जसले पढ्न पर्यो आफ्नै पतिको मृत्युको ब्रेकिंग न्युज...

एजेन्सी, छत्तीसगढ चैत्र २९,

सदाझैँ शनिबार सुप्रित कौरले छत्तीसगढको निजी टेलिभिजन च्यानल आइबिसी–२४ मा बिहान १० बजेको समाचार वाचन गर्दै थिइन् ।
वाचनकै क्रममा पन्ध्र मिनेटपछि कौरलाई स्टुडियोमा ब्रेकिङ न्युज अपडेट गर्न निर्देशन आयो । ब्रेकिङ न्युज थियो– छत्तीसगढको एउटा सडकमा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु र दुई गम्भीर घाइते ।

स्टुडियोबाट उनले घटनास्थलमा भएका पत्रकारसँग प्रत्यक्ष टेलिफोन संवाद गरिन् । कार दुर्घटनामा मृत्यु भएका व्यक्तिको तत्काल पहिचान नभए पनि कौरले आफ्ना पति परेको अनुमान गरिसकेकी थिइन् ।

समाचार उत्पादन समूहले पनि सो जानकारी पाइसकेको थियो । तर, उनी प्रत्यक्ष समाचार प्रसारणमा भएकाले समाचार कक्षले उनलाई सचेत गराएन ।

कौरले अनुहारमा कुनै दुःखको भाव नदेखाई साहसका साथ सम्पूर्ण समाचार पढिन् । समाचार पढिसकेपछि उनी स्टुडियोबाट भक्कानिँदै बाहिर निस्किन् । लगत्तै उनले पत्रकारलाई फोन गरेर थप विवरण माग गरिन् ।

उनको अनुमान सत्य थियो । सो दुर्घटनामा मृत्यु हुनेमध्ये उनका पति पनि थिए । छत्तीसगढकै प्रख्यात आइबिसी–२४ मा कौरले विगत ९ वर्षदेखि समाचार वाचिकाका रूपमा कार्यरत छिन् ।

उनी त्यस च्यानलकै प्रख्यात वाचिका हुन् । उनको दुई वर्षअघि हर्षद कावडीसँग विवाह भएको थियो । उनीहरूको एउटी छोरी पनि छिन् । समाचार वाचिकाको सासह र कर्तव्यनिष्ठाको भारतभर प्रशंसा भएको छ ।

उनका पति दुर्घटनामा मृत्यु भएको घटनालाई लिएर धेरैले दुःख व्यक्त गरेका छन् । छत्तीसगढका मुख्यमन्त्री रमन सिंहले सुप्रितका पति हर्षद कावडीको मृत्युमा दुःख व्यक्त गरेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com