नारी जागरण: हिजो र आज

भगवती बस्नेत, इज़रायल

नारी स्वयंमा एक शक्ति हो । नारी भनेको समाजको गहना हुन् । यो  संसारको शृष्टि कर्ता नै  नारी हुन् । नारी एक मात्र त्यस्ती आमा हुन् जो आफ्ना सन्तानलाई जीवनभर निस्वार्थ माया गर्छिन् । नारीको इज्जत सम्मान र साथ बिना एउटा परिवार अघि बढ्दै । समाज र देश बिकासको निम्ति नारीले अझ महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकी हुन्छिन् । नारी बिना यो संसारको अस्तित्व रहदैन् । नारी र प्रकृति दुवै शक्ति र सौन्दर्यका प्रतीक हुन् । 

हाम्रो देश पुरुषप्रधान देश हो, जहाँ नारिको अझै पनि पिडादायी अवस्था नै देखिएको हामी पाउन सक्छौ  । कोहि बोक्सिको आरोपमा, कोहि छोरा नपाएको निहुँमा,कोहि दाईजोको निहुँमा या अन्य सामाजिक कुसंस्कारहरुको पक्षमा लागेर महिलामाथी हिंसा भैइरहेको हामी पाउछौ । अब नारी दिवश नारीले मात्र होइन पुरुषले पनि  मनाउनु पर्छ । पुरुषले जब सम्म नारीको योगदान स्वीकार गर्न सक्दैन तबसम्म घर समाज र देश बन्न सक्दैन । जुन परिवारमा महिला सक्षम भएका हुन्छन् त्यस घरका बच्चाहरु स्वस्थ शिक्षित अनुशाशित हुने गर्छन् । जुन ठाउँका महिलाको नेतृत्व हुन्छ त्यहाँ धेरै राम्रो काम गरेको पाइन्छ । महिलाले पुरुषको अस्तित्व स्वीकारेजस्तै पुरुषलेपनि समान स्थान,हैसियतमा महिलालाई स्वीकार गर्न सक्ने फराकिलो दायराको मन बनाऔँ । 
अझपनि देशका हरेक क्षेत्रमा नारीकै पहुँच थोरै छ नारीले आफूभित्र भएका इच्छा,चाहनाहरु पनि आफ्नो परिवारको मान मर्यादाको लागि मनभित्रै गुम्स्याएर राखेका हुन्छन् । तर पनि एउटा नारीनै अर्को नारीको खिल्ली उडाएर मुस्कुराएको पाउँछौ  । सासुले बुहारीप्रती गर्ने व्यवहार होस् या बुहारीले सासुलाई त्यहाँ एक नारीकी विपरीतमा एक नारी नै भएको हुन्छ।

एक नारीले अर्को नारीको खुल्ला हृदयले सहयोग गर्न सक्नुपर्छ ।
एउटी नारी नै हुन् एउटा पुरुष बिबाहित हो भन्ने थाहा हुदा हुँदै दुलही भएर अर्को नारीको खुशी खोस्न पछि पर्दैनन् ,अनि त्यसैलाई संसारको ठूलो उपलब्धी सम्झिदै मख्ख भएर बसेका बग्रेल्ती उदाहरण भेटिन्छ  । आफ्नो खुशिको लागि अरुको खुशी खोस्नु त्यो कदापी नारीको परिचय हुन सक्दैन ।

एउटा नारीलाई परेको पीडामा अर्को नारीले साथ,सहारा दिनुपर्नेमा उल्टै नारी नै बिपरितमा उभिएको पाउँछौ । हो ,यस्तै गल्तिहरुकै कारण कतिपय पुरुषहरुले नारीबाट फाईदा मात्र लुटिरहेको पाईन्छ । एक नारी भएर अर्को नारिको सहयोग र साथ नदिनु नै सबैभन्दा ठूलो कमजोरी हुन पुगेको छ । आफै एक नारी भएर अर्को नारीको समस्या बुझ्न सक्दैनौ भने पुरुषले त झनै कहिले र कसरी बुझ्न सक्लान् भन्ने आशा  गर्नु ! 

जबसम्म एक नारीले अर्को नारीको ईज्जत,सम्मान, साथ र सहयोग गर्दैनन् तब सम्म नारी अधिकारका कुराहरु केवल कुरामै सिमित रहन्छ । त्यसैले आफूभित्र भएका स्वार्थ त्यागेर नारीहरुनै एकजुट भई आफ्ना अधिकारको आवाज उठाउनु उपयुक्त हुन्छ । 

लगभग दुई दशक अघि सम्म नारी हक अधिकारका कुरा अलि अपाच्य हुन्थ्यो ।  अशिक्षा ,पितृसत्तात्मक ,चेतनाको कमि एवं सामाजिक रुढिवादीका कारण त्यसबेला केहि महिलाहरु मात्र आफ्नो हक अधिकार बिरुद्ध आवाज उठाउँथे तर अहिले समयले धेरै फड्को मारिसकेको छ l आज लाखौँ हजारौ नारीहरु चुलो चौको छोडेर देश विदेश पुगेका छन्  l स्वालाम्बी भएर नारी हक अधिकारका लागि मैदानमा उत्रेका छन् l हामी महिलाहरुले आजको यो समय सम्म आइपुग्दा समय  निकै संघर्ष गर्नु परेको छ l  हाम्रो संघर्षको उदेश्य हरेक क्षेत्र र समुदायका नारीहरुले समान अवसर र अधिकार पाउन् भन्ने हो l 

हामी  महिलाले आफ्नो क्षमता पहिचान गरि आफूसंग उपलब्ध स्रोत र साधनको सहि प्रयोग गर्ने हो भने स्वपहिचान बनाउन धेरै गाह्रो पर्दैन साथै  हामीले  सम्मानित जीवन बाँच्न  सक्छौ  l घर ,समाज तथा देश हुँदै बिदेशिएका नारीहरूले  पनि आफ्नो परिवारको सम्वृद्धिको साथ साथै  समाज र देशलाई समेत टेवा दिनमा मद्दत पुराईरहेका छन् l नारीले पुरुषलाई र पुरुषले नारीलाई समान रुपले हेर्न सकेमात्र नारी दिवस सार्थक हुनेछ । महिलाले पुरुषको अस्तित्व स्वीकारेजस्तै पुरुषले पनि महिलालाई  समान रुपमा स्वीकार गर्न सक्ने फराकिलो मन बनाएर हातेमालो गरी सहअस्तित्वलाई सम्मान गरौँ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com