इन्दिराले गरिन् बुवाको किरिया

 ओखलढुंगा मङ्सिर २०,

पूर्ण प्रसाद न्युअपाने : छोराले मात्रै बुबा आमाको काजकिरीया गर्ने नेपाली चलनलाई ओखलढुंगाको तलुवा १ की इन्दिरा कटवालले चुनौती दिएकी छन् । नसा सम्बन्धी रोगका कारण बुबा रामजी कटवालको ५७ वर्षको उमेरमा मंसिर १४ गते निधन भएपछि इन्दिराले बुबाको किरीया गरेकी हुन् । आमाले ३ वर्षको हुँदा छोडेर हिँडेपछि बुबासँगै बस्दै आएकी इन्दिराले बुबाको निधनपछि आफ्नो बुबाको किरीया आफैँ गर्ने भनेपछि सहयोग गरेर उनैलाई काममा राखिएको ईन्दिराका काका कुल बहादुर कट्वालले बताए । १८ वर्षिया ईन्दिरा परिवारकी एक्ली छोरी हुन् ।

एक दशकअघि देखि उपचार गराईरहेका रामजी कटवालको उपचारकै क्रममा मंसिर १४ गते ओखलढुंगा सामुदायिक अस्पतालमा निधन भएको थियो । उपचार गराउँदा गराउँदै भएभरको सबै सम्पत्ती सकिएपछि अस्पतालले पछिल्लो समय निःशुल्क उपचार गरिदिएको थियो ।

छोरा छोरा भनेर दौडिने नेपाली समाजलाई चुनौति दिन र बाँचुन्जेल चासो नदिने अनि मरेपछि किरीया गर्नमात्र जम्मा हुने नेपाली समाजलाई चुनौती दिन आफ्ना स्वर्गीय बुबाको अन्त्येष्टिलगायतका सम्पूर्ण क्रियाकर्म आफैंले गरेको इन्दिराको भनाई छ । सानैमा छाडेर हिँडेकी आमा सम्पर्कमा नरहेको र बुबाको पनि निधन भएपछि साह्रै एक्लो महसुस भएको उनले बताउने गरेकी छन् ।

समाजमा छोराकै पछि लाग्नेका लागि यो गतिलो जवाफ भएको स्थानियको केदारबाबु बस्नेतले बताए । इन्दिराको शिक्षा,दिक्षाको व्यवस्थापन गर्न सबैले सहयोग गरेर गर्न आवश्यक रहेको बस्नेतको भनाई छ ।महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com