कविता - मेरो गाउँ


मेरो गाउँ
मैले पहिलो कदम राखेको माटो

मेरो पहिलो घर
आमाको न्यानो पाठेघर
छोडेर
जब पहिलोपटक यो धुलो स्पर्श गरें
त्यो माटो यहि थियो

उ सँगको पहिलो परिचयमा
मैले केहि थोपा आँशु चुहाएर
साइनो गाँसेको थिएँ चिच्याँउदै
सालनाल सहित ,...

अनि
बिस्तारै . .
र्याल सिँगान भएर
कोबार्दै/घिस्रीदै
उनकै छात्तिमा लात्ती हान्दै
म 'म' हुँदै गएँ
र मेरा कोमल पाउहरू
 यति बलिया बनेका हुन्

खेल्दै गर्दा
यहि ढुँगा माटोको काखमा
पहिलोपटक देखेको हुँ
घरको धुरी हुँदै
आँगनमा खसेको घाम

आमाले आहा...आहा ..
...लहै...लहै गर्दै छात्तिमा टाँस्दा
यहींबाट देखेको हुँ
आकाश गंगामा जुनताराहरु मुस्काएको

मैले सधै खरेटो लाउने आँगन
मैले गोड्ने गरेको गोदावरी,
सयपत्री, बाबरी, बाह्र बजे फूल
दायाँ पट्टि उभिएको जाहिजुही
पश्चिम पट्टि चिउरी बोटमा फुल्ने
झकमक्क सुनाखरी
नजिकै सुनगाभा
हरेक परदेशीहरु बडेमानको ढाकर
टोक्मामा अढेस लगाएर गर्थे
यी मनमोहक प्राकृतिक उपहार

जिन्दगी
खुशीको इन्द्रेणी रङ्गले
पोत्ने बहानामा
समय, परिस्थितिले घिसार्दै घिसार्दै
यति पर पुर्यायो कि
जिन्दगीको आधा हिस्सा
मरुभूमिसँग कुस्ती खेल्दा-खेल्दै बिते

बर्षौं पछी
आजआफैं खेली हुर्केको माटो टेक्दा
भित्र अन्तस्करणमा कताकता
हर्षका रक्तसंचार भैरहेको छ
आहा अनुभूत गर्दैछु
त्यो लोभलाग्दा बाल्यपन

छाम्दैछु
मैले छोडीगएदेखि नमुस्कायेका जाहि फूल
नियाल्दै छु सिमेभूमेगर्ने देउराली
लाँकुरी भन्ज्याङ्ग
मेरा बा ले जोत्ने रिठ्ठाबोट पखेरो
मेरी आमाले मकैमुनी कोदो रोपेको घुरेन बारी
माथि बिरौटा खेत
खैरेनी वन
 सबै-सबै  त्यहीं  रहेछन/उभीइरहेका
तर
फुङ्ग उडिसकेको अस्तित्वको रोगन बोकेर
उभिएका ती सबै भोक हड्ताल गर्न बसेझैँ देखिन्छन्
कता-कता बिरानो भएँ जस्तो
अलमल्ल  पर्छु
 के म यत्ति बिरानो भएँ
आफ्नै माटो देखि !

यासिन बाहिंग

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com