स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढे

अछाम चैत्र २२,

शिवराज खत्री : जिल्लामा पछिल्लो समय स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेको संख्या बढेको देखिन्छ । जिल्ला अस्पतालको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको हालसम्म जिल्लामा दुई हजार छ सय २३ ले स्वास्थ्य संस्थामै गएर सुत्केरी सेवा लिएका छन् । यीमध्ये ५२ जनाको शल्यक्रिया मार्फत सुत्केरी गराइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सामुदायिक स्वास्थ्य कार्यक्रम लगायत जनचेतनाको प्रभावले यो दर वृद्धि भएको अस्पतालका सामुदायिक स्वास्थ्य कार्यक्रम प्रमुख लालबहादुर कुवँरले बताए । स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेसँगै अछाममा मातृ तथा शिशु मृत्युदरमा पनि कमी आएको छ । बयालपाटा अस्पतालको तथ्याङ्क अनुसार अस्पताल स्थापनादेखि हालसम्म दुई हजार आठ सय भन्दा बढी अस्पतालमै सुत्केरी भएका छन् । अस्पतालका चिकित्सा सेवा तथा शिक्षा निर्देशक विकाश गौचनका अनुसार यस आर्थिक वर्षमात्र बयालपटा अस्पतालमा सुत्केरी हुनेको संख्या तीन सय ५० भन्दा बढी रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष ०७०÷७१ मा जिल्लामा ३१ प्रतिशत संस्थागत सुत्केरी भएकोमा ०७१÷७२ मा यो दर ह्वात्तै बढेर ६६ प्रतिशत पुगेको थियो । यसैगरि, आर्थिक वर्ष ०७२÷७३ मा यो संख्या ८ प्रतिशतले वृद्धि भएर ७४ प्रतिशत पुगेको छ ।

चालु आर्थिक वर्षमा यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । घरमै सुत्केरी गराउदा विभिन्न खालका जटिलता हुने र अप्ठेरो भएमा ज्यानसमेत जोखिममा हनुे भएकाले सुरक्षित सुत्केरी गराउनकालागि धेरैजसो महिलाहरु अहिले स्वास्थ्य संस्थामा जाने गरेका स्वास्थ्यकर्मीको भनाई छ । जिल्लामा हाल दुई अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र तथा ५७ वटा बर्थिङ सेन्टर मार्फत सुरक्षित प्रसुती सेवा संचालनमा छ । सेवा विस्तार सुरु हुनु अघि जटिल प्रकृतिका गर्भवतीलाई जिल्ला बाहिर सुत्केरी गराउन लानुपर्ने र लान नसक्दा थुप्रैले अकालमै ज्यान गुमाउनु परेको थियो ।

जटिल प्रकारका गर्भवती सहजै तरिकाले सुत्केरी हुन नसक्दा शल्यक्रिया मार्फत सुत्केरी गराएर धेरैको ज्यान बचाउन सफल भएको समेत निर्देशक गौचनले बताए । अछाम लगायत अन्य पहाडी जिल्लाहरुबाट पाठेघर फुट्ने, धेरै रगत बग्ने लगायतका जटिल अवस्थाका सुत्केरी आउने गरेकाले शल्यक्रियामार्फत सुरक्षित सुत्केरी गराएर आमा र बच्चाको ज्यान बचाउन सफल भएको उनको भनाई छ । ‘निजी क्षेत्रका अस्पतालमा गर्भवतीको शल्यक्रिया गर्ने हो भने एक लाख सम्म खर्च लाग्न सक्छ, शल्यक्रियाबाट बच्चा जन्माउने सेवा सुरु भएपछि निकै राहत भएको छ’, उनले भने ।_महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com