गज़ल : By, कोमल भट्ट
व्यथा नौ थरीका पसे जिन्दगीमा
भए सर्प जस्तै डसे जिन्दगीमा
न बाटो तताए न माने भनेको
जमाएर डेरा बसे जिन्दगीमा
धुरुक्कै बनाए सयौं बाध्यताले
अँठ्याएर घाँटी कसे जिन्दगीमा
भरोषा र आशा पुगे दूर ज्यादै
दुवैले खरानी घसे जिन्दगीमा
बन्यो भाग्य वैरी तथा याम वैरी
सधैं तीक्ष्ण छुरी धसे जिन्दगीमा
सबै नै परे खाँदमा स्वप्न मीठा
बृथामा कठै ती फसे जिन्दगीमा
भयो वृद्धता देह भो लम्पसार
अहो ! आँसु मात्रै खसे जिन्दगीमा
(भुजङ्गप्रयात छन्द)
६ अक्षरमा विश्राम
-कोमल भट्ट
चन्द्रागिरी न.पा -२१ काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका