दालमोठ उधोगबाट विदेशमा जतिकै कमाइ . .

लमजुङ फागुन १८,

बेलिना थापा : बेंसीसहर चण्डीस्थानकी भवानी अधिकारी रिमाल (२७) विदेश जाने तयारीमा थिइन् । तर, धेरै सोचविचार गरेपछि उनलाई ऋण काढेर विदेश जानुभन्दा स्वदेशमै उद्योग गर्नु ठिक लाग्यो । लमजुङ उद्योग वाणिज्य संघमा ६ वर्ष कार्यालय सहायकका रूपमा काम गरेको अनुभवले पनि उनलाई आफ्नै उद्योग खोल्ने प्रेरणा दियो । अहिले उनी आफ्नो एकल लगानीमा दालमोठ उद्योग सञ्चालन गरिरहेकी छिन् ।
‘पासपोर्ट बनाएँ, आवेदन दिएँ, उताबाट चिठी पनि आयोे,’ उनी भन्छिन्, ‘तर, ऋण काढेर विदेश जानुको सट्टा यहिँ केही गरौं भन्ने लाग्यो, मनस्थिति एकाएक परिवर्तन भयो र व्यवसाय सञ्चालन गरें ।’

सुरुमा ३२ लाख रुपैयाँको लगानीबाट सञ्चालनमा ल्याएको दालमोठ उद्योगमा उनी लगानी थप्ने योजनामा छिन् । ‘यताउता गर्दा २० लाख जुट्यो, अरु १२ लाख ऋण काढेर उद्योग तयार गरें’, उनी भन्छिन्, ‘अहिले महिनामा दुई लाख रुपैयाँभन्दा बढि रुपैयाँको दालमोठ बजारमा गइरहेको छ, विदेश गए जत्तिकै छ ।’

बेंसीसहरका साथै लमजुङका बजारमा चितवन, वीरगन्ज र पोखरामा उत्पादन गरिएका दालमोठ बिक्रीका लागि ल्याइन्छ । स्थानीयस्तरमै उत्पादन थालिएपछि यहाँका व्यवसायीले मन पराएको उनको भनाइ छ । उनी दालमोठ लिएर आफैं बजार जान्छिन् । अधिकारीकी ४ वर्षिया छोरी नजिकैको स्कुलमा पढछिन् । ‘बिहानको समय छोरीलाई पढाउने, तयारी गर्ने, स्कुल पठाउनेमा बित्छ । त्यसपछि बजार जान्छु र साँझपख ठाउँठाउँमा दालमोठ पुर्याउँछु’, उनी सुनाउँछिन् । उनका पति मदनबहादुर नेपाली सेनामा कार्यरत छन् । छुट्टीमा आउँदा उनले पनि अधिकारीलाई सहयोग गर्ने गरेका छन् ।

दालमोठ उद्योगमा एकजना हेडमिस्त्रीलाई मासिक २५ हजार र अन्य २ जनालाई मासिक १०÷१० हजार रुपैयाँ तलब दिएर राखेको उनले जानकारी दिइन् । ‘उद्योग वाणिज्य संघमा हुँदा धेरै व्यवसायीसँग चिनजान गर्ने मौका मिल्यो, अहिले बजार विस्तार गर्न सजिलो भएको छ,’ उनी भन्छिन् ।

उनको उद्योगबाट मिक्स, स्पेशल, भटमास, चना, केराउ फ्राई, फुरनदाना, बदाम, भुजिया, मुँगदालका दालमोठ उत्पादन भइरहेको छ । यीसँगै आलुचिप्स उत्पादनको पनि तयारी भइरहेको रिमालले जानकारी दिइन् । त्यहाँ उत्पादित दालमोठ मनाङ जिल्लामा पठाउने तयारी भइरहेको उनको भनाइ छ ।

उनलाई व्यवसायमा परिवारको पनि साथ छ । दिदी सुमित्रा घिमिरे र दाइ नाता पर्ने गुणराज सिलवालले व्यवसायमा सघाएको उनी बताउँछिन् । दिदी सुमित्राले बहिनीको उद्योगका लागि घरभाडा लिएकी छैनन् । लमजुङ उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष समेत रहेका सिलवाल महिलालाई उद्योग सञ्चालनका लागि प्रोत्साहन गर्न हरेक तवरबाट सहयोग गर्नुपर्ने बताउँछन् । ‘सीप र जाँगरलाई सम्मान गर्न सके बेरोजगार हट्छ र रोजगारी खोज्दै विदेसिनु पर्दैन,’ उनले भने । संघका अध्यक्ष रामकुमार श्रेष्ठले महिलाको जोस र जाँगरलाई सम्मान गर्नुपर्ने बताए । ‘भवानी बहिनीको जोस, जाँगरले अरूलाई पनि केही गर्न सिकाउँछ,’ उनी भन्छन् ।
_महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com