हामी के को स्वाभिमानी ?

हामी नेपाली हौँ । हामीलाई यसमा आत्मगौरव छ । हाम्रा पुर्खाहरूले वीरतापूर्वक लडाइँ लडेर विजय हासिल नगरेको भए आज हामी नेपाली, हाम्रो देश नेपाल रहने थिएन । सयौँको बलिदान र हजारौँको जीवन अङ्गभङ्ग गरेर बचाएको देश हो । 
आधुनिक हतियार र तालिम प्राप्त दक्ष भएर नेपालीसँग युद्ध गर्न आएका ब्रिटिस सेनालाई भाला, तरबार, ढुङ्गामुढा प्रहारबाट ऐतिहासिक विजय हासिल गरी पुर्खाले राष्ट्र, राष्ट्रियता र स्वाभिमान जोगाएका हुन् । त्यति बेला विदेशीसँग निडर भएर नलडेको भए आज यहाँ अङ्ग्रेजको राज हुन्थ्यो । युद्ध गर्न नेपाल आएका ती ब्रिटिस सेनाले नेपालीसँग युद्ध गर्न नसकी आफ्नो हार स्वीकार गरी अन्तत स्वदेशमै फर्कियो । विश्वमा त्यही भएर हामी नेपालीलाई वीर गोर्खाली भनेर चिन्ने गरिन्छ । त्यसैले आज हाम्रो राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमानको ठूलो नारा र भाषण गर्ने गछौँ, तर अहिलेको पिढीले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रताको विषयमा के नै काम गरेका छौँ ? सधै पराधीन भएर लम्पसारको नीतिलाई आत्मसात गर्ने, अनि भन्ने हाम्रो नेपाल, हामी नेपाली । 

नेपालमा अहिलेसम्म राज्यले ठोस रूपमा नीति निर्माण गरी दीर्घकालीन योजना बनाउन सकेका छैनन् । देशमा भएका युवा जनशक्तिलाई सही तरिकाले परिचालन गर्न सकेको छैन । देशको मेरूदण्ड मानिने युवा आफ्नो प्यारो मातृभूमि छोडी विदेशिने गरेका छन । बेरोजगारीले गर्दा सके वैधानिक, नसके अवैधानिक तरिकाले विदेश जानेको संख्या बढिरहेको छ । यो अवस्था केही वर्षसम्म कायम रह्यो भने देश नै युवाविहीन हुने निश्चित छ । कुल जनसङ्ख्याको आधा जनसङ्ख्या अहिले भारत लगायत तेस्रो मुलुकमा विभिन्न कामको खोजीमा छन । केही पढेलेखेका मानिस आफ्नो दक्षता, क्षमता र सीप अनुसार काम र काम अनुसारको पारिश्रमिक नहुँदा बेरोजगार छन । राज्यले विद्यार्थीका लागि सीपमुलक व्यावहारिक शिक्षा नीति बनाउन सकेको छैन । शिक्षित भनिने वर्गहरू अध्ययनको बहाना गर्दैै विदेशका महङ्गो कलेजमा लाखौँ रूपैया खर्च गरी शिक्षा हासिल गरिरहेका छन । पढाइको नाममा सबै सम्पत्ति विदेशमै गुमाउनु परेको छ । 
प्रेमबहादुर शाही

हाम्रो देशमा आफूसँग भएको बृद्धि विवेकको प्रयोग गर्न खोज्यो भने त्यसलाई पालगको संज्ञा दिने गरिएको छ । अझै कुन ठीक हो, कुन बेठिक हो भन्ने समेत छुट्टाई दिने मानिसको कमी छ । हिमाल, पहाड, तराईसम्म कृषि उत्पादनको लागि उर्वर मानिने खेतबारी वषौँसम्म बाझा छन् । घरपरिवारमा सधै छिमेकीसँग मागेर जीवन गुजारा चलाउने प्रचलन बढेको छ । दश रूपैया पर्ने उपभोग्य वस्तुको मूल्य रातारात बृद्धि भई १५ देखि २५ रूपैयासम्म पुगेको छ । देशभर महङ्गीले चुली छोएको छ । आफ्नै देशमा उत्पादित वस्तुलाई प्राथमिकता नदिई विदेशबाट आयात गरेका रङ्गी–चङ्गी उपभोग्य वस्तुमा दिन–प्रतिदिन आकर्षक बढ्दो छ । मेडिइन नेपाल लेखेको वस्तुलाई राम्रो हुँदैन र हामीहरूले त्यो स्वदेशी उत्पादनलाई उपयोग गर्नु हुँदैन भन्ने खराब मानसिकता बनाएका छौँ । अन्य देशबाट आयत गरिएको स्वाथ्यका लागि हानिकारक वा विभिन्न किसिमका रसायन मिसाएका उपभोग्य वस्तुहरू उपभोग गरिहरेका छौँ ।

गाउँघरका जग्गा कौडीको मूल्यमा बिक्री गरी सहरमा ४÷५ मिटर जग्गालाई १०÷१५ लाख रूपैया हाल्ने बानीको विकास भएको छ । पछिल्लो समयमा मानिस सहर र सुविधामुखी बनिरहेका छन । देशमा नीति निर्माण तहसम्म पुगेका भनेर चिनिनेहरू सधै आफ्नो व्यक्तिगत स्वार्थमा मात्र ध्यान केन्द्रित छन् । आँगनको फोहरदेखि राज्यको नीति निर्माण समेत अरूले गरिदिन्छन् भन्ने गलत सोचको विकास भएको छ । देशमा बढ्दै गएको जनसङ्ख्याले बेरोजगार दिनदिनै थपिँदै गएको छ । त्यही बेरोजगारी समस्याले गर्दा देशमा विभिन्न प्रकारका विकृति, विसङ्गति, हत्या, हिंसा बढिरहेका छन । स्वदेशमा भएका स्रोतसाधनको उत्खनन् गरी प्रयोग गर्न राज्यको कहिल्यै ध्यान गएन । गयो त केवल सत्ता र कुर्सीको मात्र । नेपाल बहुजाति, बहुसांस्कृतिक, भौगोलिक विविधता, बहुधार्मिक विशाल एक सिङ्गो नेपाल हो । यहाँ पछिल्लो समयमा विभिन्न उच्छृङ्खल नारा दिएर सिङ्गो विशाल देशलाई चिराचिरा गर्न प्रयास गरिएको छ । अनि विदेशी हस्तक्षेपलाई टुलुटुल हेरेर बस्नु वाहेक अरू के नै छ ? पछिल्लो समयमा देशको आन्तरिक कलहका कारण पनि राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमानमाथि आँच आइरहेको छ ।

विदेशी घुसपैठका कारण देश सङ्कटमा छ । यो समयमा देशका सबै राष्ट्रवादी, देशभक्त र आम जनताको उच्च स्तरको सतर्कता तथा ऐक्यबद्धताद्धारा देशलाई बचाउन आत्मनिर्भरता बनाउन सकियो भने हामी आफै स्वाभीमानी हुने छौँ । होइन भने हामी सधै अरूको गुलामी बन्ने हो भने हामी के को स्वाभिमानी ? साथै यो अवस्था भनेको परनिर्भरताबाट आत्मनिर्भरता बन्ने सबैभन्दा ठूलो अवसर हो । यहि समयमा सबैले ब्यक्तिगत स्वार्थ भन्दामाथि उठेर राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमान बचाउन र देशलाई आत्मनिर्भर बनाउन एकजुट हुन सक्यौँ भने यही नै महान काम हुने छ । 

 लेखक
दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com