मोरङ्गमा महिला हिंसाका घटना त्रिसठ्ठी, रुकुममा ३ को हत्या

सुनसरी पुष ३,

मोरङमा एक वर्षको अवधिमा ६३ वटा महिला हिंसाका घटना भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्रका अनुसार सन् २०१६ को जनवरीदेखि नोेभेम्बरसम्मको अवधिमा घरेलु हिंसाबाट ५० जना महिला पीडित भएका छन् । सो अवधिमा बलात्कारबाट २३ जना र बलात्कारको प्रयास र यौनजन्य दुव्र्यवहारबाट तीन जना पीडित भएका छन् । बलात्कारको घटनाबाट पीडित २३ मध्ये १६ जना बालिका रहेका छन् । त्यसैगरि बहुविवाह र बोक्सीको आरोप दुव्र्यवहारका एक, एक घटना भएका छन् ।

मोरङमा मानव अधिकार हनन् र ज्यादतीका ९९ वटा घटना अभिलेख गरिएको इन्सेक मोरङ प्रतिनिधि इन्दिरा भट्टराईले जानकारी दिनुभयो । उहाँले मोरङमा एक वर्षको अवधिमा चारजना महिलाको हत्या भएको तथ्याकं प्रस्तुत गर्नुभयो । उहाँले सो अवधिमा गैरराज्य पक्षबाट १० जना पुरुष र ३ जना महिलाको हत्या गरिएको र राज्यपक्षबाट २ पुरुष र १ महिलाको हत्या भएको सूचना दिनुभयो ।

यसैवीच रुकुममा घरेलु हिंसाका कारण तीनजना महिलाले ज्यान गुमाएका छन् भने अन्य दुई महिलाको रहस्यमय रुपमा हत्या गरिएको छ । इन्सेकका अनुसार बोक्सी आरोपको पनि एक घटना रहेको छ भने बलात्कारका नौवटा घटना भएका छन्, जसमा ११ वर्षकी बालिकादेखि ५० वर्षकी वृद्धा समेत पीडित भएका छन् ।
त्यस्तै महिला हिंसा अन्र्तगत नौवटा घटना बहुविवाहका छन् । जिल्लामा यो वर्ष महिला अधिकार हनन्का घटनामा वृद्धि भएको रुकुमका ईन्सेक प्रतिनिधि आर्दश केसीले जानकारी दिनुभयो । उहाँले प्रहरी कार्यालयमा धेरै घटना दर्ता भएपनि मुद्दाको रुपमा अगाडि बढाइएका घटनालाई मात्र इन्सेकले आफ्नो प्रतिवेदनमा समेट्ने जानकारी दिनुभयो ।_महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com