नफेरिएको सोच

कुरा जब महिला पुरुषको आउँछ त्यसमा पनि विशेष गरि हाम्रो समाजको आउँछ कहिलेकाहीं अत्यास लाग्छ, निस्सासिन्छ यी स्वास पनि । यस समाज संरचनाको निर्माणका क्रममा सदियौं देखि  पुरुष प्रधानताको प्रभुत्व रहँदै आएकोले स्त्री अस्तिवको आकाश अझ खुम्चिदै गएको छ ।

कुनै एक समय स्त्रीको साशन चल्थ्यो समाजमा, स्त्री घरमा खाना पकाउने बालबच्चा राम्रोसँग हुर्काउने जस्ता सिमित जिम्मेवारीमा बाँधिदै गईन जसले गर्दा उनि साशक होइन बल्कि साशित हुन थालिन , जुन कहीं न कहिँ कतै न कतै कुनै न कुनै रुपमा समाजमा छछल्किएर् पोखिने गर्छ । र, कुनै समय यस्तो आयो स्त्रीलाइ दासको रुपमा हेरिन्थ्यो र दोस्रो दर्जाको रुपमा । स्त्री पुरुषको आबस्यकता पूर्तिको साधन मात्र हो त्यो बाहेक अरु केहि होइन । स्त्री पैताला मुनिका धुलो हुन् । उखानै छ खुट्टा भए जुत्ता कत्ति कत्ति... । पुरुषको पुरुषार्थ दुइ/तीन वटा स्वास्नी बिहे गर्नुमा थ्यो एक समय । स्त्री लाइ एउटा खेलौनाको रुपमा हेरियो , सजाइयो र प्रयोग गरियो । यसको बिरुद्ध पनि समयले दस्तक दियो र बिस्तारै महिलालाई  हेर्ने हेयामा केहि परिबर्तन आयो र यतिखेरको कुरा गर्ने हो भने हामीले हाम्रा जिजुहरु आमा, हजुर आमा, आमा, भाउजु  हुँदै समयको रंग यहाँसम्म आइपुग्दा धेरै फेरिएको छ तर हाम्रो पुरुष प्रधान समाजमा प्रभुत्व भने पुरुषकै छ, हैकम उनीहरुकै चल्छ अझै पनि । हो समयले आफ्नो अनुहार फेरिसक्यो तर हाम्रो कम्जोर सोचका निकोटिनयुक्त टाटा अझै बाँकी छन् । त्यो राग घरि घरि आफ्नो औकात देखाइरहन्छ ।
photo credit-google

जसले नारी पुरुषको असमानता भोगेको छैन उसलाई यो लेख वाहियात लाग्न सक्छ  तर यो तितो यथार्थ अझै हाम्रो समाजमा छ । हामी ओरिपरी छ । पहिले पहिले महिलाहरु मानसिक र शारीरिक रुपमा प्रताडित थिए अहिले मानसिक रुपमा ज्यादा पीडित छन् । त्यो यसमानेमा, पहिले महिलाहरुको आफ्नो कमाइ थिएन । उनीहरु लोग्नेमा पूर्ण निर्भर थिए । त्यतिखेर पतिलाई पति मात्र होइन  ईश्वर सँग तुलना गरिन्थ्यो, यसैले भन्ने गरिन्थ्यो पति परमेश्वर । उनै हुन स्वर्बस्वा/ईश्वर र पुजिन्थ्यो अझैं पुझिन्छ ब्राह्मण क्षेत्रीमा अझै पनि पतिको गोडाको पानी खाने चलन छ ।
अरे यार,
संस्कार मान्छेले बनाएको हो
मान्छेलाई संस्कारले बनाएको होइन,

पहिलेको तुलनामा अहिले महिलाहरु धेरै शिक्षित छन् र चुला चौकामा मात्रै सिमित छैनन् । आफ्नो योग्यता अनुसार सामान्य देखि उच्च ओहदा सम्म पुगेका छन् । तर त्यो देखेजति सरल, सहज भने छैन, घर परिवार र जागिरको समय समायोजन गर्न ।

एउटा उदाहरण लिउ : श्रीमान श्रीमती दुवै जागिरे छन् , कमाइ उत्तिकै छ । कार्यालय जान एकै समयमा घर बाट निस्कन्छन् र फर्कन्छन ।  घर बाट कार्यालय जान अघि र घर फर्केपछि घरका सारा काम/काज महिलाले नै गर्छिन । श्रीमान् आफुले लगाएको कपडा धरी ठेगानमा राख्दैन । श्रीमानको लागि टेबलमा खाजा श्रीमतीले नै राख्छिन् । कपडा सफा र आइरन श्रीमती गर्छिन् । थाकेको त उनि पनि छिन । कार्यालय त उनि पनि  जान्छिन । कार्यालयमा थपक्क बस्न त पक्कै पाइनन् होला !। तर घरमा आएपछि श्रीमान मात्र थाक्छ र आराम गर्छ । यस्ता साना तिना लाग्ने कुराहरु श्रीमान श्रीमती दुवै मिलेर गर्ने हो भने काम कार्य सम्पन्न गर्न कति सहज हुन्छ र जीवन कति शुखामय, हाँसी खुशी चल्छ, यसो नहुँदा कुनै न कुनै दिन कुनै न कुनै रुपमा बाहिर निस्कन्छ/पोखिन्छ र त्यहाँ बुडाबुडी बीच कलह बढ्छ । जिन्दगी नमिठो बन्दै जान्छ, न्यानो साथमा चिसो पन बढ्दै जान्छ र सम्बन्धमा दरार बढ्न थाल्छ ।

सदियौं देखि हर पीडा आफैं मात्र पिउंदै आएकी स्त्री बोल्न थाले पछी पुरुषलाई सैय्या हुँदैन । अचेल हाम्रो समाजमा श्रीमान श्रीमती बीच छोडपत्र (डिभोर्स) हुने थुप्रै कारण मध्ये यो पनि एउटा हो ।

यहीं जोड्न मन लागेको अर्को प्रसङ्ग  डिभोर्स हुने बिभिध कारण मध्ये छोरा जन्माउन नसक्नु । विज्ञानले प्रमाणित  गरिसकेको छ छोरा नजन्मनुमा महिलाको कुनै हात हुँदैन बरु पुरुषकै कमजोरीका कारण नहुने हो तर सारा दोष स्वस्निमा थोपरेर अर्को बिहे गर्न तम्सिन्छन पुरुष । समाजमा सब्बै पुरुष यहि वर्गमा पर्छन भन्नु खोजेको भने होइन तर यस क्याटागोरीमा नपर्ने अत्यन्त न्यून छन् । हाम्रै समाजमा छोरा नजन्माएर उदाहरण देखाउनेहरु पनि छन् तर उनीहरुलाई यहि समाजले धारे हात लाउँदै अब यिनीहरु अपुताली भए भन्ने पनि छन् ।

हो, बदलिँदो समय सँगै हरेक क्षेत्रमा यतिखेर महिलाहरुको पहुच छ  र पुरुषसरह काँधमा काँध मिलाई अघि बढिरहेछन् तर अझैं  महिलालाई पुरुष जति सहज छैन हरेक चुनौतीको फड्को मार्न । कदम कदममा सचेत/सावधानी अपनाउनु पर्छ । घरको सङ्घार काट्दा ।
आधा आकाश ढाकेका महिलालाई
आधा आकाश त के आधा इन्ज दिन तयार छैनन् पुरुष _ पारिजातको यो भनाइ बडो सान्दर्भिक लाग्छ ।

आज भन्दा ३५/४० बर्ष अघिसम्म छोरीलाई पढाउने चलन अत्यन्तै कम थियो । छोरालाई मात्र बिद्यालय पथाइन्थे । छोरी भनेको हुर्के/बढे पछी अर्काको घर जाने जात हो उसमा किन सम्पति खर्च गर्ने भन्ने नै ठानिन्थ्यो । मरेपछि पिण्ड पानी दिने छोरा नै हो त्यसैले उसलाई राम्रो पढाइ र सम्पूर्ण पैत्रिक सम्पत्तिको स्वामी जन्मजात हुन्थे र छ पनि । तर छोरीलाई बिहे खर्च बाहेक (इमान्दारीपूर्वक भन्नुपर्दा) जात अनुसार आफ्नो गक्षले भ्याएको दाइजो बाहेक केहि दिइदैन । परिवर्तनले चेतना जगाउंदै छोराछोरी बराबरी भन्ने नारा अब आयो यो साच्चै बलियो घन साबित भो । पुराना सोचका इट्टाहरु खस्दै गए र नयाँ सोचका गारो बन्दै गयो ।

समग्र समाजको कुरा गर्ने हो भने पहिलेको तुलनामा धेरै फड्को मारेको अबस्थालाई स्वीकार्नै पर्छ तर यतिखेर पनि महिलाहरु हिंसा बाट अछुतो भने छैनन् । समय परिवर्तनले ल्याएको समानताले कुसंस्कार, कुरीति, संचुकित सोच आदिलाई निमिट्यान्न पारेको भने छैन, पुरानो सोचको यो धरोहर भत्किन अझै निकै समय लाग्ने छ ।

बिकसित (पश्चिमी) देशमा पनि छ महिला हिंसा तर त्यो अपवादलाई छोडेर त्यहाँको फराकिलो सोच, सामाजिक संचना, समान अवसर प्रतिष्पर्धात्मक, सम्मानपूर्वक छ । महिला हिंसा असमान व्यवहार स्वच्छ प्रतिष्पर्धा, समान अधिकार नभएको अन्य मुलुकलाइ छोडेर हाम्रै देश र समाजको कुरा गरौँ । छोराको जन्मजात स्वतन्त्र हुन्छ र छोरी उनको कलिलो चेतनाको मुना राम्रोसँग  मुस्काउँन नपाउँदै हामी उनी छोरी भएर जन्मिनुको सिमित सीमा रेखाका दायरा सम्झाउन बुझाउन थाल्छौ । र लगाउछौ बन्देजका तगाराहरु । दिलखोलेर हाँस्ने, हिड्ने, नाँच्ने, बोल्ने , रमाउने स्वतन्त्रता वस यहाँ पुरुषलाई मात्रै छ, कथम्कदाचित महिला खुलेआम यसरी हिडे/हाँसे उनि वेश्याको संज्ञा पाउछिन कस्तो अचम्म पुरुषले पाउंदैन ।

हाम्रो समाजमा : घर बाट निस्कँदा पुरुषलाइ यो सोधिदैन, कहाँ हिडेको ? कतिखेर फर्किने ? उसको ठाउँमा महिला बाहिर गए, पुर्व जानकारी हुनुपर्छ परिवारलाई । नभए पुजुर्कलाई त हुनै पर्छ । के कारण ले जान लागेको ? कहाँ जना लागेको ? किन जान लागेको ? कति समयमा फर्किने हो ? यस्ता अनेक प्रश्नको घेरामा बाँधिएर घरबाट निस्कन्छे एउटी महिला/नारी , छोरी मनभरी डर, त्रास, कम्जोर मनोबल लिएर । ससंकित कदम चाल्दै । यी यावत कुराहरुले मनोबल यति कम्जोर बनाउँछ कुनै परिक्षा वा जागिरको लागि अन्तर्वार्ता दिन गएकी छोरीको असफलता उसको घर बाटै सुरु हुन्छ ।

साक्षरताको आँकडा हेर्ने हो भने अझै पनि महिलाहरु धेरै पछी छन् पुरुषको जाँजोमा । महिलाहरु पछी पर्नुको अर्को कारण यो पनि हो । शहरमा सिमित चेतनाले समस्त कुनाकन्दरा उज्यालो हुँदैन । त्यस्ता दुर्गममा पनि स्तरीय शिक्षाको ज्योति फ़ैलिओस् ।

हाम्रो समाज, हामीले निर्माण गरेको संस्कार र त्यसले पार्ने प्रभाव एकछत्र छायाँ अझै छ समाजमा, जहाँ पुरुषको अभिमान/पुरुषार्थ जीवित छ । हो, पहिलेको तुलनामा धेरै नै परिवर्तन आएको छ तर हाम्रा सोचहरु समय संगै परिवर्तन भएका छैनन् । नेपालीमा एउटा उखानै छ घोडा र स्त्री लाइ लगाम लगाई रहनु पर्छ । यस्तो संकुचित सोचले निर्मित सामाजिक संस्कार र त्यस संस्कारको तावामा स्त्रीलाई ओल्टाई पल्टाई गरि डामदै आफ्नो काबुमा सदा राखिरहन चाहन्छन पुरुष ।

पुरुष भन्दा कुनै कुरामा कम छैनन् महिला । उनीहरुलाई हरेक कुरामा समान अवसर दिइनुपर्छ । चिच्याई चिच्याई गरिएको त्यो ठुलाठुला समानताका भाषण व्यबहारमा लागु हुनपर्छ । समान अधिकारका  दस्तावेजहरु कुनै दराजमा धुलाम्य भै नसजिओस् ।

सुनिता राई ' कन्दङ्वा '

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com