अवसरले देखायो घुम्टो बाहिरको संसार

सिरहा पौष १२,

सिरहा जिल्लाको नहरा वल्कवा गाविस–४ की समुन्द्रीदेवी महतो कुनैबेला घरको संघार काटेर हिँड्नु समयको बर्बादी हो भन्ने ठान्थिन्। अनुहार सँधै घुम्टोले ढाकेर हिड्ने उनी अपरिचित मानिससँग बोल्नुपर्दा लाजले भुतुक्कै हुन्थिन्। तर, तिनै समुन्द्रीदेवी अहिले गाविसको बजेट खर्चको हिसाबकिताब हेर्छिन्, हिसाब दुरुपयोग भेटिए तुरुन्तै कारबाही गर्छिन्। वडा नागरिक मञ्चको अध्यक्ष बनेयता उनको दिनचर्या यसरी नै बदलिरहेको छ।
गाविसको कामबारे छलफलपछि सचिव गनेशी महरा , संगीता ठाकुर, र त्रिपुरा झा।
वडा नागरिक मन्चको नेतृत्व गर्न गाउँलेले उनलाई सिफारिस गरेपछि उनले नाईं भन्न सकिनन्, तर अहिले सही निर्णय गरेकोमा उनी आफैं दंग छिन्। ‘पहिला त केटा मान्छेसँग बोल्दै बोल्दिनथें, घोग (घुम्टो) तानेर बस्थें। अब लाज डर त के, कहाँ अन्याय भयो भनेर आवाज उठाउन मन लाग्छ,’ उनले सुनाईन्।

उनकै नेतृत्वले गाविसमा महिलाका लागि छुट्याइएको बजेट अन्यत्र खर्च हुन रोकियो। सयौं महिलाले गाविस भवनमा पुगेर खबरदारी गरेपछि त्यो बजेट महिलाले नै उपयोग गर्न पाए। उनी भन्छिन्, ‘वडा नागरिक मन्चको अध्यक्ष भएपछि विभिन्न तालिम लिन पाएँ, त्यसले मलाई धेरै कुरा सिकायो। सबैभन्दा पहिले त म घुम्टोबाट बाहिर आएँ।’

नहरा वल्कवा ४ की जगतारा राईन महतो पनि पहिले बोल्न डराउँथिन्। तर, समुन्द्री देवीको अगुवाईमा तालिम लिन थालेपछि उनी अहिले अरुलाई समेत सिकाउन जान्ने भएकी छिन्। ‘समुन्द्रीदेवी वडा नागरिक मन्चको अध्यक्ष भएपछि हामीलाई घर बाहिर आउन सजिलो भयो, त्यसपछि, म स्वास्थ्य स्वयंसेविका बनें, अहिले गाउँमा म जस्ता धेरै महिला बोल्ने भएका छन्,’ उनले बताइन्।
वडा नागरिक मन्चको बैठकबारे छलफलपछि समुन्द्री देवी महतो र जगतारा राईन महतो
नहरा बर्छवा गाविस– ८ की आठमा संगीता ठाकुर र ६ मा त्रिपुरा झाले पनि वडा नागरिक मन्चको अध्यक्ष बन्ने अवसर पाए। त्यसपछि उनीहरूमा मात्र होईन गाउँमा नै परिवर्तन आएको छ। अहिले उनीहरू गाविसले बनाउने योजना, बजेट कार्यान्वयन र अनुगमन जस्ता कार्य शसक्त रुपमा गर्छन्। उनीहरूले त्यहाँ संस्थागत रुपमै महिला लक्षित बजेट महिलाको लागि मात्र खर्च गर्ने चलन चलाएका छन्।

महिलाको लागि छुट्याईको बजेट अन्य शिर्षकमा खर्च हुन नदिन उनीहरूले तालिम केन्द्रको स्थापना गरेका छन्, जसले महिला लक्षित कुनै न कुनै सीप विकासको तालिम गर्नैपर्ने भएको छ। सो केन्द्रका कारण गाविसका गरिब, विपन्न र सीप सिक्न चाहने एक सय २८ जना महिलाले विभिन्न सीप सिक्ने अवसर पाइसकेका छन्।

गाविसमा महिला नेतृत्वमा आउन थालेपछि स्थानीय महिलाको सहभागिता बढेको नहरा बर्छवा गाविसका सचिव गनेशी महराले बताए। उनको अनुभवमा विकासका हरेक कुरामा पुरुषले भन्दा बढी महिलाले चासो देखाएका छन्। उनी भन्छन्, ‘महिलाको सक्रियता त बढेकै छ। उनीहरूका कारण गाविसको काम समेत चुस्त भइरहेको छ।’

महिलालाई नेतृत्वमा ल्याउनुमा नराह बर्छवाका राजनीतिक दलहरूको पनि भूमिका छ। राजनीतिक दलहरू गरिब, दलित विपन्न, महिला, जेष्ठ नागरिक सबैको सहभागिता गराउने र नमुना गाउँ बनाउने सोचले अघि बढेका छन्। नेपाली काँग्रेसका स्थानीय सदस्य खुशीलाल यादव र एमालेका कृपाल यादवका अनुसार गाविसमा महिलाको सहभागिता र भूमिका राम्रो भएकोले दलहरूले महिलालाई नेतृत्वमा ल्याएका हुन्।_महिला खबर:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com