पहुँच नभएकोले अयोग्य भयौं : पुर्व लडाकु

खेमा बस्नेत,

कसैलाई सकस, कसैलाई सहज, समाजबाट अझै अपजस
पार्टीलाई चाहिएको समयमा हामी योग्य र सक्षम थियौं। तर पछि के कारणले अयोग्य भयौं अहिलेसम्म यसको जवाफ पाएका छैनौं।
सीता साेडारी, पूर्व लडाकु

सीता साेडारी, पूर्व लडाकु
कैलाली। कुनै वेला कैलालीको फूलवारी गाउँ विकास समिति ‘ई’ गाउँकी राधा अधिकारी (नाम परिर्वतन) ‘जनताको मुक्ति’ का लागि भन्दै बन्दुक बोकेर जंगल पसेकी थिइन्। राज्यबाट भइरहेको दमन, शोषणका साथै समाजमा रहेको अन्याय, अत्याचारविरुद्ध युद्धमा होमिएकी उनी घरपरिवारको दुर्व्यवहार र यातनाका अगाडी कमजोर बनेकी छिन्।

राधा २०६१ सालमा माओवादी लडाकु बनेकी थिइन्। यसअघि नै माओवादी लडाकु रहेकी उनकी दिदीको सरकारी सुरक्षा फौजसँगको भिडन्तमा मृत्यु भइसकेको थियो। दिदीको मृत्युपछि उनी पनि माओवादीमा प्रवेश गरेको बताइन्। ‘माओवादीमा जाने रहर त थिएन’ उनले भनिन्– तर, दिदी गुमाएपछि ममा पीडाका साथै जोस पलायो र लडाईमा होमिए।

दश वर्षसम्मको हिंसात्मक द्वन्द्वपछि मुलुकमा शान्ति प्रक्रिया शुरु भयो। युद्धरत माओवादी र तत्कालिन संसदवादी सात दलबीचको बाह्रबुँदे सहमतिपछि माओवादीले युद्ध त्यागेर शान्ति प्रक्रियामा सामेल भयो। यससँगै राधाले पनि आफ्नो जीवनको गोरेटो परिवर्तन गर्ने प्रयास गरिन्।

उनको २०६६ साल जेठमा कञ्चनपुरका एक युवकसँग विवाह भयो। विवाहको पाँच महिनासम्म सबै कुरा ठिकठाक थियो। तर, उनका श्रीमान विदेशिएपछि उनको जीवनमा अर्को नयाँ मोड आयो। विहेअघि आफ्नो विगतबारे जानकारी गराएकी राधालाई विहेको केही महिना मै लोग्नेको व्यवहारमा परिवर्तन आएपछि उनी छाँगाबाट खसे झैं भइन्।

सरकार र माओवादीबीच २०६३ साल मंसिर पाँच गते बृहत शान्ति सम्झौता भएपछि माओवादी लडाकु समायोजन प्रक्रिया पनि अघि बढ्यो। माओवादी लडाकुलाई क्यान्टोनमेन्टमा राखियो र हतियारहरू कन्टेनरमा। सेना समायोजन प्रक्रियामा लडाकुमध्ये धेरैले स्वेच्छिक अवकास रोजे। राधाले पनि अरु सहकर्मी ‘कमरेड’ झैं स्वेच्छिक अवकास नै रोजिन्।

सरकारबाट केेही लाख रुपैयाँसहित फर्केकी राधाका अगाडी सहज जीवनयापन पहिलो प्राथमिकता थियो। लामो समयदेखिको विच्छेद सामाजिक सम्बन्ध पुनः प्राप्त गर्नु थियो। समाजमा ससम्मान पुनर्स्थापना हुनु थियो।

यस क्रममा कञ्चनपुरको एक गाउँबाट विहेको प्रस्ताव आयो। ‘मैले कुरा छिन्नुअघि केटा पक्षसामु आफू पूर्व लडाकु भएको जानकारी गराएँ’ उनले भनिन्– केटा पक्षले कुनै आपत्ति नजनाएपछि हाम्रो विहे भयो।

विवाह भएपछि राधालाई लाग्यो– अब जीवन सहज हुन्छ। तर, उनका खुसियालीका दिन केही महिनामात्रै रहे। ‘विवाह भएको पाँच महिनापछि श्रीमान कतारमा काम गर्न गएपछि घरका अरु सदस्यले ममाथि दुर्व्यवहार गर्न थाले, कुटपिट, गाली गलौज हुन थाल्यो’ राधाले आफूलाई परिवारका अरु सदस्यले ‘यो माओवादी हो, योसँग बन्दुक छ’ भनेर दुर्व्यवहार र घरमा कुटपिट र गाली गर्ने गरेको बताइन्।

त्यतिवेला उनी पाँच महिनाकी गर्भवती थिइन्। सासुससुरा, नन्द आदिको सँधैको दुर्व्यवहार र कुटपिट सहन नसकी उनी माइत फर्किइन्। ‘के गर्नु लडाईंमा लडे जस्तो घर व्यवहारमा हुँदो रहेन छ’ आँशु झार्दै उनले भनिन्।

उनका श्रीमानले अर्को विहे गरेका छन्। राधा अहिले माइतमा एउटी छोरीको लालनपालन गरिरहेकी छिन्। ‘मेरा लागि अहिले न श्रीमान आफ्नो भए, न पार्टी नै’ राधा अब आफ्नै लागि लडाई गरिरहनु परेको बताउँछिन्।

सरकारबाट पाँच लाख रुपैयाँ लिएर फर्किएका पूर्व माओवादी लडाकुमध्ये अधिकांस अहिले सानोतिनो व्यावसाय गरेर बसेका छन्। समाजमा पुनर्स्थापनाको क्रममा छन्। केही ठाउँमा समाजमा घुलमिल पनि भएका छन्। कुनैकुनै ठाउँमा समाजले सहजतापूर्वक अपनाएको पनि छ। तर, केहीलाई भने अझैं समाजले सहज रुपमा स्वीकार गर्न सकेको देखिँदैन। खासगरी लडाकु महिलाप्रतिको समाज तथा परिवारको व्यवहार सहज देखिँदैन।

अझ, अयोग्य भनेर फर्काइएका पूर्व लडाकुको अवस्था झनै पीडादायक छ। ‘एकातिर अयोग्य भनेर खाली हात फर्किनु परेको पीडा, अर्कोतिर समाज र परिवारबाट खेप्नुपर्ने दुर्व्यवहार’ पूर्व माओवादी लडाकु महिलाहरू अहिले पनि कठोर संघर्ष गर्नु परिराखेको बताउँछन्। यस्तै एक अयोग्य लडाकु हुन्, कैलालीको हसुलिया, बिसनपुरकी कमला चौधरी। अहिले उनी आफ्नै पार्टीप्रति पनि आक्रोसित छन्। ‘पार्टीलाई चाहिएको समयमा म योग्य र सक्षम थिएँ। तरपछि के कारणले अयोग्य भएँ ? उनलाई अहिलेसम्म पार्टीका कुनै पनि कमरेडले जवाफ दिने चासो समेत देखाएका छैनन्। हाल कैलालीको मसुरियामा ब्युटिपार्लर सञ्चालन गरिरहेकी पूर्व लडाकु कमला भन्छिन्– मलाई अहिले ब्युटिसियन भन्दा पनि माओवादी लडाकु भनेरै चिन्छन्।
सुनिता विक पूर्व लडाकु
कमलाका श्रीमान पनि पूर्व लडाकु हुन्। माओवादी युद्धमा उनी थुप्रै आक्रमणमा सहभागी भएका थिए। उनले पनि स्वेच्छिक अवकास लिएका थिए। दुवै जना पूर्व लडाकु भएकाले उनीहरूको आपसमा समझदारी छ। तर समाजबाट भने उनीहरूले अझैं पनि मायास्नेह पाउन सकेका छैनन्।

कमला झैं कैलालीको चिसापानीमा बस्दै आएकी निरु पन्त पनि अयोग्य लडाकु हुन्। उनी २०६० सालमा माओवादीमा प्रवेश गरेकी थिइन्। सुर्खेत लाटीकोइली घर भएकी निरु हाल कैलालीको चिसापानीमा बस्दै आएकी छन्। देश र जनताको लागि भनेर बन्दुक उठाएका आफूजस्तै पूर्व लडाकुप्रति हेर्ने समाजको दृष्टिकोण अझैं पनि नकारात्मक रहेकोमा उनको अनुभव छ।

निरुले सिलाईकटाई तालिम लिएर अहिले सानो पसल सञ्चालन गरेको बताइन्। उनी पार्टीमा पहुँच नभएकै कारण अयोग्य हुनुपरेको ठान्छिन्। ‘मैले जीवनमा यस्तो (सिलाईकटाई) काम गर्नुपर्ला भन्ने सोचेकी पनि थिइनँ’ उनले भनिन्– युद्धमा होमिए पनि पार्टीमा पहुँच नभएका जति सवै पाखा लाग्नुपर्‍यो।

दैलेख पट्टी गाविसकी सीता सोडारी (वि.क) २०५७ मा माओवादी प्रवेश गरिन्। त्यतिवेला उनको उमेर १६ वर्षको थियो। रहरै रहरमा माओवादी बनेकी उनले पार्टीको उद्देश्य, युद्धको लक्ष्य आदि बुझ्ने चेष्टा पनि नगरेको बताइन्। सीताले माओवादीले गरेका थुप्रै आक्रमणमा लडिन्। केही आक्रमणमा उनी घाइते पनि भइन्। आक्रमणमा सहकर्मीको मृत्यु पनि उनले देखेकी छिन्। सीताले युद्धको लक्ष्य थाह पाउने वेलासम्म युद्ध विराम भयो। माओवादी युद्धको अन्त्य भयो र शान्ति प्रक्रिया शुरु भयो।

सेना समायोजनका क्रममा उनले पनि स्वेच्छिक अवकास रोजिन्। उनले पार्टीका कार्यकर्ता दिनेश सोडारीसँग अन्तरजातीय विवाह गरिन्। कमला र राधाभन्दा उनको समस्या फरक छ। अन्तरजातीय विवाहका कारण समाजमा सबैले स्वीकार गर्न नसकेको भन्दा पनि समाजले माओवादी लडाकु भनेर गर्ने दुत्कारबाट उनी निकै खिन्न छिन्।

स्वेच्छिक अवकास लिएकी उनले सरकारबाट पाँच लाख रुपैयाँ पाइन्। उनका श्रीमान भने रोजगारीका लागि विदेश गएका छन्। ‘यु्द्धका बेला दिनरात लड्ने कुरा मात्रै हुन्थे’ उनी भन्छिन्– पहिले देश र जनताका लागि भन्थ्यौं, अहिले आफ्नो परिवारको भविष्यबारे मात्रै सोच्न बाध्य छु। कैलालीमा कतिजना पूर्व लडाकु महिला छन् भन्ने पूर्ण तथ्यांक छैन।

स्थानीय शान्ति समिति कैलालीको अभिलेख अनुसार तालिम कार्यक्रमका वेला सम्पर्कमा आएका पूर्व महिला लडाकुको संख्या तीनसय पाँच छन्।कैलालीको सुख्खड वजारमा खुद्रा पसल सञ्चालन गरेकी पार्वती धामीको अनुभव भने अरु भन्दा फरक छ। उनले आफूमाथि समाजले कुनै विभेद वा दुर्व्यवहार नगरेको बताइन्। पार्वतीका श्रीमान् पनि पुर्व लडाकु हुन्।

‘हामीलाई समाजले तिरस्कार गरेको महसुस भएको छैन’ पार्वतीले वातावरण फरक भएकोले पनि होला, मलाई कुनै अप्ठेरो महसुस भएको छैन।  बैतडी स्थायी घर भएकी पार्वती २०५९ सालमा १३ वर्षको उमेरमै साथीहरूको लहैलहैमा माओवादीमा प्रवेश गरेकी थिइन्। २०६८ सालमा स्वेच्छिक अवकास लिएर उनी पाँच लाख रुपैयाँसहित कैलालीको सुख्खडमा बसोबास गर्न आइन्।

स्थायी घर फरकफरक ठाउँमा भए पनि पूर्व लडाकुहरू राज्यले दिएको पाँच लाख रुपैयाँले एकै घरबार बनाएर बसेका छन्। पूर्व लडाकु महिला सरस्वती शाहीका अनुसार उनीहरूले सल्लाह गरेर एकै ठाउँमा घरजग्गा किनेका चाहीँ होइनन्। ‘एकजनाले घरजग्ग्ाा किनेको देखेपछि अरुले पनि किन्यौं’ उनले भनिन्।

वलिया बस्दै आएकी पुर्व लडाकु सुनिता विक अब आफुहरू नयाँ जीवनको शुरुवातमा लागेको बताउँछिन्। पति रोजगारीका लागि विदेश गएको उनले बताइन्।

महिला अधिकारकर्मी चित्रा पनेरु पूर्व लडाकु महिलालाई समाजमा बस्न सक्ने उचित वातावरण अझै बन्न नसकेको बताउँछिन्।

‘समाजले उनीहरूलाई अझैं सहज रूपमा स्वीकार गर्न सकेको छैन’ पनेरुको विश्लेषणमा त्यसले गर्दा नै पूर्व लडाकुहरू प्रायः आफ्नो घर नफर्केर अन्यत्र समूहमा बसोबास गर्न थालेका छन्।

द्वन्द्व प्रभावित तथा पुर्व लडाकु महिलालाई सीपमुलक तालिम दिएको ट्रेनिङ सेन्टर नेपाल कैलालीका संयोजक बलराम न्यौपानेले समाजमा घुलमलि हुन पुरुष भन्दा महिला पूर्व लडाकुलाई बढी समस्या भएको बताए।
_महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com