हिंसाको जड नै दहेज : प्रहरीमा आउँदैन उजुरी

यमुना खनाल,
सिरहा मङ्सिर १७,

महिलामाथि हुने हिंसाको जरो दहेज हो, तर दहेजका कारण हिंसामा परें  भनेर अहिलेसम्म एउटा पनि उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छैन।
माइतीमा बस्दै अाएकी सीता सहनी
सिरहाको गोबिन्दपुर मलनमाकी सीता महतोको केटा पक्षको माग अनुसार थप १५ हजार रुपैयाँ तिलक दिन नसक्दा विवाह तोडियो। मागेकै दिन पैसा नपाएपछि हुन लागेको छेका छोडेर केटा पक्ष हिँडे। तिथिमिति तोकिएको विवाह तोडिएपछि त्यही केटाको नाताले दाजुभाई पर्ने सिरहाको सारस्वरको केटासंँग सीताको विवाह भयो।

तर उनले पनि भने जति पैसा नदिएको भन्दै सीतालाई विवाह गरेर लगेकै दिन देखि दुःख दिन थाले। श्रीमान् सासु ससुराले आफूलाई नोकरको जस्तो व्यवहार गरेको र कहिल्यै पेटभरी खाना खान नपाएको उनले बताईन् ।

खाना खाने बेला आफूलाई घाँस काट्न पठाउने र सबैले खाईसकेपछि पानी थपेर राखेको खाना खाएर बाँचेको सीता बताउँछिन्। सीतामाथिको यातना यतिमै रोकिएन। सासु ससुरा श्रीमान्ले तँलाई मारेपछि मात्र अर्को विवाह गर्न पाउँछु भन्दै पुन्य तताएर समेत डाम्न र कुटपीट गर्न थाले।

उनले भनिन् … बिहेको पहिलो दिनदेखि सुरु भएो हिंसा सहेरै १४ वर्ष श्रीमान्को घरमा बसें , मलाई श्रीमानले श्रीमती जस्तो कहिले गरेनन् , म नोकरकै दर्जामा बसें, एक दिन त राम्रो होला भन्थें, तर मलाई जब पुन्युले तताएर हान्न थाले अनि मैले घर छोडें।’

उनका बाल बच्चा छैनन्। भन्छिन् ‘१४ वर्षसम्म श्रीमानश्रीमतीबीच हुनुपर्ने सम्बन्ध नै भएन । ‘अहिले सीता श्रीमान्को घरमा बस्न नसक्ने निष्कर्षमा पुगेर अंश मुद्दा दिएकी छन्।

सीता महतो जस्तै श्रीमान्ले मागेको ५० हजार रुपैयाँ दिन नसक्दा सिरहाको पर्सा पोखरभिन्डा गाबिसकी सीता सहनीले पनि सौताको सामना गर्नुपर्‍यो। काठमाडाैंमा आर्टको काम गर्ने श्रीमानले व्यवसाय गर्न भन्दै ५० हजार रुपैयाँ थप दहेज मागे। सामान्य खेती किसानी गरेर खाने सीताका बुबाले भन्ने बित्तिकै पैसा दिन सकेनन्। उनले व्यवसाय थाल्दै गरे पैसा भएपछि दिने बाचा गरे।

तर, सीताका श्रीमानले ५० हजार तुरुन्त दिनैपर्ने नदिए आफ्नो बाटो लाग्न धम्की दिन थाले। बाबुले पैसा दिएनन् भन्दै रात दिन सीतालाई फेान गरेर गाली बेईज्जती गर्थे। घरमै बस्न नसक्ने अवस्था भएपछि सीताले बुबालाई श्रीमानले मागे अनुसारको रकम दिन अनुरोध गरिन् भन्ने बितिकै पैसा दिन उनका बुवाले सकेनन्।

‘जेठी छोरी पाँच वर्षकी, पेटमा ६ महिनाको गर्भ थियो, त्यही बेला श्रीमानले सौता हाल्यो, गर्भको बच्चा अहिले दुई वर्षको भयो’ उनी भन्छिन्।

श्रीमानले दोस्रो विवाह गरेपछि सीतालाई मानसिक तथा शारीरिक यातना झन् बढ्यो। गर्भवती सीताले रातदिन कुटाई खाईन्। ‘कति पटक दाँतै भाचिँदिए, कति पटक पेटमा बच्चा छ , श्रीमानले लात्ती हाने , सहेर बसें’ सीताले भनिन्

अहिले उनका श्रीमान् वैदेसिक रोजगारीका लागि गएकाले शारीरीक यातना छैन। तर श्रीमान् फर्किने समय भएकाले फेरी त्यस्तै यातना हुने डरले झस्काई रहने सीताले बताईन् । अहिले उनी माईतीमै बस्दै आएकी छन्।

दाईजोका कारण तराईका घरै पिच्छे समस्या छ। हरेक महिलामाथि हुने हिंसाको जरो दहेज हो भन्ने सबैले बुझेका पनि छन्। तर दहेजका कारण हिंसामा परे भनेर अहिलेसम्म प्रहरी एउटा पनि उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक भुपेन्द्र गिरी बताउँछन्।

कानुन फितलो भएका कारण दहेज नियन्त्रण हुन नसकेको अधिकारकर्र्मी देब कुमारी महरा बताउँछिन्। सामाजिक व्यवहार सुधार ऐन २०३३ मा दाईजो माग गर्नेलाई १० हजार रुपैयाँ जरिवाना र ३० दिनको जेल सजायको मात्र व्यवस्था छ। कानुनमा दाईजो लिनेलाई कडा सजायको व्यवस्था नहुन्जेल दहेजविरुद्ध जति आम संचार माध्यममा आए पनि संघसंस्थाले अभियान चलाएपनि यसको प्रभाव नदेखिने महरा बताउँछिन्। दहेज न्युनिकरणको लागि राज्य नै लाग्नु पर्नेमा उनको जोड छ।_महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com