काठमाडौं माघ २२,
श्रीमानले ज्युँदै जलाउन खोज्दा ज्यान गुमाएकी नेपालगन्ज वडा नं.१२ की सुनिता खटिकका श्रीमान राजेन्द्र खटिकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । कार्यालयका अनुसार उनलाई कर्तव्य ज्यान मुद्दामा कारवाही अघि बढाइने छ ।
‘जलाउने श्रीमानलाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ, अब उनको बयान लिने, मुद्दा अघि बढाउने गर्छौं,’ कार्यालयका प्रमुख टेकप्रसाद राईले बताउनुभयो । उहाँका अनुसार प्रहरीसँग श्रीमानविरुद्ध दिएको बयानको भिडियो रेर्कड समेत छ ।
गतमाघ ६ मा घरायसी विवादमा राजेन्द्रले २३ वर्षीया श्रीमती सुनीतालाई बलिरहेको मट्टितेलको टुकीले मुखमा हानेका थिए । सख्त घाइते भएकी सुनीताको नेपालगञ्जमा उपचार हुन नसकेपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो । आइसीयुमा राखिएकी सुनिताको उपचारको क्रममा मंगलवार राती सवा नौ बजे मृत्यु भएको थियो ।
मट्टितेलको टुकीले जलाउन खोज्दा उनको छाती माथिको भाग र एउटा हात नराम्ररी जलेको थियो । आगोको राप धेरै निलेर फोक्सो जलेका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनकी अढाई वर्षीया एक छोरी छिन् ।
छोराले जलाएपछि सुनीतालाई सासुले उपचारको लागि काठमाडौं ल्याएकी थिईन् । सुनिताको सम्पूर्ण उपचार खर्च जिम्मा सरकारले लिएको थियो । भारतको गोरखपुरस्थित दोहरियाकी सुनीता अढाई वर्षअघि विवाह गरी नेपाल आएकी थिइन् ।_महिला खबर;