दाइजो र महिलाको खस्किँदो स्तर

सुषमा तिवारी (द्विवेदी),

नेपाली महिला अझै पनि अशिक्षा, रोग, गरिबी, रुढीवादी संस्कृति आदिका कारणले समाजका हरेक क्षेत्रमा शोषित, पीडित, उपेक्षित छन्, असुरक्षित जीवनयापन गर्न विवश छन् । जन्मघर होस् वा कर्मघर दुवै ठाउँमा उनीहरूले यस्तो अवस्था भोग्नुपरेको छ । नेपालमा खासगरी मधेसी समुदायमा दहेजको चलन छ जसलाई नेपालीमा दाइजो, पेवा, उपहार आदि भनिन्छ । बाबुआमा वा माइतीपट्टिका नातेदारले चेलीबेटीलाई यसरी दाइजो वा पेवा दिनुको मुख्य उद्देश्य छोरीलाई उसको नयाँ घरमा, नयाँ जीवन थाल्न सहयोग गर्नु हो । बाबुआमाको सम्पत्तिमा छोरीको पनि हक लाग्छ भन्ने कुरालाई स्वीकार गर्नु हो ।
फोटो गुगल

जसरी कुनै वस्तुको जति धेरै गुण हुन्छ, त्यो वस्तु त्यति नै बढी महङ्गो हुन्छ, त्यसैगरी छोरी जति बढी पढेका हुन्छन् त्यति नै बढी दाइजो दिनुपर्ने संस्कार बसेको छ । आप्mनो परम्पराअनुसार छोरीको बिहे गर्दा अभिभावकले क्षमताअनुसारको दाइजो दिएका हुन्छन् । तर, बिहेपछि दाइजोका नाममा पैसा, गहना आदि माग्ने प्रचलन बढ्दो छ । झुटो सान र इज्जत देखाउन ऋण लिएर वा घरजग्गा बेचेर भए पनि दाइजो दिन बाध्य भएका छन् अभिभावक । यसरी पवित्र उद्देश्य भएको दाइजो प्रथा अहिले महिलाको हितमा बाधक बनेको छ ।

यसको प्रत्यक्ष असर चेलीबेटीको शिक्षामा पनि परेको छ । छोरीलाई जति पढाए पनि पछि दाइजो दिनु परिहाल्छ भनेर धेरैजसो बाबुआमाले आफ्ना छोरीलाई राम्रो शिक्षा दिँदैनन् । अर्काको घरमा जाने त हो नि भनेर छोरीलाई शिक्षामा कम अवसर दिइन्छ, छोराको शिक्षामा गरिएको लगानीका तुलनामा छोरीको शिक्षामा कम लगानी गरिन्छ । छोरीलाई धेरै पढाउँदा राम्रो वर खोज्नुपर्ने र राम्रो वर पाउनका लागि धेरै दाइजो दिनुपर्छ । यसले गर्दा मधेसी समुदायका प्रायः अभिभावक राम्रो पेसामा भए पनि र शिक्षित हुँदाहुँदै पनि आफ्ना छोरीलाई भेदभाव गर्छन् । छोरीलाई बिहे गरेर घर पठाउँदा कोसेली, दाइजो बढी दिनुपर्ने हुनाले हाम्रो समाजमा छोरीलाई बोझ मान्ने गरिन्छ । छोराले दाइजो भित्र्याउँछ भनेर सानैदेखि छोरीलाई कम महत्व दिइन्छ । परिणामस्वरूप मधेसी समाजमा महिलाको बिहे सानै उमेरमा गरिदिन्छन् । सानो उमेरमा बिहे हुँदा महिला विभिन्न अवसरबाट वञ्चित हुन्छन् । त्यसैले उनीहरूलाई घरमा भात पकाउने, भाँडा माझ्ने, लुगा धुने, दाउरा काट्ने, बच्चा हेर्ने, खेतीको काम गर्ने जिम्मा लगाइन्छ जुन कामलाई काम मानिँदैन । आप्mनै घरका लागि यी काम गर्दा उनीहरूले नकमाएकोजस्तो देखिन्छ । यसरी आर्थिक रूपले अरूमाथि निर्भर हुँदा घर–व्यवहारका कुरामा उनीहरूले निर्णय गर्न पाउँदैनन् । उनीहरूले जहिले पनि श्रीमान्को भरोसामा जीवन बिताउनुपर्छ ।

विभिन्न समयमा प्रकाशित समाचारले के देखाएका छन् भने हाम्रो समाजमा दाइजोका निहुँमा महिलालाई जलाउने, पिट्ने, घरबाट निकाल्ने क्रम बढेको देखाएका छन्, दाइजो प्रथाले महिलाको सामाजिक स्तर झन्झन् खस्काएको प्रस्ट पारेका छन् ।

दाइजो दिनुपर्ने चलनले गर्दा अहिले माइतीमा छोरीलाई पैतृक सम्पत्तिको अंशियारजस्तो ठानी आरिस गर्न थालिएको छ । जुन भाइले आप्mना दिदीबहिनीलाई आदर र माया गर्थे अहिले तिनैले अंशियार ठान्न थालेका छन् । माइतीले बिहे गरेपछि छोरीप्रतिको जिम्मेवारी सकिएको ठान्ने हुनाले घरमा जतिसुकै गरिबी, दुःख, समस्या भए पनि माइतीमा भन्दैनन् । भनिहालेमा पनि सहनुपर्छ भनी सल्लाह दिइन्छ । यसले गर्दा बुहारीहरूले जति यातना खप्नुपरे पनि त्यसविरुद्ध बोल्ने हिम्मत गर्दैनन् । यसले उनीहरूको शारीरिक तथा मानसिक अवस्थामा नराम्रो प्रभाव पर्छ । यस्ता महिला न त आप्mनो स्वास्थ्यको चासो राख्छन् न त आफ्ना बच्चाको नै ।

हुनत हाम्रो समाजमा यस्ता अभिभावक पनि छन् जसले आफ्नै छोरीको बिहे गर्दा केटा पक्षले केही नमागे पनि केही न केही दाइजो दिन्छन् । यसले आफ्नै छोरीलाई अझ बढी सङ्कटमा पार्छ । हाम्रो समाजमा दुईथरी मानिस छन् । एकथरी छोरीलाई फिटिक्कै दाइजो दिनुहुँदैन भन्छन् भने अर्कोथरी दाइजो लिनुपर्छ भनी वकालत गर्छन् । दाइजोका राम्रा र नराम्रा दुवै पक्ष छन् । आमाबाबुले आफ्नो शक्ति र क्षमताअनुसार आफ्नी प्यारी छोरीलाई सम्पत्ति दिनु राम्रो पक्ष हो, तर केटा पक्षले माग्नु वा बिहेका लागि अनिवार्य सर्त राख्नु दाइजो प्रथाको एकदमै गलत र लज्जास्पद स्वरूप हो । यसरी दाइजो लिनेले दुलहीको आत्मसम्मानको रक्षा कसरी गर्छ र ? यस्तै किसिमको दाइजो लिने समाजमा हाम्रा छोरीबेटी विभिन्न खालका हिंसाबाट पीडित भएका छन् ।

मधेस आन्दोलनपछि केही परिवर्तन आए पनि मधेसी महिलाले शिक्षादीक्षा, स्याहार–सुसारमा असमान व्यवहार, दाइजो प्रथा, भ्रुणहत्याजस्ता कठिनाइ झेल्नुपरेको छ ।

सीतामाता र गौतमबुद्धका चेलीबेटी हामी महिला चाहे जुनसुकै जातजाति र प्रदेशको भए पनि महिला सशक्तीकरणको माध्यमबाट राजनीतिक क्षेत्रमा आउनु एकदमै जरुरी रहेको छ । मधेसी महिलामाथि अन्याय–अत्याचार हुँदा मधेसी महिला मात्र होइन, जुनसुकै जाति, वर्ग, समुदाय, पेसा, राजनीतिक आस्थाका महिलाले आवाज उठाउनु जरुरी छ । महिलाको उत्थान गर्न र समाजमा आदर, सम्मान र हक प्राप्त गर्न सङ्घर्ष गर्नु अत्यन्तै जरुरी छ । विवेकशील पुरुषको सहयोग लिएर दाइजो प्रथाका विरुद्धमा आवाज उठाउन सक्यो भने यो कुप्रथा हाम्रो समाजबाट पक्कै पनि हट्छ । भारतको नयाँदिल्लीमा भएको बलात्कारको घटनाले पूरै भारतमा महिला हिंसाविरुद्ध चर्को आन्दोलन तथा कार्यक्रम भयो, अहिले पनि हुँदै छन् । त्यसको असर नेपालमा पनि नपरेको होइन । यहीबेला पारेर हामीले पनि समाजमा रहेका कुरीतिलाई जरैदेखि नै उखेल्न प्रयास गर्नुपर्छ ।

(सुषमा तिवारी (द्विवेदी) ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्जकी उपप्राध्यापक हुन् ।)_महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com