आफै खुल्दै एचआइभी संक्रमित

धनगढी, ११ माघ ,

 “मुम्बइमा बसेका बेला साथीभाइको लहलहैमा लाग्दा एचआइभी सङ्क्रमित भइछ, थाहै भएन ।”

झन्डै १४ वर्ष मुम्बइमा काम गरेर फर्किएका कैलालीको गोदावरी गाविसका दिलबहादुर ओडले निसङ्कोच यस्तो जवाफ दिनुभयो । बिरामीले थला परेको खबर पाएपछि गएकी श्रीमती बिन्द्राले घर फिर्ता ल्याएर रगत जाँच गराउँदा उहाँमा एचआइभी सङ्क्रमित भएको पत्ता लाग्यो । लगत्तै श्रीमती बिन्द्रालाई समेत सङ्क्रमित भएको पत्ता लाग्यो । सन्तान नभएका ओड दम्पती हाल नियमित रुपमा रोगको प्रतिरोधी क्षमता बढाउने एआरटी औषधि खाइरहनुभएको छ । एकपछि अर्को गर्दै गोदावरी क्षेत्रमा एचआइभी सङ्क्रमित बढ्न थालेपछि उनीहरुको हकहितका साथै रोगको रोकथामका लागि केही काम गर्ने उत्प्रेरणा सो क्षेत्रका सङ्क्रमितमा जाग्यो र फलस्वरुप गोदावरी प्लस नामको सङ्क्रमितको संस्था स्थापना भयो ।
“सङ्क्रमित बढ्न थालेपछि संस्थामार्फत पहिले आफू खुल्ने, त्यसपछि अरु सङ्क्रमितलाई पनि खुलाउने अभियानमा लागेका छौँ,” संस्थाका अध्यक्षसमेत रहेका ओडले भन्नुभयो – “यसले गर्दा सङ्क्रमण भएपछि लुकाएर राख्ने प्रवृत्ति हट्न थालेको छ ।”

सङ्क्रमितहरुको स्वास्थ्य अवस्था बुझेर गाउँमा रोग रोकथाम र सङ्क्रमितको उपचारको बारेमा समूह बनाएर नै छलफल गर्ने, लुकेर बसेकाहरुको खोजी गरी उनीहरुलाई औषधि नियमित रुपमा खान सल्लाह दिने लगायतका क्रियाकलाप संस्थाले गर्दै आएको छ ।

जिल्लामा गठन गरिएको यो संस्थासहित छिमेकी अर्को गाविस मालाखेतीमा समेत गठन गरिएको ‘मालाखेती प्लस’ सङ्क्रमितहरुको स्वास्थ्य उपचारमा सक्रिय रहँदैआएको छ । गोदावरी प्लसमा १५२ जना र मालाखेती प्लसमा झण्डै ४० जना सङ्क्रमितहरु सदस्य छन् ।

चुरे पहाडको फेदमा जिल्लाको पश्चिमी सीमाको गाविस गोदावरीमा एचआइभी एड्सको समस्या बढ्दै गएको देखिएपछि रोकथामका लागि अभियान थाल्नुपर्ने चेतना जागेको सङ्क्रमितहरुको भनाइ छ ।

गोदावरीमा मात्रै करिव पाँच सय सङ्ख्यामा एचआइभी सङ्क्रमित रहेको अनुमान गरिएको छ । तर यसको आधिकारिक तथ्याङ्क भने कसैसँग छैन ।

रोगका बारेमा गोदावरी प्लस लगायतका संस्थाले सञ्चालन गरेको चेतनामूलक अभियान सँगै रोग लुकाएर राख्नेहरु पहिले भन्दा खुल्न थालेको स्थानीय युवक सुरेश कुँवरले आफ्नो अनुभव सुनाउनुभयो ।

“अधिकांश सङ्क्रमित युवा कामको खोजीमा तीन÷चार महिनाका लागि औषधिको जोहो गरेर भारत जान्छन्,” कुँवरले भन्नुभयो – “यसले गर्दा गाउँमा युवा उमेरका मानिस भेटाउन गाह्रो भएको छ ।” यसरी भारत जानेहरुले औषधि सकिएपछि पुनः औषधि लिन घर फर्किने गरेको बताइएको छ ।

गाउँमा ‘नयाँ रोग‘ र ‘बम्बैको रोग’ को नामले एचआइभीलाई चिन्ने गरिन्छ । एचआइभी एड्सकै कारण कसैको मृत्यु भएमा नयाँ रोग वा बम्बैको रोगले मृत्यु भएको भनेर छरछिमेकीहरुलाई खबर गरेर मृतकको अन्तिम संस्कार गर्ने गरिन्छ ।

एड्सकै कारण गोदावरीमा मात्रै अहिले सम्म १४÷१५ जना बालबालिकाका बुवाको मृत्यु भएपछि ती बालबालिकाको हेरचाह सङ्क्रमित विधवा आमाले गरिरहेका छन् । यी कतिपय बालबालिकाको शिक्षाका लागि उद्धार नेपाल नामको गैरसरकारी संस्थाले सहयोग गरिरहेको छ । तर यस्ता बालबालिकाको उचित शिक्षा र स्वास्थ्य उपचारको सन्दर्भमा नियमित रुपमा रेखदेख गर्ने तर्फ कसैको ध्यान नपुगेको बताइएको छ ।

सेती अञ्चल अस्पताल धनगढीको परिसरमा सञ्चालनमा रहेको एआरटी सेन्टरमा मात्रै जिल्लाका ६२५ जना एचआइभी सङ्क्रमितले हाल एआरटी (एन्टी रेक्टोभाइरल थेरापी) औषधि नियमित सेवन गरिरहेका छन् ।

यो औषधि सेवन गर्नेहरुमा २० देखि ४५ उमेर समूहका व्यक्ति बढी रहेको एआरटी फाँटका प्रमुख लोकराज पनेरुले बताउनुभयो । असुरक्षित यौन सम्पर्क, लागुपदार्थको दुव्र्यसन, रगत वा अङ्ग प्रत्यारोपण गर्दा यो रोगको सङ्क्रमण हुने गरेको बताइन्छ । यस बाहेक सङ्क्रमित आमाबाट जन्मिने बच्चामा समेत यो रोगको सङ्क्रमण हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

एड्सबाट पीडित पुरुषको एआरटी औषधि खान नपाउँदै मृत्यु हुने गरेपछि बढी सङ्ख्यामा तिनका श्रीमती एकल महिलाहरु नै एआरटी औषधि खान आउने गरेको बताइएको छ । शरीरको रोग प्रतिरोधात्मक अवस्था पत्ता लगाउन ‘सिडी फोर’ मेसिन र एचआइभी भाइरसको सङ्ख्या पत्ता लगाउने र ‘भाइरल लोड’ मेसिनको व्यवस्था एआरटी सेन्टरमा रहेको छ ।

रोगबारे भएको जनचेतना अभिवृद्धिसँगै सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो पटक घट्दो रुपमा रहेको पनेरुले बताउनुभयो । यो रोग रोकथाम र उपचारमा कैलालीमा दश भन्दा बढी संस्था कार्यरत रहेका छन् । तर अधिकांश संस्था निस्क्रिय अवस्थामा रहेको बताइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी मोहनदेव भट्टले कैलालीमा रोग रोकथाम तथा उपचार कार्यक्रम सुरु भएदेखि हालसम्म एक हजार एक सय जना सङ्क्रमितहरुले टीकापुर र धनगढीमा रहेको एआरटी सेन्टरमार्फत औषधि खाइरहेको जानकारी दिनुभयो । सङ्क्रमितमध्ये हाल सम्म २४८ जनाको मृत्यु भएको छ ।

यो रोग रोकथामका लागि नेपालमा सन् २०१६ देखि २०२१ सम्मका लागि ‘फास्ट ट्रयाक टार्गेट’ (द्रुतमार्ग लक्ष्य) सहितको योजना बन्न लागेको कार्यालयका एचाइभी फाँटका प्रमुख महेश चन्दले बताउनुभयो । यो योजना अन्तर्गत ‘९०–९०–९०’ को रणनीति बनाउन लागिएको छ । रणनीतिमा पहिलो ९० अङ्कले अबको शङ्कास्पद जनसङ्ख्याको ९० प्रतिशत जनसङ्ख्यालाई एचआइभीको परीक्षण गराउने भन्ने बुझिन्छ ।

यस्तै दोस्रो ९० अङ्कले एचआइभी सङ्क्रमितमध्ये ९० प्रतिशतलाई एआरटी सेवा उपलब्ध गराउने र तेस्रो ९० अङ्कले एआरटी सेवा लिनेहरुमा भाइरल लोड (जीवाणु दर घटाउने) भन्ने बुझिन्छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com