गज़ल' By, कोमल भट्ट
तड्पेर बाँचेका,टन्न छन् धर्तीमा
संकष्ट काटेका,टन्न छन् धर्तीमा
भोका र प्यासा छन्,वेदना चर्को छ
दुर्भाग्य भोगेका,टन्न छन् धर्तीमा
पीडा छ छातीमा,नौमुरी थुप्रेको
आनन्द बिर्सेका,टन्न छन् धर्तीमा
भत्किन्छ रोजिन्दा,शान्तिको आधार
संहार चाहेका,टन्न छन् धर्तीमा
लोभी र पापीले बिर्सिए ईमान
सत्कर्म छोडेका,टन्न छन् धर्तीमा
सङ्कीर्ण मौलायो,सोचमा मान्छेको
सम्बन्ध ढालेका,टन्न छन् धर्तीमा
पुग्दैन साथी हो,चाहना साराको
सर्वत्र हारेका,टन्न छन् धर्तीमा
(बहरे हजज मुसम्मन अखरब अखरम अस्तर)
विश्राम-६ मा
-कोमल भट्ट
चन्द्रागिरी न.पा -२१
काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका