... यस्तो थियो त्यो समय - नर्स लक्ष्मी राई

डिबी खड्का,

दुई वर्षदेखि नर्सिङ काउन्सिल नेपालकी रजिस्ट्रारका रुपमा कार्यरत छिन् लक्ष्मी राई। लामो समय नर्सिङ पेशामा बिताएकी उनी अहिले नर्सिङ सेवाको सुधार र नर्सका हकहितमा पैरवी गरिरहेकी छिन्। २०३५ सालमा अनमी भएर नर्सिङ सेवा सुरु गरेकी हुन् उनले। पछि पिसिएल नर्सिङ, बिएन नर्सिङ गर्दै चाइल्ड हेल्थ डभेलपमेन्टमा मास्टर्ससम्म गरिन् उनले। ३८ वर्षे व्यावसायिक जीवनमा उनले अनेक उकाली ओराली झेलेकी छिन्।

पूर्वको धरानमा जन्मिएकी लक्ष्मीले पश्चिमको जाजरकोटसम्म पुगेर सेवा गरिन्। यो क्रममा कतिपल्ट ज्यानकै बाजी थाप्नुपरेको छ उनले। सेवाको समयका सुखदुःख अहिले उनको मानसपटलमा सम्झना भएर बसेका छन्। केहीले सन्तुष्टि दिन्छन्, केही सम्झिदै आङ जिरिङ्ग हुन्छ। सेवा गर्दाका केही सम्झना उनले यसरी सुनाइन्ः

नर्स बन्न अनमी
म सुनसरी धरानको देसीलाइनमा जन्मेकी हुँ। हामीलाई पढाउने एकजना मेडमका श्रीमान् धरान घोपा अस्पतालमा डाक्टर हुनुहुन्थ्यो। मेडमले हामीलाई कहिलेकाहीँ अस्पताल देखाउन लगिरहनु हुन्थ्यो। त्यहाँ डाक्टर र नर्सले दिने सेवा र उनीहरुप्रतिको सम्मान देखेर एसएलसीपछि नर्स पढ्ने निधो गरेँ। तर, अनमी र नर्स भन्ने कुरा छुट्याउन सकिएन। अनमी भनेको पनि नर्स नै हो भन्ने छाप थियो। त्यसैले विराटनगरको नर्सिङ क्याम्पसमा अनमी पढेँ। त्यो बेला अहिलेको नर्सिङ क्याम्पसलाई विस्तार क्याम्पस भनिन्थ्यो।

रात कटाउन बोराको साहारा
लोकसेवा पास गरेपछि मेरो पहिलो पोस्टिङ उदयपुरमा भयो। गाडीको व्यवस्था नभएको समयमा हिँडेरै पुग्नुपथ्र्याे त्यहाँ। दुई दिन लाग्थ्यो। एकजना बहिनीसँग बाटो लागेँ। यो २०३५ सालतिरको कुरा हो। अहिलेको जस्तो बास बस्ने होटेल भेटिन्नथ्यो। हिँड्दै जाँदा जहाँ पुग्यो, त्यहीँ बास खोज्नुपर्ने बाध्यता थियो। एकदिन त्यस्तो ठाउँमा पुगियो, जहाँ बास माग्ने गाउँ पनि थिएन। बाटो छेउमा एउटा थोत्रो झुपडी थियो र झुपडीमा थिए बोरा। हामीले त्यो चिसो रात त्यही बोरामै सुतेर कटायौँ।

त्रिजुगाले बगाएपछि
उदयपुरमै काम गर्दाको कुरा हो। हामीले त्रिजुगा नदी तरेर जानुपथ्र्याे। हामी तीनजना थियौँ। त्यसमध्ये मैले दाई बनाएका एकजना उदयपुरकै मान्छे हुनुहुन्थ्यो भने अर्की एकजना बहिनी थिइन्। उहाँले पहिले ती बहिनीलाई तार्नुभयो। त्यसपछि मलाई लिन आउनुभयो। त्यो नदीको बालुवामा टेक्यो कि भासिइहाल्ने हुनाले होस पुर्याएर तर्नुपर्थ्याे।

हामी विस्तारै तर्दै थियौँ, एक्कासी पानी बढेर आएछ। उहाँको हातबाट मेरो हात छुट्यो, झन्डै एक सय मिटर जति बगे होला। तर, ती दाई किनारबाट दौडिँदै आएर मलाई समात्नुभयो र जोगाउनुभयो। उहाँले त्यसरी नजोगाएको भए सायद म आज तपाईंसँग कुरा गरिहेकी नहुन सक्थेँ।

जाजरकोटको अनकन्टार जंगल
२०३९ सालतिर म जाजरकोट सरुवा भएँ। नेपालगञ्जबाट चौरजहारी विमानस्थल पुगेपछि जाजरकोट जिल्ला अस्पताल पुग्न जंगल छिचोल्नुपथ्र्याे। रातको ११ बजेसम्म त्यो जंगलको बाटो हुँदै हिँडियो। मान्छे देख्दा भरोसा जाग्ने र जनावर देख्दा डर लाग्ने समय थियो त्यो। अहिले जस्तो मान्छेहरु डरलाग्दा थिएनन् ऊ बेला। डर लागे पनि पुग्नुपर्ने ठाउँमा पुगियो। मैले एक वर्ष काम गरेँ त्यहाँ। टुकी बालेर सुत्केरी गराइन्थ्यो। यसरी धेरैको ज्यान जोगाउन पाउँदाको क्षण सम्झँदा अहिले पनि आनन्द लाग्छ।

झन्डै परियो गुन्डाको फन्दामा
म सुर्खेतबाट धरान गइरहेकी थिएँ। सिधै सुर्खेतबाट धरानको बस नभएकाले चितवनमा झरेर धरानको बस पकड्नुपथ्र्याे। सुर्खेतबाट हिँडेको बस रातको ३–४ बजेतिर चितवन पुग्यो। मलाई काठमाडौँबाट धरान जाने बस कुर्नु थियो, त्यो आइपुगेकै थिएन। एउटा मात्रै झुपडी जस्तो होटेल थियो, त्यहीँनेर बसले झारिदियो। एकछिन त झोला समातेर बाटोमै कुरेँ। बस आउने सारसुर नै थिएन। म त्यही होटेलतिर लागेँ। त्यहाँ ४–५ जना केटाहरु चिया खाएर बसिरहेका थिए। मलाई घुरेर हेरे। यहाँ बेकार आएछु भन्ने लाग्यो। डर लाग्दै थियो।

‘चिया खाऊँ’ भनेरे ल्यायो एउटाले। मलाई उनीहरुको चालामाला राम्रो लागेन। चिया खाइनँ। एउटाले त चिया खान आदेश दिएजस्तै गर्यो। अब चाहिँ डरको सीमा रहेन। उसले हात नै समात्न खोजेपछि म झोला टिपेर रोडतिर भागेँ। उनीहरु पछ्याउँदै थिए, एउटा बस रोकेको देखेर त्यहीँभित्र पसेँ।

म अत्तालिँदै आएको देखेर ड्राइभरले गाडी स्टार्ट गरिसकेका रहेछन्, दौडाइहाले। त्यसपछि पो उनले भने, ‘धन्न जोगिनुभयो दिदी। यी त चितवनका नामुद गुन्डा हुन्। मैले चिया पसलमा तपाईंलाई तिनीहरुले घेरेको देखेरै गाडी रोकेको।’ मैले ‘किन बचाउन नआएको त?’ भन्ने प्रश्न गर्दा उनले आफ्नो बाध्यता सुनाए, ‘यही बाटो हिँड्नुपर्छ सधैँ, यिनीहरुसँग निहुखोजे भोलि आफैँलाई गाह्रो पार्छन्, त्यसैले डरलाग्यो।’ उनका कुरा सुनेपछि मलाई झन् बेस्सरी डर लाग्यो, मुटुको धडकन एक्कासी बढेर आयो। मनमनै भनेँ, धन्न म गुन्डाको फन्दाबाट जोगिएँ।

पहिले र अहिले
नर्सिङ सेवाका हिसाबले त्यो समय राम्रै थियो। समाजमा ठूलो इज्जत थियो। सरकारले पनि सेवासुविधा राम्रै दिन्थ्यो। अस्पतालमा नर्सलाई समेत क्वार्टर हुन्थ्यो। दुर्गममा भए भत्ता पाइन्थ्यो। सेवा गर्न पाएकोमा हामी रमाउँथ्यौँ। तलब पनि राम्रो थियो। किनभने जाजरकोट हुँदा मैले दुई सय ९० रुपैयाँ तलब पाउँथेँ। बढीमा ४० नत्र ३० रुपैयाँ खर्चले महिना टर्थ्यो। बाँकी जोगिन्थ्यो।

एउटै पेशामा भए श्रीमान् श्रीमतीको दरबन्दी सकेसम्म एकै ठाउँमा पार्ने चलन थियो। तर, अहिले नर्सिङलाई सरकारले पनि पहिले जस्तो गरी हेरेको छैन। नर्सहरुप्रति जनमानसमा पनि पहिलाको जस्तो सम्मान अहिले पाइँदैन। पहिले स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ महाशाखा थियो। त्यसले नर्सका दुःखसुख बुझ्थ्यो। अहिले त्यो पनि हटाइएको छ। नर्सिङ क्षेत्रमा जनशक्ति थपिँदै गए, समस्या थपिँदै गए, तर सरकारको दृष्टिकोण चाहिँ साँघुरिँदै गएको हो कि जस्तो लाग्छ अचेल।_स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com