काठमाडौँ, ११ पुस ,
स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्थानीयस्तरमै निःशुल्क मिर्गौला परीक्षणको व्यवस्था गरिएकाले तत्काल मिर्गौला परीक्षण गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
नेपाल प्रेस युनियनले यहाँ आज आयोजना गरेको पत्रकारको निःशुल्क मिर्गाैला परीक्षण कार्यक्रममा मन्त्री थापाले मिर्गाैला परीक्षणका लागि प्रयोग हुने ‘डिपिस्टिक किट’ सबै जिल्लामा पठाइसकिएकाले त्यसको उपयोग गर्न सबैलाई आह्वान गर्नुभयो ।
हरेक छ/छ महिनामा मिर्गौला परीक्षण गर्नुपर्ने भए पनि नेपालमा धेरैले परीक्षण नगरेकाले गाउ ँगाउँमा परीक्षणको व्यवस्था गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य मन्त्रालयअन्तर्गत, आपूर्ति व्यवस्थापन महाशाखाले गत कात्तिकको दोस्रो साता नै देशभरि पहिलो चरणमा २० लाख जनाको मिर्गाैला परीक्षण गर्न पुग्ने गरी किट पठाइसकेको छ ।
आवश्यकतानुसार अरु पनि किट पठाउन सकिने महाशाखाको भनाइ छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई स्थानीय आवश्यकतानुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाउन लगाइएको महाशाखाका निर्देशक भीमसिंह टिंकरीले जानकारी दिनुभयो ।
सो अवसरमा १३२ पत्रकारको मिर्गाैला परीक्षण गरिएकामा सात जनामा सामान्य समस्या देखिएकाले थप उपचारका लागि परामर्श दिइएको थियो । रासस :