श्रीमानले बिहे मात्रै गरे जिम्मेवारी लिएनन्

सिन्धुपाल्चोक माघ १२,

बिदुर आचार्य : विकट गाउँ हगामकी ६२ वर्षीया माइली तामाङको बास जस्तापाताले बेरेर बनाएको सानो टहरामा छ । टहराको एउटा कुनामा खाना बनाउँने चुलो, ध्वाँसोले काला बनाएका ओढ्ने ओछ्याउनेसहितको ओछ्यान र त्यहीँ अर्को कुना बाख्रा खोर ।

उनको नाममा एक टुक्रा जग्गा छैन, त न आम्दानीको स्रोत नै । उनको जीवनवाट खुसी लुटिएको दशकौं वितिसक्यो । विवाह भएको १४ वर्षपछि श्रीमानले अर्की श्रीमती बिहे गरे । त्यसपछि उनको दुर्दिन सुरु भयो ।

माईलीका श्रीमानकी पहिली श्रीमतीले एक छोरा र छोरी जन्माएपछि अकालमा संसार छाडिन् । त्यसपछि बच्चाको हेरचार गर्न भन्दै उनले माईलीलाई भित्र्याए । बिहेपछि जीवन राम्रै चल्दै थियो । उनीबाट पनि एक छोरी जन्मिईन् ।

तीनै जनालाई आफ्नै जस्तो गरी हुर्काउँदै थिईन् । अकस्मात उनका श्रीमानले अर्को बिहे गरे । श्रीमानले तीनैजना सन्तान् माईलीको जिम्मामा छोडेर कान्छीसँग वसे । माईलीलाई छोराछोरी हुर्काउने जिम्मेवारीमात्र दिए सम्पति दिएनन् । अहिलेसम्म पनि उनको नाममा सम्पत्ति छैन । ‘श्रीमानले अहिले फेरी बिहे गरेका छन् भन्ने सुनेकी छु’ उनी भन्छिन् ।

श्रीमान बिहेमात्र गरेर मोजमस्तीमा लागे । उनको जिवनमा ठुलो समस्या थपिँदै गयो । ‘एकातर्फ छोराछोरी हुर्कंदै गए, उनीहरूलाई पढाउनै पर्‍यो’ उनी भन्छिन् ।

अचानोको चोट खुकुरीलाई के थाहा हुन्छ ? ‘त्यस्ता हजारौँ चोट खाएर छियाछिया भएकी छ’ गहभरी आँसु पार्दै उनले भनिन्, ‘बच्चाहरू बढ्दै गए, खाने अन्न थिएन, न त उब्जाउने पाटो, तीनजना बच्चा दुःखजीलो गरी हुर्काएँ ।’ आफूमाथि भएको अन्यायविरुद्ध कहाँ जाने उनलाइ पत्तो छैन । त्यसैले उनी कहीँ कतै गएकी छैन न कसैले तीमिमाथि अन्याय भयो भनेर न्याय खोज्न सहयोग नै गरेका छन् ।

अहिले तीनैजना छोराछोरीको भरोसामा बाँचेकी छिन् उनी । छोरा बिहे गरेर कमाउने आशले खाडीमुलुक भासिएको छ । छोरी र बुहारी काठमाडौं बस्छन् । बुढेसकालमा खानको लागि उनी आफै दश नङ्ग्रा खियाउन बाध्य छिन् ।

आफ्नै कोखवाट जन्मिएकी छोरीको आशा लागेको रहेछ उनलाई । बुढेसकालको सहारा हुन्छे भन्नेमा ढुक्क भने छैनन् । ‘सँगै जिउने मर्ने बाँचा गरेर भित्र्याएका श्रीमानले त धोका दिए, अर्काको छोराको के भरोसा भयो र ?’ निराश हुँदै उनले भनिन् ।

बस्दै आएको छाप्रो भूकम्पले भत्काएपछि फेरी छोराले बनाइदिएको जस्तापाताको टहरामा बस्दै आएकी छिन् । स्थायी आवास बनाउन अनुदान ५० हजार रुपैयाँ समेत पाउन नसकेपछि झन् समस्या थपिएको उनी बताउँछिन् ।
महिला विकास कार्यालयकी अधिकृत नानीमाया वस्नेत जिल्लामा वहुविवाहका घटना अत्यन्तै धेरै भएपनि विभिन्न दवाव र प्रलोभनका कारण मिलापत्र भै रहेको बताउँछिन् । दीर्घकालमा यसबाट महिला पीडित भएको उहाँको बुझाई छ । चालु आर्थिक वर्षमा जिल्लामा जम्मा ३ वटा मात्र बहुविवाहविरुद्ध उजुरी दर्ता भए ।_महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com