नखोजिएको किरातकाल

गणेश अधिकारि,

किरातीको इतिहास भेटिएको छैन भनिन्छ । तर खास कुरो– खोजिएको छैन । २९ देखि ३१ पुस्तासम्म शासन गरेको जातिको इतिहास छैन, भेटिँदैन भन्दा आजको पुस्ताले सजिलै किन पत्याइरहेको छ त्यो बरु आश्चर्यको कुरा हो ।

कुनै पनि विद्वान्ले लेखेको नेपालको इतिहास अहिलेको चारभञ्ज्याङभित्रको खाल्डोबाट सुरु हुन्छ । त्यहाँ पानीको ठूलो दह थियो । गोपाल वंशीहरूलाई दक्षिणबाट कृष्ण भगवान्ले लिएर आए । दहको पानी खोलिदिए । मानिस बस्नयोग्य बनाए । गोपालहरूलाई शासक बनाएर राखिदिए । बस्, इतिहास सुरु भयो । त्यसरी इतिहास लेख्ने प्राय: हिन्दु विद्वान्हरू नै थिए । तर यस क्षेत्रमा बारम्बार जाने गरेको भूकम्पतर्फ ती विद्वान्हरू घोत्लिएका भए दह बन्ने र खोलिने कारण अर्कै पत्ता लाग्ने थियो होला । त्यसपछि महिषपालको शासन सुरु भयो । पूर्वबाट किराती आए । महिषपालको भुवन सिंलाई हराए र किराती राजा भए । धेरै पछि फेरि दक्षिणबाटै लिच्छवी आए ।

किरातीलाई हराए । राजा उनै बने । मल्ल आए राजा भए । शाह आए राजै भए । बस्, इतिहास समाप्त भयो । यति नै हो नेपालको इतिहास । पूर्व कहाँबाट किराती आए ? लिच्छवी र मल्ल को हुन् ? शासकमध्ये धेरैले आफ्नो सुरुको नाम परिवर्तन गरिसकेका छन् । तर किरातीले आजसम्म पनि न त स्थान छाडेका छन् न आफ्नो जातिगत नाम नै । आफूलाई अझै उनीहरू किराती नै भन्दै छन् । तर यिनको इतिहास छैन ।

यो जातिको इतिहास खोजी गर्न यही जातिको ‘मुन्दुम’ लाई पल्टाए पनि विभिन्न बाटाहरू भेटिन्छन् । यसका साथै संस्कृत वाङ्मयभित्र पसेर किरातीको इतिहास स्वामी प्रपन्नाचार्य खोज्दै थिए । उनको जीवनको अन्तिम घडीमा संस्कृत वाङ्मयभित्रै ‘तपाईंपछि किराँतीको खोज गर्ने कुनै किराँती छन् ?’ भनेर सोधिएको पंक्तिकारको प्रश्नमा झोक्किँदै उत्तर दिएका थिए, ‘क्षत्री–बाहुन त छैनन्, केको किरातीको कुरा ?’ आज उनी छैनन् । तर अर्काे यस्तै एक प्रश्नको उत्तरमा भाषाविद् डा. तारामणि राई भन्छन्, ‘हामी किरातीको ‘पाछा र सामै’ भित्र पस्दै गर्दा संस्कृत भाषाभित्र नपसी नहुने देखिँदै छ ।’ तयस्तै ‘नछुङ’ लाई मुन्दुमको स्रोतका रूपमा लिइएको छ ।

‘नछुङ’ प्राय: सबै जातिमा हुने गर्छ । यसका नाम मात्र फरक हुने गर्छ । खस जातिमा यसलाई ‘धामी’ भनिन्छ भने राई जातिमा ‘डोपा’ । लिम्बुले ‘फेदाङमा’ भन्छन् भने सुनुवारले ‘नासो’ । जिरेलले ‘फोक्पो’ र तामाङले ‘बोन्पो’ । गुरुङले ‘ल्किवे’, चेपाङ र थकालीले ‘पाँडे’ र थारूले ‘गुरवा’ अनि भोटेले ‘लोवेन’ भन्छन् । (मुन्दुम : सृष्टिकथा, सम्पादक भोगीराज चाम्लिङ)

मुन्दुमअनुसार किरातीको नछुङ अलिक भिन्न प्रकारको देखिन्छ । यसले मानव सृष्टिकै कथा भन्छ । तर अलिक अगाडि बढेर यसले किरातीसँग जोड्छ । यसरी किरातीसँग जोडेर भनेका कथाले एउटा दर्शनको सिर्जना गरेजस्तो लाग्छ । खोटाङ जिल्लाको हलेसीनजिकै रहेको ‘तुवाचुङ र जायजुम’ डाँडामा किरातीका आदिमाताहरूले तान बुनेको कथा र मुन्दुमलाई जोडेर हेर्दा यस दर्शनले मानवजातिको विकासको कृषियुगबाट आफ्नो कथा सुरु गरेको छ ।

यसै क्रममा सो पुस्तकको भूमिकामा प्रा.डा. नोबलकिशोर राईले ‘हजार माइलको यात्रामा’ शीर्षक दिएर लेखेका छन्, ‘दुईखुट्टेहरूको उत्पत्ति र विकासक्रम विज्ञानको प्रादुर्भावभन्दा लाखौं वर्ष पहिलेको कुरा भएकाले नै हाम्रा पुर्खाहरूले भनेका र गरेका अभ्यासहरू जेठा हुन् । यही आधारमा रचना भएको हाम्रो पुख्र्याैली अभ्यास र ज्ञान नै मुन्दुम हो । यी मुन्दुमहरू नै हाम्रा श्रुति र स्मृति हुन् ।’

भाषाको विकासपछि लिपिबद्ध गरिएका वेद तथा सम्पूर्ण संस्कृत वाङ्मयमा ‘किराती यसरी लेखिएका छन्’ भनेर वाल्मीकि रामायणको एउटा सानो उदाहरण दिएर प्रपन्नाचार्यले लुकाउन खोजिएको किरातीको इतिहासको यथार्थ खोलिदिएका छन् । संस्कृत वाङ्मयभित्रको सबैभन्दा जेठो महाकाव्य वाल्मीकि रामायण हो । त्यसमा किरातीेबारे लेखिएको एउटा पद्यांश यस्तो छ : 
‘येषांमाश्रयास्सर्वे विचेया (विज्ञेया:) काननौकस: ।
 कर्णप्रावरणाश्चैव तथा चाप्योष्ठकर्णका: ।।
 घोरलोहमुखाश्चैव जवनाच्चैकपादका ।
 अक्षया बलवन्तश्च तथैव पुरुषादका ।
किरातास्तीक्ष्णचूडाश्च हेमाभा: प्रियदर्शना: ।।
आममीनाशनाश्चापि किराता द्वीपवासिन: ।
अन्तर्जलचरा घोरा नरव्याघ्रा इति स्मृता: ।।
यी माथिका ७ हरफका श्लोकहरूमध्ये २ हरफमा मात्र किराती शब्द आएको छ । बाँकी हरफहरूलगायत सबै हरफहरूमा किराती कस्ता थिए भन्ने कुराको उत्तर पाइन्छ । पहिलो कुरा त महर्षि वाल्मीकिले ‘किराती’ किन लेखे ? यतिमात्र होइन उनि आफूलाई ‘अहं पूरा किरातेषु किरातैस्सह वर्धित:’ म पहिले किरातहरूसँग रहेर बढेहुर्केको थिएँसम्म भनेका छन् ।

सीतालाई खोज्ने क्रममा राम, लक्ष्मण र सुग्रीवका बीचमा छलफल भएपछि सुग्रीवले वानर सेनालाई निर्देशन दिने क्रममा यो माथिको पद्य लेखिएको हो वाल्मीकि रामायणमा । ‘रावणले सीतालाई लगेर किरातीहरूको माझमा पनि लुकाएको हुन सक्छ । त्यसकारण त्यहाँ पनि खोज्न जाउ’ भनेर सुग्रीवको मुखबाट भनाइएको वाल्मीकिको पद्य रचना हो यो । यो सुग्रीवले भनेको कुरा भन्दा पनि वाल्मीकिले लेखेको कुरा हो भनेर बुझ्नुपर्ने हुन्छ । तर किराती जातिप्रति ईश्र्याभाव राख्ने कथित विद्वान्ले धेरै अघि नै यस पद्यको वास्तविक अर्थलाई अनर्थ गरेर लेखिएको र गोरखपुर गीता प्रेसबाट छापिएको वाल्मीकि रामायणको एउटा भाषा टीकामा लेखिएको गलत अर्थ देखेपछि प्रपन्नाचार्य ‘यस पटक मीतको होइन मेरै छोरो मरेको’ भन्ने अर्थमा भारतवर्षभरि खोजतलास गर्दै जाँदा पण्डित काशीनाथ आचार्यले लेखेको ‘रामायण तात्पर्य टीका’ नामक पुस्तक जम्मुकश्मीरको ‘रघुनाथ पुस्तकालय’ मा भेट्न पुग्छन् । यस पद्यको सही अर्थ लगाएको पुस्तक आज पनि अमुद्रित र खण्डित अवस्थामा भेटेको कुरा उनले आफ्नो ‘प्राचीन किरात इतिहास’ पुस्तकमा लेखेका छन् ।

गोरखपुर प्रेसले छापेको टीकामा ‘कर्णप्रावरणाश्चैव तथा चाप्योष्टकर्णका:’ लाई ओठदेखि खुट्टासम्म कानले ढाकिएका लामकाने, ‘....जमनाचैकपादका: लाई एकखुट्टे भएर पनि वेगले दौडिने, शरीरको तल्लो भाग मानिसको जस्तो देखिने तर माथिल्लो भाग बाघको जस्तो, द्वीपबासी, जलचरजस्ता, ‘काननौकस:’ लाई जंगलमा घरभएका जंगली, गुफाबासी भनेर अनुवाद गरिएको छ । तर पण्डित काशीनाथ आचार्यले त्यो पद्यांशलाई अनुवाद गर्दा कान र ओठसमेतलाई छोप्तै खुट्टासम्म आउने कपडा लगाएका, एक खुट्टाले मात्रै दौडिदा पनि दुई खुट्टाले दौडिनेले भेट्न नसकिने, घर वरिपरि जंगल लगाएर वस्ने भएकाले ‘वनौकस: , काननौकस: भनेर किरातीको परिचय वाल्मीकिले दिएका हुन् भनेर लेखेका छन् ।

आज पनि माझकिरातका किरातीहरूले ‘जंगलमा घर’ होइन बरु ‘घर वरिपरि जंगल’ लगाएर बसेका छन् । पानी त सबैलाई चाहिन्छ । तर किरातीको बारेमा यसो भन्न सकिन्छ, ‘जहाँ पानी छ त्यहाँ किराती छ, जहाँ किराती छ त्यहाँ पानी छ’ भनेर बुझिन्छ अहिले पनि । यदि पानीको मुहान पहरामा छ भने पनि किरातीले बाँसको डुँड लगाएर पनि सो पानी घरमा पिउनको लागि मात्र होइन घर वरिपरिको जंगलका लागि ल्याएको हुन्छ । 
आर्यहरू पूर्वतर्फ आउने क्रममा बाटामा राजा असमातीसँग युद्ध गर्नुपरेको थियो । असमाती किरातीका राजा थिए । उनीहरूले शताब्दियौंदेखि आवाद गर्दै आएको हराभरा भूमि देखेपछि आर्यहरू लोभिएका थिए । असमाती राजालाई आर्यहरूले त्यति सजिलै जित्न सकेनन् । यूद्ध चालीस वर्षसम्म रह्यो । अन्त्यमा आर्यहरूले षडयन्त्र गरेर असमातीको हत्या गराए । त्यसपछि किरातीहरू पूर्वतर्फ लागे । अझै किरातीहरू पूर्वमै छन् । यो कुरा वेदमै लेखिएको छ ।

खोटाङ र भोजपुर जिल्लाभरि किराती भाषामा राखिएका स्थान नामहरू छयाप्छयाप्ती छन् । टुवा, रावा, सावा, रसुवा, पिखुवा, इर्खुवा, चिर्खुवाजस्ता खोला यसका उदाहरण हुन् । खोटाङको नाम ‘खोताछा’ भन्ने किराँतीको पाछाबाट बनेको भनेर काशी राई र हरि राईले ‘बादलभित्रका पाँच तारा’ भन्ने पुस्तकमा लेखेका छन् ।

नौ सय वर्षपहिला हर्कवली राई भन्ने किराती जातिका विद्वान् थिए भन्ने कुरा बिस्तारै खुल्दै छ । तिनको इतिहास खोज्न नेपालले जाँगर चलाएको छैन । त्यो पत्ता लगाउन पाए नेपालकै गौरव सावित हुने थियो । संस्कृतका तमाम ग्रन्थहरूको अध्ययन गरेर किरातीको इतिहास खोज्ने प्रपन्नाचार्य पनि एउटै थिए । यद्यपि उनको खोजमा कतिपयलाई चित्त बुझेको छैन । 

खोटाङकै युवा किरात मुन्दुम तथा इतिहास अनुसन्धानकर्मी भोगीराज चाम्लिङले मुन्दुमले बताउने किराती आदिमथलो ‘नियामा’ बारे अध्ययन गर्ने क्रममा चीनमा ‘खोटाङ’ भन्ने स्थान रहेको बताउँछन् । 

किरातास्तीक्ष्णचुडाश्च हेमाभा: प्रियदर्शना: 
लामो केश टुप्पीजस्तो बनाएर पाल्ने, सुनजस्तै पहेला, हेर्दै प्रियलाग्ने रङ्रूप भएका किराती हुन् भनेर वाल्मीकिले लेखेको पशुपतिमा भएको विरुपाक्षको मूर्तिमा समेत मिल्न गएको देखिन्छ । प्रपन्नाचार्यका अनुसार उनले श्रीलंकामा एउटा मूर्ति देखेका थिए जसको मुन्तिर ‘कपिल’ लेखिएको थियो । द्वैतवादका प्रवर्तक तथा सांख्य दर्शनका प्रणेता कपिललाई प्रपन्नाचार्य कपिलकिरात भन्छन् । जातको त त्यसबखत मतलब थिएन । कि त किराती थिए कि द्रविड । आर्य त पछि आएका हुन् यस भूमिमा ।_साभार-कान्तिपुर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com