कविता, उनीजस्तै उनीहरु...


कविता,  उनीजस्तै उनीहरु...

बाँड्न सक्ने छैेनन्
उनले कहिल्यै अब
सुन्दर सपनाहरु
आफ्ना बाबा आमासँग

गाँस्न सक्ने छैनन्
उनले कहिल्यै अब
सुन्दर मालाहरु
आफ्ना दिदी बहिनीहरुसँग

बुन्न सक्ने छैनन्
उनले कहिल्यै अब
सुन्दर भविश्य
आफ्ना साथीसँगीहरुसँग

तिखारेर दा¥हाहरु
निर्वाधरुपमा
जबजब
डुलिरहन्छन् राम सिँहहरु
घुमिरहन्छन् राम सिँहहरु
तबतब
उनकोजस्तै नियती भोग्न
अभिशप्त हुन्छन्
हरेक युगका
उनीजस्तै चेलीहरु

एक्काइसौँ शताब्दी
टेकिसक्दा पनि
मरेका छैनन् अझै
दुर्योधन र दुःशासानहरु
मेटिएका छैनन् अझै
मानब सभ्यताका कलंकहरु
फेरिएका छैनन् अझै
खियालागेका पुरातन सोचहरु

न घर, न होटल
न बस, न मोटर
न स्कुल, न अफिस
न रेल, न प्लेन
न गाउँ, न शहर

कहीँ पनि त सुरक्षित छैनन् उनीहरु
कहीँ पनि त आरक्षित छैनन् उनीहरु

युगौँ देखि लडि नै रहन बाध्यछन्
आफ्ना अस्मिताका लागि
आफ्ना अस्तित्वका लागि
आफ्ना जिन्दगीका लागि

अफसोस
जति नै लडे तापनि
जति नै भिडे तापनि
हार्नु बाहेक अर्को विकल्प रहेन
मर्नु बाहेक अर्को विकल्प छाडेन

अरुजस्तै उनी पनि
बहादुरीका साथ लड्दा लड्दै
बहादुरीका साथ भिड्दा भिड्दै
आखिर हारेरै गइन्
आखिर मरेरै गइन्

कुनै नाम नदिएकी
सर्बनाम युवती उनी
मेरो कोही होइनन्
र, पनि मेरैजस्तो लाग्यो
आफ्नो कोही पर्दैनन्
र, पनि आफ्नैजस्तै लाग्यो

उनका लागि बुनेका कहानीहरु पनि
अदालतका कठ्घरामा उभिएर मात्रै
ढलेर जालान्
उनका लागि बालेका मैन बत्तिहरु पनि
आफ्नो समय पछि
निभेर जालान्
उनका लागि छापेका खबरहरु पनि
खबरहरुको भिडमा
हराएर जालान्

जाँदाजाँदै उनले
हाम्रो मनमस्तिष्कभित्र बालेर गएको
चेतनाको ज्योतिलाई भने
कदापि निभ्न दिनुहुन्न अब !

मर्दामर्दै हाम्रो छातीमा गाडेर गएको
स्वःअस्तित्वको झण्डालाई भने
कदापि झुक्न दिनुहुन्न अब !!

उषा शेरचन
काठमाण्डौ 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com