्पूर्ण कुरा हो  ।  कार्यक्रमकोलागि पहल गर्ने कार्यक्रमको संयोजक एनआरएनए अमेरिका महिला समिति संयोजक राधा पौडेल तथा एनआरएन अमेरिकाका क्षेत्रीय उपाध्यक्ष बन्दना कोइराला लगायत यो कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग र समर्थन गर्नु हुने सम्पूर्ण साथीहरूलाई धन्यवाद नदिइ रहन सकिन्न ।

यस कार्यक्रमका धेरै राम्रा पक्षलाई हामीले नकार्न सक्दैनौ भने त्यसै कार्यक्रमका नकारात्मक कुरालाई पनि हामीले मनन गरेर भविष्यमा यस्तो गल्ती नदोहोर्याउन पहल गर्नैपर्छ ।  सोही उद्देश्यकोलागि  केही शब्द कोर्ने प्रयास गरिएको हो ।

कार्यक्रम तालिका अनुसार पहिलो चरणको  कार्यक्रम  दिउसो २.३० बजे सुरु हुने र त्यसपछि ७ बजे देखि ११ बजेसम्म सांस्कृतिक कार्यक्रम  हुनुपर्ने थियो तर ७ नाघिसक्दा पनि  दिउँसोको कार्यक्रम कै ३ चरण अझै बाँकी नै थिए । भित्र भीषण भाषण  चलिरहँदा बाहिर टिकेट तिरेर हेर्न आउनेहरु दिक्क भएर गुनासो गर्दै थिए । मन्चमा ठुला ठुला भाषण गर्ने अनि “परिवर्तनकालागि साहसी वनौं” भन्ने व्यवहार भने ठिक उल्टो ।  आयोजक कमिटी मध्येकै दिदीहरू पनि बाहिर गुनासो गरिरहेका थिए ।  नेपालदेखि लिएर आएको हाम्रो कुप्रथा, कुरिती, कुसंस्कार अनि व्यक्ति हाबी प्रवित्तिको  विरुद्ध बोल्ने साहस ती दिग्गज मध्ये कसैले देखाउन सकेनन् । प्रविधिक कारणले कार्यक्रमका प्रमुख अतिथि राजदूत डा. अर्जुन कार्की  र अर्का सर्वोच्च अदालतका न्यायाधिस सपना प्रधान मल्लको उपस्थिति हुन नसकेको भनिएको थियो ।  समयमा पहिलो चरणको कार्यक्रम सुरु नगरेकोले  त्यसको नराम्रो असर सबैलाई परिसकेको थियो  ।

बाहिरपट्टि मात्रै विद्रोहको स्वरहरू गुन्जिरहेका थिए।  सानासाना बच्चाहरू एक महिनादेखि तयारी गरेको प्रस्तुति दिन नपाईने भयो भनेर उदास अनुहार लाएर बसेका थिए  । बारम्बार उनीहरूको एउटै प्रश्न थियो आन्टी प्रोग्राम कति खेर सुरु हुन्छ ? साँझको सांस्कृतिक कार्यक्रमको सञ्चालक भएकोले र नीलो ब्याज लगाएर म त्यहाँ उभिएकोले होला धेरैले मबाट जवाफ खोजे तर म आफै अनभिज्ञ थिएँ । कलाकारहरूको गुनासो पनि कम थिएन र गुनासो सबैको जायज थियो ।

त्यतिखेरसम्म  आइपुग्दा अब नेतृत्व युवा पुस्ताले नै लिनुपर्ने आवश्यकता महसुस भैसकेको थियो । आफू साँझको कार्यक्रमको उद्घोषक भएकोले मैले त्यहाँ केही बोल्दा नराम्रो असर पर्ला कि भन्ने स्थिति थियो । त्यसैले कलाकार  प्रतिनिधिका तर्फबाट डान्सर अनि गायिका बसन्ती राईलाई मेरो साथमा हिँड्न अनुरोध गरेँ । 

मन्च पछाडि हामी दुई गयौँ  र मैले कार्यक्रम लामो भयो अब कि यो कार्यक्रम काट्नु पर्‍यो,  कि  हामीलाई जान भन्नु पर्‍यो भन्दा तेसो गर्‍यो भने यहाँ भित्र विद्रोह हुन्छ भनियो । मैले भनेँ विद्रोह त त्यहाँ बाहिर पनि भइरहेको छ किन भने त्यहाँ भोलन्टियर गर्ने कलाकार अनि टिकेट किनेर कार्यक्रम हेर्न आउने दर्शकहरु छन्   । धेरै बेरसम्म पनि  त्यस विषयमा सम्बोधन भएको जानकारी पाइएन  । साझा उद्देश्यकोलागि कसैसँग बिना डर सही निर्णय लिन सकिन्थ्यो तर त्यहाँ त्यसो भएन ।  यस्तो लाग्थ्यो त्यो ठाउँ नेतृत्व विहीन छ । 

आयोजक कमिटीकै दिग्गज दिदीहरू  आफैँ गुनासो गर्दै हुनुहुन्थ्यो । तर कोसँग गुनासो गरेको हो भन्ने चाहिँ बुझ्न सकिएन किनभने उहाँहरू आफैँ त्यस कार्यक्रम आयोजक मध्येको हुनुहुन्थ्यो । उहाँहरुबाटै गुनासो सुनेकोले मैले उहाँहरूलाई परिवर्तनकालागि साहसी बनेर बोल्नकोलागि आग्रह गरेँ । तर बिस्तारै उहाँहरू मेरो आँखाबाट ओझेल हुनुभयो ।  

सांस्कृतिक कार्यक्रमको संयोजक संगीता मुखिया छोचुन पनि आयोजक मध्येका केहीलाई यस्तै अनुरोध गर्दै हुनुहुन्थ्यो तर हाम्रो केही लागेन । त्यसपछि फेरि एक पटक सहभागी कलाकारहरू मध्येबाट प्रतिनिधित्व गर्नकोलागि मैले संजीता कोइराला आचार्यलाई मेरो साथमा नेतृत्व लिन अनुरोध गरे । हामी कार्यक्रम चलिरहेको मन्चमा गयौँ । हामीलाई त्यहाँ रोक्न खोजिएको थियो तर संजीताले मौका पाउनासाथ जबरजस्ति माईक तानेर समयमा कार्यक्रम सुरु नगर्दा बालवच्चा लगायत सबैमा परेको असरको  बारेमा बताईन् ।  त्यसपछि मैले पनि मबाट जवाफ खोजिरहेका र फर्केर जान्छौं  भनिरहेका कलाकारहरुलाई कार्यक्रम समयमा सुरु गर्नु  हाम्रो नियन्त्रणभन्दा बाहिर भएको बताए । अवस्था यस्तो जटिल थियो कि , जसलाई जे मन लाग्छ गरे हुन्छ भन्ने जवाफ दिन बाध्य  भएँ म ।

थकान भोक र अनिश्चितताले हामी सबै थाकिसकेका थियौँ । निकै ढिलो भैसकेको थियो । अब कार्यक्रम सञ्चालन गर्ने चाह अनि जोस पनि बाँकी थिएन । केही समयपछि मन्चबाट ओर्लनु भएका मध्येबाट मैले इज्जत गर्ने दिदीलाई  भनेँ सरी हामी त्यसो गर्न चाहँदैनथ्यौ तर विवश भयौँ । उहाँले आफूले पोलिटिकल कारणले त्यसलाई रोक्न नसक्ने भएकोले त्यसलाई वीटफूल एक्सन भन्नुभयो ।  उता राज्दूतज्यूले  संजीतालाई बोल्ड कार्यकोलागि धाप मार्नुभयो ।

अन्तत त्यो विद्रोहपछि पहिलो चरणको केही कार्यक्रम काटेर ७ बजे सुरु हुने कार्यक्रमकोलागि हामीले बल्ल  ८।४५ मा अचानक हल पायौं । कार्यक्रम जसको काटियो उहाँहरूलाई पनि पक्कै मार पर्‍यो । ढिलै भए पनि कार्यक्रम सुरु त भयो तर माहोल अस्तब्यस्त थियो । हामीसँग कार्यक्रमकोलागि साउण्ड सेटअप गर्ने समयसम्म थिएन । केहीका बाहेक सबैको अनुहार लत्रिएको थियो । चार घण्टाकोलागि  बनाइएको कार्यक्रम भटाभट् काट्नु  पर्ने अवस्था थियो । समयको माग त्यही थियो । त्यसैले बिना साउण्ड सेट अप कार्यक्रम सुरु गर्‍यौँ   । कसको राख्ने,  कसको काट्ने त्यो सोच्ने समय पनि थिएन । जसो जसो पुरेत बाजे उसै उसै स्वाहा भन्ने जस्तो अवस्था थियो । हामीले त्यसै गर्‍यौँ तर त्यसको मार धेरैलाई पर्‍यो । 

निकै ठुलो तनाबवीच  कार्यक्रम चलाइयो ।  समयमा कार्यक्रम सुरु गर्न नसकेको कारणले महिनौंदेखि तयारी गरेका कलाकारहरुलाई मात्रै होइन पैसा तिरेर कार्यक्रम  हेर्न आएका दर्शकहरुलाई समेत निकै मार पर्‍यो । त्यसमाथि आइतबारको  दिन भएकोले भोलि बिहानै धेरैले  काममा जानुपर्ने थियो भने बच्चाहरुले पनि स्कुल जानुपर्ने थियो । तैपनि धेरै दर्शकहरूले अन्तिम सम्मसाथ दिनुभयो ।  

त्यतिमात्रै होइन ती साना साना बच्चाहरू जसले एनआरएनकै कार्यक्रमकोलागि भनेर एक महिनादेखि ६५ डलर घण्टाको तिरेर अङ्रेजी गीत सिके,  आफ्नो खर्चमा नृत्य सिके,  नृत्यकैलागि भनेर उत्साहका साथ नयाँ लुगा अनि जुत्ता किने तर प्रस्तुति दिन पाएनन् । आँखाभरि आसुँ लिएर फर्केका ती बाल मानसिकतामा कस्तो असर पर्‍यो होला  ? यसको दोषी को ? ती बाबुआमा जसले कार्यक्रमकैलागि भनेर आफ्नो खल्तिबाट पैसा खर्च गरे तर तिनका बच्चाहरुले आँखा भरी आसुँ लिएर फर्के ? उनीहरूले एनआरएनको विषयमा कस्तो सन्देश लिएर गए ? के कसैले मनन गरेको छ ?

आयोजक चाहे महिला समिति  होस् वा पुरुष समिति, यसको जिम्मेवारी एनआरएनले लिनुपर्छ ।अमेरिका जस्तो देशमा बसेर पनि त्यतिका धेरै व्यवस्थाका बाबजुद पनि समयमा कार्यक्रम गर्न नसक्नु अतिनै कमजोर पक्ष हो ।  

एनआरएन नाम आफैमा सहयोगी हातको पहिचान बनेको छ तर त्यही एनआरएनमा वर्षमा एकचोटि हुने त्यो पनि महिला सशक्तिकरणका कार्यक्रममा पनि भोलन्टियरको खडेरी हुनुले एनआरएन भित्रको गुट र फुटको राजनीतिलाई छर्लङ्ग्याउँछ ।  

संस्थाका मै हुँ भन्नेहरु काम गर्न होइन स्यालुट खान आउँछन रे  । भोलन्टियरका  ब्याजहरू थुप्रै बनाईएका थिए तर आवश्यक परेको बेलामा भोलन्टियर भेटिएन ।  ती ब्याजहरूले भने हामीलाई टुलु टुलु हेरिरहेका थिए । गत सालको तुलनामा यसपालि सधैँ एनआरएनका कार्यक्रममा चहल पहल गर्ने अनुहारहरु पनि देखिएका थिएनन् । कुरा भागबन्डाको थियो । आफ्नो गुटको मान्छेलाई सम्मान नगरीएको भनेर उनीहरूको उपस्थिति रहेन ।  आएका मध्येबाट पनि त्यसलाई किन सम्मान गरेको ? के का लागि ? भन्ने प्रश्न सुन्न पर्नु अर्को विडम्बना हो । यो त एनआरएन  भित्रको फुटको सानो उदाहरण मात्र हो ।

अब भन्नुस एनआरएन हाम्रो साझा संस्था कि तपाईँहरूको गुट उपगुटको संस्था ?

एनआरएन कसको संस्था ?

हामी धेरै पछाडि छौ । अब भाषण गर्न छोडौं  ।  कृपया काम गरौँ  ।  समयको सम्मान गर्न सिकौं  । आफूबाट भएको भूल सुधार गरौँ  । सबैभन्दा पहिले आफ्नो सोच सुधारौं । जो सक्षम छन्  उनलाई कन्जुसी नगरी सम्मान गर्न सिकौं । त्यही संस्कारले मात्रै हामीलाई अघि बढाउँछ । आफूले गर्ने हरेक काममा व्यवसायीकताको विकास गरौँ । पारदर्शिता र जबाफदेहिताको सुरुवात गरौँ । 

एउटाले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने प्रवृति, गुट र फुटको राजनीति गर्ने चलन विद्यमान रहेको दुषित एनआरएन सफा गर्न तिर लागौं ।  कसैलाई राजनीति गर्नै मन छ भने नेपाल जादाँ हुन्छ । यहाँ नेपालको राजनीतिको जरुरत छैन । अब पनि यही क्रम चलिरहने हो भने एनआरएन धरासायी हुन कति पनि समय लाग्दैन । यसलाई  गैर राजनीतिक र सबैको साझा बनाउँ  । सोही कार्यक्रममा साना साना बाबुनानीहरुले प्रस्तुत गरेका बि युनाइटेड नट डिभाइडेड नाटकको सन्देश मात्रै अवलम्बन गर्ने हो भने एनआरएन पक्का सबैको साझा संस्था बन्न सक्छ । अब आउने नयाँ नेतृत्वले यो ख्याल राखोस ।

(पेन्सिलभेनिया अमेरिका)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com