नेपालगन्ज माघ ९,
बाँके जिल्ला सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै गएको छ ।
एक वर्षको अवधिमा भारत र खाडीमुलुक गएर हराएका मध्यपश्चिमाञ्चलका करिब ७३१ जना महिला तथा बालबालिकाका आफन्तले माइती नेपालमा खोजीका लागि दिएको निवदेनले अवैधरुपमा रोजगारका लागि खाडीमुलुक जाने महिलाको सङ्ख्या बढदै गएको पुष्टी गरेको छ ।
माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार, भारत र खाडी मुलुकमा गएर हराएकामध्ये हालसम्म एक सय १३ जना फेला परेका छन् । फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौन शोषण भएको पाइएको उहाँले जानकारी दिनुभयो ।
कामको प्रलोभनमा अवैधरुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी ७० प्रतिशत खाडी मुलुक र बाँकी भारतमा हराएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ । संयोजक कोइरालाका अनुसार, विगत वर्षभन्दा यसवर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार प्रतिशत समेत बढेको छ ।
राम्रो तथा सुरक्षित काम दिलाइदिने प्रलोभनमा पारी महिलालाई अवैधरुपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेको संयोजक कोइरालाले बताउनुभयो ।_महिला खबर: